१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o९:o१:oo
Read Time : > 4 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

ओमिक्रोन : अफ्रिकामा घट्यो, अन्यत्र बढ्दो

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:o१:oo

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पहिलोपटक पुष्टि भएको अफ्रिकी मुलुकहरूमा संक्रमणदर ओरालो लाग्दै गएको छ । दक्षिण अफ्रिकी मुलुक बोत्सवनामा २४ नोभेम्बरमा ओमिक्रोन पहिलोपटक पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार बोत्सवनासहित दक्षिण अफ्रिकी मुलुकहरूमा पछिल्लो एक सातादेखि संक्रमणदर ओरालो लागेको छ । 

बोत्सवनामा १३ डिसेम्बरदेखि उकालो लागेको संक्रमणदर महिनाको अन्तिमसम्म दैनिक संक्रमणदर सात हजारसम्म पुगेको थियो । जनवरी लागेसँगै संक्रमणदर कम हुँदै गएको हो । यो साता यहाँ दैनिक औसत संक्रमण एक हजार चार सयको हाराहारीमा छ । मंगलबार त यहाँ संक्रमण शून्य देखिएको छ । 

दक्षिण अफ्रिकामा पनि गत सातादेखि संक्रमणदर ओरालो लागेको छ । यहाँ २२ नोभेम्बरदेखि संक्रमणदर उकालो लागेको थियो । १६ डिसेम्बरमा एकै दिन २४ हजार सात सय ८५ जनामा संक्रमण देखिएको थियो । तर, त्यसपछि संक्रमण लगातार झर्र्दै गएको छ । मंगलबार दक्षिण अफ्रिकामा पाँच हजार ६ सय ६८ जनामा संक्रमण देखिएको छ। 

अर्को, दक्षिण अफ्रिकी मुलुक एंगोलामा पनि डिसेम्बरको सुरुवातीमा शून्यमा रहेको दैनिक संक्रमण महिनाको अन्तिममा करिब दुई हजार पुगेको थियो । जनवरीको पहिलो सातादेखि नै एंगोलामा संक्रमण ओरालो लागेको छ । मंगलबार यहाँ आठ सय ३२ जनामा संक्रमण देखिएको छ । 

२४ डिसेम्बरमा साढे दुई हजार दैनिक संक्रमण नाघेको नामिबियामा पनि संक्रमणदर घट्दै गएको छ । मंगलबार देशभर एक सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । 

डिसेम्बरको पहिलो सातादेखि जाम्बिबियामा बढेको संक्रमण ओरोलो लागेको छ । यसबीच, ११ डिसेम्बरमा एकैदिन नौ हजारभन्दा बढी केस थपिएका थिए । त्यसपछि संक्रमण घट्दै गएको छ । ११ जनवरीसम्म आइपुग्दा संक्रमण शून्यमा झरेको छ । यसबाहेक जाम्बिया, लेस्थो, मालावी, मोजाम्बिकमा पनि संक्रमणदर निरन्तर घट्दै गएको छ । खोपको पहुँच बढाउँदै लगिएकाले छोटो समयमै संक्रमण नियन्त्रणमा आएको विज्ञहरूले बताएका छन् । 

युरोपका ५० प्रतिशत ओमिक्रोन संक्रमणको जोखिममा
जनवरीको पहिलो सातामा मात्रै युरोपमा ७० लाखभन्दा बढीमा संक्रमण देखिएको थियो भने दुई साताको अन्तरालमा संक्रमणदर दोब्बरले बढेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनाएको छ । 

१० जनवरीसम्ममा यहाँका २६ देशले कुल जनसंख्याको करिब एक प्रतिशत संक्रमित भइसकेको जनाएका छन् । केही साताको अन्तरालमा युरोपको आधा जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने डब्लुएचओका युरोप निर्देशक डा. हान्स क्लुगले बताएका छन् । उनले भनेका छन्, ‘अहिले ओमिक्रोन भेरियन्टले पूर्वदेखि पश्चिमसम्म ज्वारभाटा फैलाएको छ । २०२१ सम्म डेल्टा नियन्त्रणमा लागिपरेको विश्व फेरि ओमिक्रोनले थला पर्ने देखिएको छ ।’

