
बाजुराकाे बडीमालिका नगरपालिका–७ मकार्ने गाउँकी २६ वर्षीया शर्मिला गुरुङको अधिकांश समय भेडाबाख्रासँगै बित्ने गर्दछ। कक्षा १० पढ्दापढ्दै वैवाहिक बन्धनमा बाँधिएकी उनको दिनचर्या ६ महिना वनजंगल र ६ महिना घरको काम गरेर बित्छ।
शर्मिला अहिले दुई सन्तानकी आमासमेत हुन्। उनका श्रीमान् प्रेम गुरुङ भेडापालक कृषक हुन्। श्रीमानलाई सघाउन एक वर्षीया छोरी काँखी च्यापेर जंगलमा बसेको बताइन्।
पढ्नेलेख्ने उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनी भेडाबाख्रासँग जंगलमै दैनिकी बिताउँदै आएकी छिन्। नयाँ पत्रिकासँग भनिन्, ‘घर छोडेको ६ महिना भयो। चार वर्षीय छोराे गाउँमै छ। हामी तीनजना यता छौँ।’
तीन महिना हुम्लाको रानीखर्क जडीबुटी संकलन गर्न व्यस्त थिए शर्मिला दम्पति। तर, छोरी बिरामी भएपछि जडीबुटी संकलन गर्न छोडेको बताए। जडीबुटी संकलन गर्न जाँदा छोरी बिरामी भएपछि तीन दिन हिँडेर हुम्लाकाे सदरमुकाम सिमकोट आइपुगेको दुखेसो पोखिन् शर्मिलाले। ‘गाउँमा धेरै बसे ६ महिना बस्छौँ। भेडाबाख्रा पालन काम भएपछि कहिले अछामको जंगल, कहिले हुम्ला रानीखर्कको जंगलमै बास हुन्छ,’ उनले आफ्नो कहानी सुनाइन्।