१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ५ बुधबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

९९ नेपाली कामदार रोजगारीका लागि आज इजरायल जाँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ५ बुधबार १०:००:००

रोजगारीका लागि बुधबार इजरायल उड्ने तयारीमा रहेका एक सय २५ कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि उनीहरूको उडान रद्द भएको छ । बाँकी ९९ जना बुधबार नै उड्ने विभागका निर्देशक एवं इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए । 

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म नौ सय ९४ कामदारसँग सम्झौता भइसकेको छ । इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ ।विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सयजनाको अन्तिम छनोट गरेको छ, जसमा ७० प्रतिशत महिला छन् । 

दोस्रो चरणमा १४ माघमा एक सय ६२ जना इजरायल उड्ने
इजरायल रोजगारीका लागि तयारी अवस्थामा रहेका नेपाली कामदारमध्ये दोस्रो चरणमा एक सय ६२ जना उड्ने भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आगामी माघ १४ र १५ गते कामदार उड्ने तय भएको छ । दोस्रो चरणमा अघिल्लोपटक बाँकी रहेका १८ जनासमेत उड्नेछन् । 

दोस्रो चरणमा इजरायल जाने कामदारले गत साउन ३१ गतेपछि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेछ । यस्ता कामदारले मात्रै हवाई टिकट खरिद र पूर्वअभिमुखीकरण कार्यक्रम लिन सक्नेछन् । तर, सो मितिभन्दा अगाडि खोप लगाएका कामदारले सम्बन्धित निकायबाट थप डोज लगाएको प्रमाणपत्र पेस गर्नुपर्नेछ । 

पहिलो चरणमा इजरायल जान बाँकी रहेका १८ जना कामदारलाई हवाई टिकट र तालिमका लागि प्राथमिकतामा राखिएको विभागले जनाएको छ । इजरायल जाने सूचीमा परेका कामदारले ६ गतेसम्म टिकट बुकिङ गरिसक्नुपर्नेछ । कामदारले माघ ६, ७, ९ र १० गते पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्नेछ ।  

यसअघि कोरोना भाइरसको पहिलो लहरले कोरिया रोजगारी प्रभावित बनाएको थियो । भिसा लगाइसकेका कामदार पनि अहिलेसम्म कोरिया जान पाएका छैनन् । तत्कालीन समयमा कोरियामा कोरोना प्रभाव तीव्र गतिमा बढेको थियो । कोरोना प्रभाव धेरैपछि नेपाल सरकारले नेपाली कामदारलाई कोरिया जान प्रतिबन्ध गरायो । तर, पछि कोरियामा कोरोनाको प्रभाव कम हुन थाल्यो । यद्यपि, सो अवधिमा नेपालमा कोरोना बढेको भन्दै कोरियाले नेपाली कामदार लैजान मानेन । फलस्वरूप रोस्टरमा रहेका कामदार पनि कोरिया जान पाएका छैनन् । 

इजरायल जाने कामदारको हकमा पनि कोरानाले प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ । तर, हालसम्म इजरायल सरकारले यस विषयमा कुनै सूचना नदिएको विभागका निर्देशक सुनुवारले बताए ।  

 ६ वर्षपछि खुल्यो इजरायल रोजगारी
नेपाली कामदारका लागि ६ वर्षपछि इजरायल रोजगारी खुलेको हो । इजरायल र नेपाल सरकारबीच ०७२ साउनमा केयर गिभरमा नेपाली कामदार पठाइने विषयमा श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार सरकारीस्तरमा श्रम सम्झौता (जिटुजी) भएको थियो । तर, सम्झौता भएको एक वर्ष पूरा नहुँदै इजरायल रोजगारी रोकिएको थियो । 

तत्कालीन समयमा नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार इजरायलमा बालबालिका तथा वृद्धावृद्धाको रेखदेख र स्याहारसुहारका लागि दुई वर्षभित्र तीन सय केयर गिभर पठाउने सहमति भएको थियो । तर, सो अवधिमा ७७ जना नेपाली केयर गिभर रोजगारीका लागि इजरायल पुगेको विभागले जनाएको छ । पछि इजरायलबाट माग नै आउन छाडेपछि इजरायल जान तयार भएका ४२ कामदार पनि रोकिएका थिए ।