नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेलले आफूले राजनीति नछाडेको प्रस्ट पारेका छन्। नेता पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक यात्रा जारी रहेको बताएका हुन्।
पार्टीका अन्य नेताहरूको सल्लाहमा आफू आन्तरिक प्रतिस्पर्धाबाट अलग रहने निर्णयअनुसार महाधिवेशनमा मतदानमा सहभागी नभएको उनले बताएका छन्। आफूले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको उनले उल्लेख गरेका छन्।
‘मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ र त्यस निर्णयप्रति इमानदार रहन मतदानबाटै अलग रहेँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम लिनु होइन, केही क्षणको अल्पविराम मात्र हो। मेरो राजनीतिक यात्रा जारी छ र अविछिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहनेछ।’