सिराहाको सीमावर्ती क्षेत्रमा कारमा लागुऔषध तस्करी गरिरहेको चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मार्डरले सीमावर्ती भारतीय बजारबाट ल्याएको प्रतिबन्धित लागुऔषधसहित चारजना युवकलाई पक्राउ गरेको हो । बा ४ च १३३४ नम्बरको कारमा लुकाइराखेको लागुऔषध नाइट्राभेट–१० नामक ट्याब्लेट ६० पत्ता (९००पिस) प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१० करताहाका ३१ वर्षीय संजीव खड्का, सोही ठाउँका १९ वर्षीय सुजन धामी, २१ वर्षीय अरबिनकुमार दनुवार र २५ वर्षीय उमेशकुमार दनुवार रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक पवनकुमार झाले बताएका छन् । पक्राउ परेका उनीहर सिन्धुलीवाट लागुऔषधकै निम्ति सिराहाको सीमावर्ती क्षेत्र मार्डर पुगेका थिए । उनीहरूलाई कारसहित जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक झाले बताए ।
लागुऔषधसहित थप सातजना पक्राउ
यस्तै प्रहरीले लागुऔषधसहित थप सातजनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मार्डरले भारतबाट आउँदै गरेको ज १२ प ७५५७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा नाइट्राभेट–१० नामक प्रतिबन्धित लागुऔषध ५ पत्ता (६९ पिस) ट्याब्लेट बरामद गरेको छ । पक्राउ पर्नेमा सिराहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका ३० वर्षीय कृष्णा यादव रहेको प्रहरी निरीक्षक झाले बताए ।
यस्तै लहान बसपार्कबाट प्रहरीले चेकजाँचको क्रममा दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । स ९ प ३०३ नम्बरको मोटरसाइकलमा सवार युवकहरलाई चेकजाँचको क्रममा लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–५ का २४ वर्षीय एकवाल मियाँ र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ जोगिदहका २५ वर्षीय सुमनकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट बुर्फेनोर्फिन इन्जेक्सन ६, डायजाल्याब ५ र फेर्नागन ५ एम्बुल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट फोटोकापी गरिएको नेपाली खोटा रुपैयाँ पनि बरामद भएको प्रहरी निरीक्षक झाले बताएका छन् । १ हजार दरका २ थान नेपाली रुपैयाँसहित ३४ हजार ६२०, मोबाइल २ थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरी टोलीले सीमावर्ती सिराहाको भगवानपुर गाउँपालिका १ भगवानपुर चोकमा चेकजाँच गर्ने क्रममा तीनजना युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । प्र–१–०५ प ३४७६ नम्बरको मोटरसाइकलमा भारतीय बजारबाट आउँदै गर्दा चेकजाँचको क्रममा लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ का २१ वर्षीय शंकर भट्टराई, सोही ठाउँका १९वर्षीय रितिक कटुवाल र सप्तरी जिल्लाको सुरुङा नगरपालिका– १ का २८ वर्षीय विजय मल्लिक रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रतिबन्धित प्रेमोथोजिन इन्जेक्सन १७ एम्पुल, डाइजिल्याप १३ एम्पुल, नाइट्राभेट–१० लेखिएको ट्याब्लेट ५ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । पक्राउ गरिएका तीनैजना युवकलाई थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।
ब्राउनसुगरसहित दुई युवक पक्राउ
यस्तै सिरहाको मिर्चैयाबाट ब्राउनसुगरसहित दुईजना युवकलाई पक्राउ परेको छ । मिर्चैया नगरपालिका–५ मा लु ७९ प ९९५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–६का २१ वर्षीय सबुरकुमार महतो र २१ वर्षीय पवनकुमार महतो रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३० ग्राम ७७ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको प्रहरी निरीक्षक झाले बताएका छन् ।