आगामी १८ माघबाट धनगढीमा सुदूरपश्चिम महोत्सव हुने भएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको तयारी सुरु भएको जनाएको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा चार सयवटा व्यापारिक स्टल रहने बताइएको छ ।
सुदूरपश्चिमको कला, संस्कृति, कृषि उत्पादन, जडिबुटी, यहाँका सम्भावनाहरू प्रदर्शन गरिने संघले जनाएको छ । यसका साथै गार्मेन्ट, कपडा, अटोमोबाइल, होटेललगायत व्यावसायिक स्टलहरू रहने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । करिब चार लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब १५ करोडको व्यावसायिक कारोबार हुने संघको अनुमान छ ।
महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने कुँवरले बताए । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तार, संस्कृति र कलाको प्रवर्धनसँगै यस क्षेत्रको समग्र सम्भावनाको उजागर गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
‘कोरोना महामारीका कारण सृजित आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायको प्रवर्धनमा पनि महोत्सवले टेवा पुर्याउने आशा गरेका छौँ ।’ संघका प्रथम उपाध्यक्ष पुष्कर ओझाले भने, ‘तरकारी, माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि बृहत् व्यावसायिक कृषि प्रदर्शनीमा विशेष जोड दिनेछौँ ।’
संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत दुई वर्षमा भने महोत्सव हुन सकेको थिएन ।