युरोपमा मात्र नभई अमेरिका र एसियाली मुलुकहरूमा पनि प्रत्येक दिन संक्रमण दोब्बरले बढ्दै गइरहेको छ । ओमिक्रोनले निम्त्याएको नयाँ लहरबारे विज्ञहरू आफैँ अन्योलमा छन् । 

ओमिक्रोनले सबैभन्दा धेरै युरोप र अमेरिकामा प्रभावित भएका छन् । तर, उच्च संक्रामक देखिए पनि कम गम्भीर रहेको र केही स्थानमा घट्दै गएपछि युरोपियन मेडिसिन एजेन्सीले कोरोना ‘प्यान्डेमिक’ (महामारी) बाट ‘इन्डेमिक’ (निश्चित क्षेत्रमा नियमित रूपमा देखिने रोग) मा विकसित हुँदै गएको जनाएको छ । लगातार उत्परिवर्तन हुँदै गएकाले बिस्तारै भाइरससँगै मानिस बाँच्न सक्ने अवस्थामा पुगेको एजेन्सीले दाबी गरेको छ । 

संक्रमणदर २३ प्रतिशत नाघ्यो
नेपालमा दैनिक संक्रमणदर ह्वात्तै बढेको छ । बुधबार परीक्षणका आधारमा संक्रमणदर २३.५९ प्रतिशत पुगेको छ । देशभर १३ हजार ३६ जनामा परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण देखिएको छ । मंगलबार १६ प्रतिशत संक्रमणदर रहेको थियो, एकैदिनमा संक्रमणदर ६ प्रतिशतले बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ । 

दक्षिण एसियामा नयाँ रेकर्ड 

विश्वको २१ प्रतिशत जनघनत्व ओगटेको दक्षिण एसियामा फेरि एकपटक कोरोना भाइरस (कोभिड १९)ले डरलाग्दो अवस्थामा पर्‍याएको छ । यस क्षेत्रमा हरेक दिन कोरोना संक्रमणदरले नयाँ रेकर्ड बनाइरहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

दक्षिण एसियाकै सबैभन्दा बढी जनघनत्व भएको भारतमा पछिल्लो २४ घन्टामा एक लाख ९४ हजार सात सय २० जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ प्रतिदिन कोरोना संक्रमित वृद्धिदर ११.५ प्रतिशत छ । महामारीको प्रभाव सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा देखिएको छ ।

महाराष्ट्रमा बुधबार ३४ हजार चार सय २४ नयाँ संक्रमित भएका छन् । यसैगरी, राजधानी नयाँदिल्लीमा २१ हजार दुई सय ५९ र कर्नाटकमा १४ हजार चार सय ७३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप भएका संक्रमितमध्ये चार हजार आठ सय ६८ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । यहाँ पछिल्लो २४ घन्टामा चार सय ४२ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

पाकिस्तान : दक्षिण एसियामा संक्रमणदर बढिरहेको दोस्रो राष्ट्र पाकिस्तान हो । पछिल्लो २४ घन्टामा यहाँ दुई हजार ७४ जना संक्रमित हुनुका साथै १३ जनाको निधन भएको छ ।

पाकिस्तानमा मंगलबार एक हजार चार सय ६७ जना संक्रमित भएको पिटिआईले जनाएको छ । पाकिस्तानमा कोभिड सुरु भएयता अहिलेसम्म १३ लाख नौ हजार दुई सय ४८ जना संक्रमित भए । जसमध्ये १२ लाख ५९ हजार ६ सय ९९ जना निको भएका छन् । पाकिस्तानमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाले यहाँ २८ हजार नौ सय ८७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये यहाँ दुई प्रतिशतले ज्यान गुमाएका छन् । पाकिस्तानमा संक्रमित निको हुने दर ९८ प्रतिशत रहेको छ । 

