मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २७ मंगलबार ०९:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक अर्ब निक्षेप राख्ने एनआरएनलाई अर्थ मन्त्रालयले विशेष सम्मान गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २७ मंगलबार ०९:३१:००

गैरआवासीय नेपालीलाई लक्षित गर्दै केही समयअघि परिमार्जनसहित सञ्चालनमा ल्याइएको डलर एकाउन्ट खातामा एक अर्ब निक्षेप राख्ने पहिलो व्यक्तिलाई अर्थ मन्त्रालयले विशेष सम्मान गर्ने घोषणा गरेको छ । गैरआवासीय नेपाली युकेले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

‘अहिले कतिपय मुलुकमा ब्याजदर ऋणात्मक रहेको सुनिन्छ,’ अर्थमन्त्री जनार्दन शर्माले भने, ‘नेपालमा बचत गर्नुभयो भने तपाईंहरूलाई पनि लाभ हुन्छ भने मुलुक निर्माणमा पनि सहयोग पुर्‍याउन सक्नुहुन्छ, अझ यो खातामा एक अर्ब निक्षेप राख्ने पहिलो एनआरएनलाई अर्थ मन्त्रालयले विशेष सम्मान गर्ने योजना बनाएको छ ।’

उनले पछिल्लो समय बढाइएको प्रत्यक्ष वैदेशिक लगानी सीमालाई संशोधन गर्ने तयारी पनि भइरहेको जानकारी दिएका छन् । हाल कम्तीमा पाँच करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानीका रूपमा भित्र्याउन सकिने व्यवस्था छ । यसअघि ५० लाख रुपैयाँ (५० हजार डलर)सम्म यसरी लगानीका रूपमा ल्याउन सकिने व्यवस्था थियो । 

गभर्नर महाप्रसाद अधिकारीले डलर खाताको सीमामा पनि संशोधन हुन सक्ने संकेत गरेका छन् । ‘यो डलर खातामा यसअघि कम्तीमा दुई वर्षको लागि न्यूनतम १० हजार डलर राख्नुपर्ने व्यवस्था थियो,’ गभर्नर अधिकारीले भने, ‘अहिले यो सीमा घटाएर कम्तीमा एक वर्षका लागि पाँच हजार डलर राख्न सकिने व्यवस्था गरेका छौँ, रकम सीमालाई थप कम गर्न सक्छौँ, यो त्यति जटिल विषय पनि होइन ।’

कार्यक्रममा वक्ताहरूले गैरआवासीय नेपाली संगठनहरूले प्रदान गर्ने सदस्य कार्डका आधारमा समेत निक्षेप राख्न सकिने व्यवस्थाको माग गरेका छन् । गैरआवासीय नेपालीका प्रतिनिधिहरूले डलर खाताका रहने रकमको ब्याजमा लाग्ने कर छुटको पनि माग गरेका छन् । 

वक्ताहरूले नेपाली मुद्रामा पाइनेसरह ब्याजदर नपाउने व्यवस्थाले लगानी फिर्ता लैजाँदा करिब २ दशमलव ५ प्रतिशत मात्रै हुन आउने गरेको ब्याजदर नेपाली मुद्रामा सरह हुनुपर्ने धारणा राखेका छन् । डलर खाताहरूमा बैंकहरूले हाल ३ देखि ४ प्रतिशत ब्याज दिइरहेका छन् । जबकि नेपाली मुद्रामा गरिने बचतमा ग्राहकहरूले अधिकतम १० प्रतिशतसम्म ब्याजदर पाइरहेका छन् ।  

हाल संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीहरूले कुनै पनि वाणिज्य बैंकमा न्यूनतम १० हजार अमेरिकी डलर वा सोही रकमबराबर जम्मा गर्न पाउँछन् । अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर वा क्यानेडियन डलरमा खाता खोल्न सकिने व्यवस्था छ । 

रकम जम्मा गरेको एक वर्षपछि ग्राहकले फिर्ता लिँदा साँवा तथा ब्याजको रकम निक्षेप जम्मा गरेकै मुद्रामा सम्बन्धित व्यक्तिको खातामा फिर्ता पाउने व्यवस्था छ । तर, यस्तो खाताको भुक्तानी नेपालमै लिँदा भने नेपाली रुपैयाँमा पाइने व्यवस्था छ । यसरी खाता खोल्ने विदेशी नागरिक नेपाल भ्रमणमा आउँदा वा मृत्युलगायतका कारण हक दाबी लाग्ने गैरआवासीय नेपालीका आफन्तले समेत नेपाली मुद्रामा भुक्तानी पाउन सक्छन् । 

यस्ता ग्राहकले ब्याज प्राप्त गर्न सोही ग्राहकको नाममा सोही मुद्रामा बचत खातासमेत खोल्न सक्ने व्यवस्था छ । यस्तो खाता वाणिज्य बैंक र विकास बैंकमा खोल्न पाइन्छ । दुई वा दुईभन्दा बढी विदेशी संस्थाहरू वा गैरआवासीय नेपालीहरूका नाममा संयुक्त रूपमा समेत यस्तो खाता खोल्न सकिन्छ । संस्थागत विदेशी निक्षेपकर्ताले यस्तो खाता खोल्दा संस्थाको सञ्चालक समितिले खाता खोल्न गरेको निर्णयसमेत बुझाउनुपर्छ । 

राष्ट्र बैंकले बचत खाताको रकम नेपालमा प्रयोगका लागि कार्ड जारी गर्ने विषयमा समेत सोच बनाएको गभर्नर अधिकारीले जानकारी दिए । मुद्रा फिर्ता लैजाँदा विनिमय दरका कारण हुने नाफा–नोक्सानको भागीदार भने खाताबाहक नै हुने सबैतिरको अभ्यास रहेको अधिकारीले स्पष्ट पारेका छन् ।