लमजुङ र तनहुँ जोड्ने डुम्रे–बेंसीसहर सडक दुई लेनको बनाउन थालिएको छ। तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजारनजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए।
उनले भने, ‘डुम्रे बजारबाट दुई सय २० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’सहित १५–१५ मिटरको हुने भएको छ।’ इन्जिनियर अधिकारीका अनुसार १०–१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ। यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने आयोजनाले जनाएको छ। दायाँबायाँ एक–एक मिटरको ‘सोल्जर’ तथा एक–एक मिटरको नाली निर्माण गरिने छ।
अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण कार्य भइरहेको छ। आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने कालोपत्र सकिएपछि सडक रंगरोगन गर्ने र किलोमिटर पोस्ट राखिनेछ। हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ। आठ दशमलव आठ किलोमिटर सडक ०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।
डुम्रे–बेंसीसहर सडक ४२ किलोमिटर रहेको छ। यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ। सडकका लागि भ्याट र पिएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ।