१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिलन पाण्डे काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०८:१२:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

काठमाडौँलाई ‘सुन्दरमाडौँ’ बनाउने सपना

Read Time : > 7 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०८:१२:००

काठमाडौंले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना साँचेको छ


काठमाडौँको सपना भनेको काठमाडौँ, काठमाडौँ जस्तै हुनुपर्छ भन्ने हो । काठमाडौँ सिंगापुर, सिड्नी, दुबई, न्युयोर्क बन्नुपर्छ भन्ने होइन । काठमाडौँले नयाँ केही खोजेको थिएन, छैन । काठमाडौँवासीको पीडा भनेको धुलो, धुवाँ, जाम, पार्किङको समस्या, बेरोजगारी, गुणस्तरहीन शिक्षा, झन्झटिलो प्रशासनिक सेवा आदि हुन् । काठमाडौँले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना पालेको थियो । काठमाडौँ ‘फ्रेन्ड्ली सिटी’ बन्न चाहन्छ, जो नागरिकमैत्री होस् । युवामैत्री होस् । त्यसका निम्ति, काठमाडौँले भिजनसहितको सक्षम युवा मेयर खोजिरहेको छ, जसले काठमाडौँबाट ‘डेलिभरी’ राजनीतिको नयाँ युग सुरुवात गर्न सकोस् । हालको मृतप्रायः काठमाडौँमा ज्यान फुक्न हामीले मुख्यतया यी ६ कोणबाट काम गर्न जरुरी छ ।

१. निःशुल्क शिक्षा, टोल–टोलमा घुम्ती क्लिनिक

हरेक नागरिकले निःशुल्क, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ । समाजवादतर्फको यात्राका निम्ति यो आधारभूत आवश्यकता हो । काठमाडौँ महानगरकै नेतृत्वमा प्रत्येक वडामा एउटा नमुना विद्यालय स्थापना गर्न सकिन्छ । सरकारी विद्यालयहरूमा आइबी (प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक पाठ्यक्रम÷प्रणाली) कार्यक्रम सुरुवात गरेर मौलिक पाठ्क्रमसहित संसारकै उत्कृष्ट शिक्षा हाम्रा सरकारी विद्यालयले दिन सक्छन् । सार्वजनिक विद्यालयसँग निजी विद्यालयभन्दा धेरै स्रोतसाधन छ, मैदान छ, पूर्वाधार छ । त्यसलाई सदुपयोग गर्ने हो भने प्रत्येक नागरिकले आफ्ना बच्चा ढुक्कसँग काठमाडौँको सार्वजनिक विद्यालयमै पढाउन सक्ने वातावरण बनाउन सकिन्छ । 

महानगरले एउटा नीति ल्याएर निजी विद्यालयहरूले लिइरहेको शुल्क र गुणस्तरमा नियमन गर्नुपर्छ । नियमभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गरेर अभिभावकलाई फिर्ता दिलाउने हिम्मत गर्न सके शिक्षा व्यापार होइन भन्ने भाव जागृत हुने थियो । शिक्षकको क्षमता अभिवृद्धि गर्ने र अक्षम शिक्षकलाई बिदाइ गर्न महानगरले कुनै ‘कम्प्रोमाइज’ गर्नु हुँदैन । महानगरले विद्यालयका भर्ना प्रक्रिया पारदर्शी बनाउनुपर्छ । मिहिनेती विद्यार्थीलाई महानगरले ‘विशेष छात्रवृत्ति’ प्रदान गर्न सक्छ । आफ्ना विद्यार्थीको क्षमता र योग्यता बढाउन विशेष कार्यक्रम सञ्चालन नै गर्न सक्छ । ११ र १२ कक्षामा ‘विद्यार्थीलाई उद्यमी बनाऔँ’ भन्ने अभियान सञ्चालन गरेर हाम्रो शिक्षालाई जागिरे शिक्षाबाट उद्यमी शिक्षातर्फ मोड्न जरुरी छ । ‘मातृभूमि पाठ्यक्रम’ लागू गरेर आफ्नो देशप्रति गर्व गर्न सक्ने बनाउन सके विद्यार्थीले आफ्नै देशमा केही गर्ने प्रण गर्ने थिए । ‘खुसी पाठ्यक्रम’ लागू गरेर विद्यार्थीलाई हारबाट सिक्न, जीवनमा खुसी हुन र प्रयत्न गर्दा गल्ती गर्न नडराउने बनाउन सके शिक्षाले आफ्नो सही भूमिका निर्वाह गर्ने थियो । 

महानगरले एउटा वडामा एउटा ‘घुम्ती क्लिनिक’ मज्जाले बनाउन सक्छ, जहाँ नागरिकले आफ्नो स्वास्थ्यको नियमित जाँच गराउन सकून् । नागरिकले सुगर, प्रेसरजस्ता रोगका निम्ति आफ्नो वडामा सम्पर्क गरेर नियमित रूपमा जाँच गर्न सक्ने व्यवस्था मिलाउन गाह्रो छैन । साथै, महानगरले आफ्नो क्षेत्रभित्रका अस्पतालसँग मिलेर ‘सहज एम्बुलेन्स सेवा’हरू नगरवासीका निम्ति सञ्चालन गर्न सक्छ । साथै, उसले आफ्ना नागरिकलाई ‘सबैका निम्ति गुणस्तरीय औषधि’ कार्यक्रम सञ्चालन गर्न सक्छ, जहाँ नागरिकले सस्तो मूल्यमा सहज रूपमा गुणस्तरीय औषधि पाउन सकून् । महानगरले आफ्ना प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा गराउने अभियान सञ्चालन गर्न जरुरी छ । एउटा निश्चित आयभन्दा तलका नागरिकलाई सरकारले नै बिमा गरिदिन सक्छ । र, एउटा निश्चित आयभन्दा माथिका नागरिक स्वयंले नै स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने नीति लार्गू गर्न सक्छ । बिरामी हुँदा उपचार पाउने अधिकार प्रत्येक नागरिकको हो, त्यसको ग्यारेन्टी सरकारले लिनुपर्छ । साथै, स्थानीय तहले निजी अस्पतालको गुणस्तर, शुल्क र सेवालाई नियमनको नीति अख्तियार गर्न जरुरी छ ।

२. सेवक सहर

काठमाडौँ उपत्यकामा पिज्जा, मःम जस्ता खाद्य पदार्थ घर–घरमा आधा घन्टामै पुग्न सक्छ भने नागरिकता, लाइसेन्स, पासपोर्टचाहिँ किन प्रशासनले घरघरमा डेलिभर गर्न सक्दैन ? किन अझै एउटा सानो कामका लागि एउटा नागरिक दिनभरि सरकारी कार्यालयको गेटमा लाइन बसेर बारम्बार धाउनुपर्छ ? किन बरु घुस खुवाउँछु तर सरकारी कार्यालय जान्नँ भनेर नागरिक आफ्नै सरकारसँग भाग्नुपर्छ ? त्यसैले, अब महानगरले सेवक सरकारको अवधारणाअनुसार ‘घर–घरमा सरकार’ कार्यक्रम ल्याउनुपर्छ । बाँकी सेवाहरूका निम्ति भने, ‘सेवक सरकार’ फ्री मोबाइल एप (हटलाइन) प्रयोग गरी मोबाइलबाटै सरकारी कामहरू गर्न सकिने व्यवस्था मिलाउन सकिन्छ । काठमाडौँलाई व्यावहारिक रूपमै ‘झन्झटमुक्त सहर’ घोषणा गर्न सकिन्छ । झन्झट दिने र घुस माग्ने कर्मचारीविरुद्ध ‘उजुरी पेटिका’ वडावडामा राखेर वा अनलाइनमार्फत नागरिकको गुनासो लिने व्यवस्था मिलाएर २४ घन्टाभित्र कार्यान्वयन गर्न सके हाम्रो सहर कस्तो हुन्थ्यो होला ?

महानगरपालिकालाई ‘सहज, सुलभ, सधैँ’ बनाउन यहाँको कर्मचारीतन्त्रमा व्यापक सुधार ल्याउन जरुरी छ । त्यसैले अब ‘गोल्डेन ह्यान्डसेक’सहितको स्वैच्छिक अवकाश व्यवस्था गरिनुपर्छ । २० वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मानजनक क्षतिपूर्ति दिई अवकाश दिँदै काठमाडौँको व्यवस्थापनमा नवपुस्ताका अब्बल कर्मचारी तथा विज्ञलाई ल्याएर यो सहरलाई फेरि ‘नागरिक–मैत्री’ बनाउन जरुरी छ । सकेसम्म सरकारी कार्यालय जानै नपरोस्, जानै परे पनि तपाईंलाई महानगरले ‘भिआइपी’ सेवा प्रदान गरोस् । 

३. सांस्कृतिक सहर

काठमाडौँ नेवा समुदायको धरोहर, विविधताले भरिपूर्ण अनि देशकै सांस्कृतिक केन्द्र हो । तसर्थ, काठमाडौँमा अहिले भएका सम्पदाहरूलाई संरक्षण गर्नु काठमाडौँको प्रमुख दायित्व हो । हाम्रा ढुंगेधारा, देवल तथा बहालको संरक्षण अनि पुनर्निर्माण जरुरी छ । जब नयाँ पुस्ताले हाम्रो इतिहास अनि सम्पदाबारे बुझ्छन्, तब मात्रै उनीहरूले आफ्नो सम्पदा अनि संस्कृति संरक्षण गर्न सक्छन् । यो अनलाइनको जमानामा हरेक टोलको ‘विकिपिडिया’ तथा ‘मोबाइल एप’ बनाउन स्थानीय समुदायले नै नेतृत्व गर्न सक्छन् । स्थानीय सरकारले हाम्रो सम्पदा अनि संस्कृतिसँग सम्बन्धित विभिन्न प्रतिस्पर्धा र कार्यक्रम राख्न सक्छन् ।

