मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ पौष २८ बुधबार ०८:३७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोस्रो लहरमै बन्नुपर्ने होल्डिङ सेन्टर तेस्रो लहर चल्दा पनि बनेनन्

Read Time : > 4 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ पौष २८ बुधबार ०८:३७:००

कञ्चनपुरबाट मोहन विष्ट, धनगढीमा तेजराज भट्ट, झापाबाट चिरञ्जीवी घिमिरे, विराटनगरबाट गणेश लम्साल, बाँकेबाट विश्वराज पछल्डङ्ग्या, वीरगन्जबाट तिवारी यादव र कपिलवस्तुबाट डिलाराम भुसालको रिपोर्ट 

सकेसम्म छिटो सक्न प्रयास जारी छ : सन्तोषबल्लभ पौडेल प्रवक्ता, नेपाली सेना 

होल्डिङ सेन्टर निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत छ । थोरै भए पनि मानिस राख्न मिल्ने गरी संरचना निर्माण भइसकेको छ । यसमा केही प्राविधिक कारणले पनि ढिलाइ भएको हो । हामीले निर्माणका लागि जेठमा सम्झौता गरेका थियौँ । सुरुमा जग्गा प्राप्तिमा केही समय लाग्यो । नयाँ आर्थिक वर्ष सुरु भएपछि बजेट आउन ढिला भयो । सकेसम्म छिटो निर्माण गर्ने प्रयास जारी छ । 

पछिल्ला केही दिनदेखि देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । संक्रमणको दर तीव्र हुने देखिएकाले सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउनेसहितका स्वास्थ्य मापदण्ड जारी गरेको छ । तर, यसपटक पनि समयमै आवश्यक सतर्कता र पूर्वाधार निर्माणमा सरकार चुकेको छ । भारतमा संक्रमितको संख्या बढ्दै गर्दा त्यसको जोखिम नेपालमा पर्ने स्पष्टै थियो । यसमा सरकारले ध्यान पुर्‍याउन सकेन ।

रोजगारीका लागि भारतका विभिन्न सहरमा लाखौँ नेपाली त्यहाँ संक्रमण बढ्दा विगतमा पनि फर्कने गरेका थिए, यसपटक पनि फर्किदै छन् । भारतबाट फर्कनेहरूमा संक्रमण देखिए तिनलाई आइसोलेसनमा राख्ने र संक्रमणमुक्त भएपछि मात्र पठाउने उद्देश्यसहित गत असारमा सरकारले देशका सात सीमानाकामा होल्डिङ सेन्टर बनाउन थालेको थियो ।

गत असारमा तीन महिनामा निर्माण सकिने गरी ठेक्का सम्झौता भए पनि पुस सकिन लाग्दा पनि तयार भएनन् । सेनामार्फत देशका सात ठाउँमा करिब २८/२८ करोडको लागतमा एक हजार मानिस अट्ने क्षमताको होल्डिङ सेन्टर भदौमा सक्नुपर्ने ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । अहिलेसम्म प्रायः सबैको ७० देखि ९० प्रतिशतसम्म मात्र काम पूरा भएकाले पुस मसान्तसम्म म्याद थप गरिएको छ । 

ठेकेदार कम्पनीले १५ करोड भुक्तानी लग्यो, काम अझै अधुरै

कञ्चनपुर/ भारतसँग सीमा जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा सरकारले सेनामार्फत होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । सेनाबाट हनुमान कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको थियो । सेना र निर्माण कम्पनीबीच गत ३ असारमा सम्झौता गरी २ भदौमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । 

कुल २९ करोड २४ लाख ९९ हजार आठ सय १५ रुपैयाँमा मूल्य अभिवृद्धिकरसहित सम्झौता भएको थियो । हालसम्म १५ करोड ४३ लाख भुक्तानी भइसके पनि सम्झौताअनुरूप काम पूरा हुन नसकेपछि पुस मसान्तसम्म म्याद थप गरिएको थियो । तर, हालसम्म पनि काम अधुरै छ । ‘ठेक्कामा उल्लेख गरिएभन्दा अतिरिक्त काम भएकाले थपिएको म्यादभित्र काम पुरा नहुने देखिन्छ,’ हनुमान कन्स्ट्रक्सन प्रालिका म्यानेजर लक्ष्मण सापकोटाले भने । 

