१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रञ्जन भण्डारी महाेत्तरी
२०७८ पौष १८ आइतबार ०८:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सौखी सदा परिवारलाई सेनाको राहत

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
२०७८ पौष १८ आइतबार ०८:५४:००

गत वर्ष शीतलहरको समयमा सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित मुसहर बस्तीका सौखी सदालाई घर बनाइदिने आश्वासन दिइएको थियो । सरकारीस्तरबाटै घर बनाइदिने आश्वासन दिए पनि एक वर्ष बितिसक्दा पनि सदा परिवारले घर पाएन । यो वर्षको शीतलहर पनि त्रिपालमुनि नै बित्ने भएको छ ।

यसपटकको शीतलहरमा पनि सौखी सदा र उनकी श्रीमती ललिता सदा त्रिपालमुनि बास बस्न बाध्य भएको समाचार केही दिनअघि नयाँ पत्रिकामा प्रकाशित भएको थियो । सोही समाचार छापिएपछि नेपाली सेनाको रणभीम गण राहत सामग्री लिएर शनिबार उनको घर पुगेको छ । रणभीम गणका गणपति प्रमुख सेनानी शिवहरि केसी राहतसहित सदा परिवारको घर पुगेका हुन् । 

शुक्रबार मटिहानी नगरपालिका–४ मझौरामा राहत बाँड्न पुगेका रणभीम गणको टोली तथा सैनिक श्रीमती संघ र नं. ९ बाहिनीपतिसमेतलाई शीतलहरका वेला ललिता सदाको पीडाबारे जानकारी गराइएको थियो । त्यसलगत्तै रणभीम गणका गणपतिलाई राहत लिएर जान नं. ९ बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसीले निर्देशन दिएपछि प्रमुख सेनानी केसी राहतसहित पुगेका हुन् । सैनिक टोली राहत लिएर जाँदा घरमा सौखी सदा र ललिता सदा भने थिएनन् । सैनिक टोलीले छिमेकीहरूको रोहवरमा सदाका बालबच्चालाई तत्काल राहतस्वरूप खाद्य सामग्री र कम्बल प्रदान गरेको थियो ।

रणभीम गणका गणपति केसीले सदाको घर निर्माणका लागि स्थानीयस्तरमा बाँसलगायतका निर्माण सामग्री उपलब्ध गराउन सकिए कच्ची घर बनाउन प्रयास गर्न सकिने बताए । उनले निर्माण सामग्री व्यवस्थापन हुन सके घर बनाउन रणभीम गणले श्रमदान गर्न सक्ने जानकारी दिए ।

सैनिक टोलीले शनिबार सोनमा गाउँपालिका–३ खखनाका धनकी भण्डारी, सम्सी गाउँपालिका–५ पोखरभिण्डाका नारायण मल्लिक, सौखी सदा र रामपति सदा, जलेश्वर नगरपालिका–१२ थरुवाहीका नरेश महरासहित सात घरपरिवारलाई राहत प्रदान गरेको छ । तीमध्ये तत्काल घर बनाइदिनुपर्ने विपन्न परिवारका लागि आफूहरूले आन्तरिक छलफल गर्ने गणपति केसीले बताए । ‘घर नै बनाउँछौँ भनेर अहिले नै प्रतिबद्धता गर्दिनँ, तर स्थानीयस्तरमा घर बनाउन लाग्ने सामग्री उपलब्ध हुन सके सहयोग गर्न भने सक्छौँ,’ उनले भने ।