काठमाडौँलाई सम्पदा सहरका रूपमा विकसित गर्न महानगरले आफ्नो परिवारका सदस्यको सम्झनामा मन्दिर वा सुन्दर स्मारक वा कुनै कृति बनाउनका लागि काठमाडौँवासीलाई प्रोत्साहित गर्न सक्छ । ‘एक जीवन, एक स्मारक’जस्ता अभियान सहरका गुठी र टोल सुधार समितिसँग मिलेर सञ्चालन हुन सक्छन् । भित्री काठमाडौँ सहरलाई ‘खुला, जीवन्त संग्रहालय’ का रूपमा स्थापित गर्न सकिन्छ, जहाँ नागरिक र पर्यटकले हिँडेरै हाम्रो कला संस्कृतिको अनुभूति गर्न सक्छन् । हाम्रा परम्परा, चाडबाड र मौलिक नृत्यहरूलाई गर्वको रूपमा प्रस्तुत गर्ने र घुम्न आएका विदेशीलाई संग्रहालय लगेर देखाउन तथा बुझाउन सके काठमाडौँ विश्वकै नमुना सहर बन्ने थियो । 

‘योमरी’ जस्ता मौलिक खानालाई व्यापक प्रचार गर्न सके काठमाडौँ ‘योमरीको सहर’का रूपमा संसारमा चिनिन्थ्यो । हामीले भुल्न नहुने अर्को महत्वपूर्ण पाटो भनेको काठमाडौँको आर्थिक समृद्धिका निम्ति धार्मिक पर्यटन हो । पशुपतिनाथ र स्वयम्भूनाथ दर्शन गर्न, घुम्न यदि भारतीय र चीनका हिन्दू, बौद्ध धर्मावलम्बीलाई ल्याउन सक्ने हो भने वर्षको दसौँ लाख पर्यटक काठमाडौँले भिœयाउन सक्छ ।

 ४. सफा हरित सहर

अहिले काठमाडौँको प्रमुख समस्या भनेकै धुवाँ, धुलो र फोहोर व्यवस्थापन हो । स्वस्थ खाना नपाएका अनि सफा पानी पिउन नपाएका आमनागरिकले अहिले सफा सास फेर्नसमेत पाइरहेका छैनन् । धुलो उड्न नदिन, खनिएका सडकहरू द्रुत गतिमा पिच हुन जरुरी छ । महानगरले आफूखुसी बाटो खन्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । कडा जरिवाना लगाउनुपर्छ । साथै, काठमाडौँमा गुड्ने गाडीले फाल्ने धुवाँ हेरेर गाडीलाई गुड्न दिने वा नदिने नीति बनाउन जरुरी छ । काठमाडौँले विद्युतीय सवारी साधनलाई विशेष जोड दिनुपर्छ । धुवाँ, धुलो र प्रदूषण रोकथामका लागि प्रदूषक कर नीति बनाएर कार्यान्वयन गर्न जरुरी छ । काठमाडौँका नदीहरूको सरसफाइ पनि मुख्य एजेन्डा बन्नुपर्छ । घर–व्यवसायबाट निस्किने फोहोरको वर्गीकरण अनिवार्य भइसकेको छ । घर–घरमा फोहोर व्यवस्थापनका साथै बढी भएको जैविक फोहोरबाट निजी क्षेत्रसँगको सहकार्यमा ग्यास/बिजुली उत्पादन गर्न सकिन्छ ।

काठमाडौँलाई हिँड्न मिल्ने तथा फरक क्षमता भएकाले पनि प्रयोग गर्न मिल्ने सहरका रूपमा विकास गर्न यहाँका सडकपेटीको व्यवस्थापन र स्थानीय पार्कको मर्मत गर्न ढिलो भइसकेको छ

काठमाडौँ सहरले संसारका अन्य सहरबाट सिकेर फोहोर व्यवस्थापनका निम्ति गुरुयोजना बनाएर काठमाडौँवासीलाई फोहोरबाट छुटकारा दिलाउनु जरुरी छ । निर्माण सामग्रीलाई जथाभावी सडकमा राख्नेमाथि कडा जरिवानाको व्यवस्था गर्नु जरुरी छ । साथै, काठमाडौँमा प्लास्टिक झोलामाथि पूर्ण रूपले प्रतिबन्ध गरिनुपर्छ । काठमाडौँको रिङरोड र सार्वजनिक स्थानमा कम्तीमा २०० सार्वजनिक शौचालय निर्माण गर्न जरुरी छ ।