होल्डिङ सेन्टरको सुपर भिजन गरिरहेको श्री २५ नम्बर बाहिनी नेपाली सेना स्रोतका अनुसार हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । तर, निर्माण कम्पनीले भने ९२ प्रतिशत काम सकिएको दाबी गरेको छ । आधुनिक प्रविधिबाट २२ ट्रस्टसहित शौचालय, भान्साघर निर्माण हुँदै छन् । 

भदौमा सक्नुपर्ने काम पुस मसान्तसम्म जग हाल्दै

कैलालीको धनगढी उपमहानगरपालिका– ३, बडहरामा सामुदायिक वनक्षेत्रभित्र बन्दै गरेको होल्डिङ सेन्टरमा अझै ३० प्रतिशत काम बाँकी छ ।

धनगढी/ सुदूरपश्चिम प्रदेशमा भारतसँगको प्रमुख नाका गौरीफन्टानजिक गत भदौ मसान्तमै सम्पन्न भइसक्नुपर्ने होल्डिङ सेन्टर निर्माणको काम अझै अधुरो छ । संघीय सरकारको २८ करोड २८ लाख बजेटमा नेपाली सेनाले गत ३ असारमा हनुमान कन्स्ट्रक्सनसँग निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार भदौ मसान्तमै होल्डिङ सेन्टर निर्माण भइसक्नुपर्ने हो, तर ३० प्रतिशत काम अझै बाँकी छ 

। होल्डिङ सेन्टरका ५९ वटा ब्लकमध्ये ३२ वटाको काम अन्तिम चरणमा पुगेको छ । केहीको जग हाल्ने काम मात्र पूरा भएको छ । निर्धारित अवधिमा काम पूरा नभएपछि पुस मसान्तसम्म म्याद थप गरिएको छ । असारमै काम सुरु गरेको निर्माण कम्पनीले बर्खामा डुबानले काम गर्न नपाउँदा ढिलो भएको जनाएको छ । 

सञ्चालनमा आउन अझै एक महिना लाग्ने
बाँके/ 
नेपालगन्जमा होल्डिङ सेन्टर निर्माणका लागि नेपाली सेना र हनुमान कन्स्ट्रक्सनबीच २६ साउन ०७८ मा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने दुई पक्षबीच भएको सहमतिपत्रमा उल्लेख छ ।

तर, सहमतिअनुसार निर्माण कम्पनीले तीन महिना ढिला हुँदा पनि सम्पन्न गरेको छैन । अहिलेसम्म ८० प्रतिशत मात्र काम पूरा भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१४, भवनियापुरमा निर्माणाधीन होल्डिङ सेन्टर एक हजारजना अट्ने क्षमताको छ । हनुमान कन्स्ट्रक्सनका इन्जिनियर कमाल अन्सारीले ८० प्रतिशत निर्माण पूरा भएको बताए । ‘एक त वर्षात्ले काममा बाधा पुर्‍यायो, त्यसैमा कामको सुरुवात गर्नुअघि कागजात मिलाउन समय लाग्यो,’ उनले भने ।

अबको एक महिनामा काम पूरा हुने उनले जिकिर गरे । होल्डिङ सेन्टरमा २२ वटा ब्लक छ । ब्लकलाई दुई भागमा बाँडिएको छ । ब्लकको दुवैतर्फ शौचालय निर्माण गरिएको छ । ब्लक र शौचालय भवन निर्माण भइसकेको अन्सारीले बताए । शौचालयको पाइप बिछ्याउन मात्र बाँकी रहेको उनले बताए । 

भवन निर्माण सकियो, फिनिसिङ र पार्टेसनको काम हुँदै 
झापा/
 मेचीनगर नगरपालिका–१४ दुवागडीमा निर्माणाधीन होल्डिङ सेन्टरको काम ८५ प्रतिशत सकिएको छ । नयाँ श्रीनाथ गणका अनुसार होल्डिङ सेन्टर निर्माणको अन्तिम चरणमा पुगेको छ । पूर्वी नाका काँकडभिट्टादेखि करिब १४ किलोमिटर पश्चिम–दक्षिणमा सेन्टर निर्माण गरिएको छ । भवन निर्माणको काम सकिएको, फिनिसिङ र पार्टेसनको काम भइरहेको सेनाले जनाएको छ ।

