गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीनवटा होमस्टे छनोट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गोरखाका तीनसहित ३० वटा होमस्टेलाई ‘होमस्टे परियोजना’का लागि छनोट गरेको हो ।
प्रदेशभित्रका ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको छ ।
गोरखाबाट छनोट भएकाहरूमा धार्चे गाउँपालिका वडा नम्बर– ४ लाप्राकमा रहेको कल्चरल होमस्टे, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर– ४ मा रहेको बराह सामुदायिक होमस्टे र पालुङ्टार नगरपालिकाको लिगलिगकोट होमस्टे रहेका छन् ।
लाप्राक होमस्टेको अधुरो भवन र शौचालय निर्माण गर्न बाँकी रहेको र अन्य दुईवटा होमस्टेको सामुदायिक भवन निर्माण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । छनोटमा परेका तीनवटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले ३० लाख नगद अनुदान उपलब्ध गराउनसमेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
छनोटमा परेका र स्वीकृत भएका होमस्टेहरूलाई जानकारी गराई होमस्टेहरूसँग स्वीकृत परियोजना र बजेटको परिधिभित्र रही सम्झौता गरी कार्यक्रम कार्यान्वयन गर्न र निरन्तर अनुगमन तथा मूल्यांकन गर्नसमेत प्रदेश सरकारले मन्त्रालयलाई भनेको छ ।