
कोभिडको स्वास्थ्य मापदण्ड अनुशरण नगरी परीक्षा लिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा केन्द्रमा तनाव सिर्जना भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षामा कोभिड संक्रिमतलाई समेत सँगै राखेर परीक्षा सञ्चालन गरेको भन्दै बिएएलएलसी चौथो वर्षका विद्यार्थीले चर्को विरोध गरेपछि बुधबार बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा झडप नै भएको छ । परीक्षा व्यवस्थित बनाउन आग्रह गरेका विद्यार्थीमाथि नै आक्रमण भएको छ ।
कानुन संकायको पढाइ हुने पूर्वाञ्चल विश्वविद्यालयका सम्बन्धनप्राप्त क्याम्पसहरू चक्रवर्ती कलेज र काठमाडौं स्कुल अफ लका विद्यार्थीको कान्तिपुर इन्टरनेसनल कलेज र हिमालय कलेजमा परीक्षा केन्द्र परेको छ । यी दुई कलेजका विद्यार्थीहरूले परीक्षा सुरु हुनुअघि बुधबार बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा भेला भएर परीक्षा व्यवस्थित हुनुपर्ने र कोभिड संक्रमितलाई छुट्टै राखेर परीक्षाको व्यवस्था गर्न दबाब दिएका थिए । कलेज प्रशासनले स्वास्थ्य मापदण्ड पूरा गर्नुभन्दा प्रहरीलाई बोलाएर विद्यार्थीमाथि आक्रमण गर्न लगाएको गुनासो छ ।
पूर्वाञ्चलल विश्वविद्यालयको बिएएलएलबीको चौथो वर्षको परीक्षा दिइरहेकी प्रियंका थपलियाले कोभिडको संक्रमण भएका वेला पुतलीसडकस्थित हिमालय कलेज र कान्तिपुर इन्टरनेसनल कलेजमा कुनै मापदण्ड अनुशरण नगरेको बताइन् । पूर्वाञ्चल विश्वविद्यालयका सम्बन्धनप्राप्त दुईवटा कलेजका विद्यार्थी भेला भएर परीक्षा व्यवस्थित गराउन दबाब दिन लागेका वेला प्रहरीले आक्रमण गरेको उनले बताइन् । उनका अनुसार एकजना विद्यार्थीको टाउकोमा चोट लागेको छ । ११ जनालाई प्रहरीले भ्यानमा राखेर लगेको उनले बताइन् ।
विद्यार्थीको विरोध र प्रहरीको हस्तक्षेपपछि बुधबार राष्ट्रिय मानवअधिकार आयोगको टोली अनुगमन गर्न कान्तिपुर इन्टरनेसनल कलेज पुगेको थियो । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले अनुगमन टोलीले परीक्षा व्यवस्थित नभएको पाएको बताए । शिक्षाको अधिकारीलाई सुनिश्चित गर्दा स्वास्थ्यको अधिकारलाई ध्यान दिनुपर्ने देखिएको पोखरेलले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले विश्वविद्यालयले सञ्चालन गरेका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भएको जानकारी आएको बताएका छन् । बिएएलएलबीबाहेक अरू कार्यक्रमको पनि परीक्षा सञ्चालन भइरहको, तर दुईवटा कलेजका विद्यार्थीले अनलाइन वा होम सेन्टरमा परीक्षा हुनुपर्ने माग राखेको उनले बताए ।