बंगलादेश : कोरोना भाइरसको चपेटामा बंगलादेश पनि रहेको छ । यहाँ पछिल्लो २४ घन्टाभित्र दुई हजार नौ सय १६ जना संक्रमित भएका छन् । जसमध्ये चारजना संक्रमितको मृत्यु भएको छ । करिब दुई वर्षभित्र बंगलादेशमा १६ लाख एक हजार तीन सय पाँचजना संक्रमित भए । जसमध्ये कोरोनाका कारण २८ हजार एक सय ११ जनाले ज्यान गुमाए । बंगलादेशमा १५ लाख ५१ हजार ६ सय ५३ जना कोरोनामुक्त भएका छन् । 

श्रीलंका : श्रीलंकामा मंगलबार नौ सय ४४ जना संक्रमित भएको एजेन्सीहरूले जनाएका छन् । एक साताभित्र श्रीलंकामा प्रतिदिन औसत पाँच सय ५० जना संक्रमित थपिइरहेका छन् । कोरोना सुरु भएयता श्रीलंकामा पाँच लाख ९३ हजार ७२ जना संक्रमित भए । जसमध्ये १५ हजार एक सय ४९ जनाको निधन भएको छ । पाँच लाख ६७ हजार तीन सय ६० जना निको भएका छन् । 

माल्दिभ्स : टापु नै टापु भएको माल्दिभ्स सरकारले कोरोना नियन्त्रण व्यवस्थापन राम्रो गरिरहेको छ । मंगलबार यहाँ पाँच सय ९३ जना संक्रमित भएका थिए । माल्दिभ्समा अहिलेसम्म ९९ हजार ९९ जना मात्रै संक्रमित भएका छन् । अहिलेसम्म यहाँ केवल दुई सय ६४ जनाको संक्रमणबाट निधन भएको छ । माल्दिभ्समा ९४ हजार पाँच सय दुईजना संक्रणमुक्त भएका छन् । यो एक साताभित्र माल्दिभ्समा सबैभन्दा कम संक्रमित भएको दिन ५ जनवरी हो । यस दिन यहाँ दुई सय २४ जना मात्र संक्रमित भएका थिए । 

भुटान : दक्षिण एसियामा कोरोना रोकथाममा उत्कृष्ट काम गरेको राष्ट्र नै भुटान हो । दक्षिण एसियाकै सबैभन्दा सानो देश भुटानमा अहिलेसम्म दुई हजार आठ सय ३७ जना मात्रै संक्रमित भएका छन्।

जसमध्ये दुई हजार ६ सय ५४ जना निको भइसकेका छन् । भुटानमा कोरोनाका कारण अहिलेसम्म तीनजनाले मात्र ज्यान गुमाएका छन् । मंगलबार भुटानमा सातजना संक्रमित भएका छन् । भुटानमा ६ जनवरीमा दुईजना, ७ जनवरीमा ८३ जना, ८ जनवरीमा सात जना, ९ जनवरीमा २१ जना तथा १० जनवरीमा २८ जना संक्रमित भएका थिए। 

विश्वमा कोरोना भाइरस देखिएपछि पहिलो तथा दोस्रो चरणको महामारी तीव्र गतिमा फैलिएको दक्षिण अमेरिका महादेश हो । पछिल्लो समय जरी विश्वभरि कोरोना भाइरस फैलिरहेको छ, यसैगरी दक्षिण अमेरिकामा पनि कोरोना संक्रमित बढिरहेको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । ब्राजिलमा मंगलबार मात्र ७१ हजार हजार चार सय ४७ जना संक्रमित भए । यस संख्यामध्ये एक सय ३९ जनाले ज्यान गुमाए ।

अर्जेन्टिनामा पछिल्लो २४ घन्टाभित्र एक लाख ३४ हजार चार सय ३९ जना संक्रमित भए । पछिल्लो २४ घन्टामा ५२ जनाले ज्यान गुमाएका छन् । यसैगरी, कोलम्बियामा मंगलबार मात्र २३ हजार ७४ जनामा भाइरस देखिएको छ, जसमध्ये ६५ जनाले ज्यान गुमाएका छन् । पेरुमा पछिल्लो २४ घन्टाभित्र २४ हजार दुई सय ८८ जनामा कोरोना भाइरस लागेको छ । 

ad
ad