२२ वटा ससाना भवन, बेड, अक्सिजन पाइप सप्लाई, बिजुलीसहित सबै काम गर्ने गरी करिब २८ करोडमा गत असारमा ठेक्का लिएको सेनाले जनाएको छ ।  होल्डिङ सेन्टरका प्रत्येक घरमा एउटा शौचालय र बाथरुम छ । त्यहाँ भारतबाट आएका एक हजारजनालाई होल्ड गरेर राख्न सकिने बताइएको छ । यसअघि निर्माण कम्पनीले ६० दिनभित्र निर्माण सम्पन्न गर्न सहमतिका साथ ठेक्का लिएको थियो । 

एक महिनाभित्र सञ्चालनमा आउने

मोरङको विराटनगर महानगरपालिका– १६ रानीमा निर्माणाधीन होल्डिङ सेन्टर एक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी छ ।

विराटनगर/ संघीय सरकारले उपलब्ध गराएको बजेटबाट विराटनगर महानगरपालिका–१६ रानीमा निर्माण भइरहेको एक हजारजना क्षमताको होल्डिङ सेन्टरको ७० प्रतिशत मात्र काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेशसचिव कालीप्रसाद पराजुलीले झापा र मोरङमा बन्दै गरेको होल्डिङ सेन्टरको हालै निरीक्षण गरेको जानकारी दिए । विराटनगरमा बन्द रहेको रानीस्थित विराटनगर जुटमिल परिसरमा पुरानो संरचना प्रयोग गरेर एक हजारजना क्षमताको होल्डिङ सेन्टर निर्माण हुँदै छ । सेन्टर एक महिनाभित्रै पूर्ण रूपमा सञ्चालनमा आउन सक्नेछन् ।

कृष्णनगरमा काम अन्तिम चरणमा 
कपिलवस्तु/
 नेपाल–भारत सीमानाका कृष्णनगरमा बनाउन थालिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको व्यवस्थापकीय रेखदेखमा हनुमान कन्स्ट्रक्सनले २७ करोड ६७ लाख ८२ हजार रुपैयाँमा कृष्णनगर नगरपालिका–१ को भन्सार नाकानजिक ६ सय बेड र शिवनगरमा चार सयवटा बेड गरी कुल एक हजारजना मानिस अट्ने क्षमताको होल्डिङ सेन्टरको काम भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । होल्डिङ सेन्टर निर्माणको काम ३ असारबाट सुरु भएको थियो । भदौमै सक्नुपर्नेमा पाँच महिना ढिला हुँदा पनि अझै अधुरै छ । 

८५ प्रतिशत निर्माण पूरा

पर्साको वीरगन्ज भन्सारको पश्चिमपट्टिको गोदाममा निर्माणाधीन होल्डिङ सेन्टरको काम ८५ प्रतिशत पूरा भएको छ भने लागत करिब २८ करोड छ  ।

वीरगन्ज/ वीरगन्ज भन्सारको पश्चिमपट्टिको गोदाममा निर्माणाधीन होल्डिङ सेन्टरको काम ८५ प्रतिशत सम्पन्न भएको छ । भारतबाट भित्रिनेलाई नाकामा पिसिआर र एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका र लक्षण देखिएकालाई क्वारिन्टिनमा राख्न गत २५ असारदेखि होल्डिङ सेन्टर निर्माण सुरु भएको थियो ।

वीरगन्ज–रक्सौल नाकामा एक हजारजना व्यक्तिलाई खान, बस्न र चिकित्सा सेवा नि:शुल्क उपलब्ध गराउने गरी सुविधासम्पन्न होल्डिङ सेन्टर निर्माण भएको ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले जनाएको छ । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भएको सेन्टरको बजेट करिब २८ करोड छ । एउटा प्रशासनिक भवन, एउटा सेन्ट्रल किचेन र २० वटा क्वारिन्टिन हल गरी कुल २२ वटा भवन निर्माण भएको ठेकेदार कम्पनीका इन्जिनियर विनोद सन्ज्यालले जानकारी दिए ।