हरेक विद्यार्थीले आफ्नो जन्मदिनमा एउटा रुख–बिरुवा रोप्ने र हुर्काउने जिम्मेवारीको संस्कारलाई संस्थागत गर्दै महानगरपालिका अनि अन्य स्थानीय तहको सहकार्यमा ‘हरियो सुन्दरमाडौँ’ अभियान सञ्चालन गर्नुपर्छ, जसले गर्दा सन् २०३० सम्ममा काठमाडौँलाई रंगीबिरंगी फूलबारीको सहर बनाउन सकियोस् । काठमाडौँमा एउटा वडामा एउटा पार्क बनाउन महानगरले नेतृत्व गर्नुपर्छ । प्रत्येक पार्कसँगै सामुदायिक जिमखाना र योग – अध्यात्म केन्द्र निर्माण गर्न जरुरी छ । काठमाडौँको केन्द्र नारायणहिटी दरबारको जग्गामा भव्य पार्क विकास गर्न केन्द्रीय र प्रदेश सरकारले सहकार्य गर्न जरुरी छ । काठमाडौँमा बालबालिका, परिवार, फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकको आवश्यकता सम्बोधन गर्न यो पार्क पहिलो खुड्किलो बन्न सक्छ ।

५. अवसरको सहर

अहिलेको अवस्थामा एउटा नागरिकका निम्ति काम गर्ने वातावरण निकै जटिल छ । यहाँ एउटा कम्पनी दर्ता गर्नेदेखि लिएर, आफूले आर्जन गरेको आयको कर तिर्नसमेत गाह्रो छ । व्यवसाय बिमाको झन्झटिलो प्रक्रियाले लगानी गर्ने वातावरण बनेको छैन । अझै पनि बन्द हड्ताल तथा राजनीतिक हस्तक्षेपले उद्यमीहरू आजित छन् । काठमाडौँमा अवसर त छ तर वातावरण छैन । त्यसैले अब काठमाडौँलाई अवसरको सहर बनाउन वातावरण निर्माण गर्नुपर्छ । एक घन्टामै व्यवसाय दर्ता गर्न सकिने तथा नचलेका व्यवसायलाई पनि सजिलै बन्द गर्न मिल्ने व्यवस्थाबाट अवसरको सहरको यात्रा थालनी हुनेछ । ऊर्जावान् र रचनात्मक उद्यमीलाई विशेष कर छुटको व्यवस्था हुनु जरुरी छ । जसले गर्दा काठमाडौँ काम गर्न आफ्नो पसिना खन्याउन प्रेरित गर्ने सहर बन्न सकोस् ।

काठमाडौँमा मध्यरातसम्म व्यवसाय सञ्चालन गर्न सुरक्षित वातावरण निर्माण गर्ने र त्यसका लागि सहज–सुलभ–समयमै चल्ने सार्वजनिक यातायात व्यवस्थाको सुनिश्चितता आवश्यक छ । नगर प्रहरीले हरेक बाटामा रहेका सिसिटिभीमार्फत निगरानी गर्दै शान्ति सुरक्षामा खलल पुर्‍याउनेमाथि कडा कारबाही गर्न आवश्यक छ । काठमाडौँलाई निःशुल्क वाईफाई सहर बनाउन सकिन्छ । 

काठमाडौँले उद्यम गर्छु भन्नेहरूलाई सरकारले सहयोग गर्छ भन्ने स्पष्ट सन्देश दिन सक्यो भने काठमाडौँ नयाँ व्यावसायिक हब बन्न सक्छ । त्यसका निम्ति, काठमाडौँ महानगरले नै विशेष कार्यक्रम ल्याएर ‘स्टार्ट अप’लाई प्रोत्साहन गर्न विभिन्न तहमा कार्यक्रम सञ्चालन किन नगर्ने ? लगानीसहित सहयोग गर्दै वर्षमा कम्तीमा २५ वटा आइडियालाई महानगरले फन्डिङ गर्ने नीति अख्तियार गर्न केले रोकेको छ ? सयजनाभन्दा बढीलाई रोजगारी दिने वा त्यस्तो योजना प्रस्तुत गर्ने कम्पनीलाई सुरुका पाँच वर्ष कर मिनाह गर्न कसले रोकेको छ ? नागरिकलाई व्यवसाय गर्दा लाग्ने चर्को ब्याजदर घटाएर पाँच प्रतिशतभन्दा तल झार्न पहल गर्न केले रोकेको छ ? यति गर्न सके मात्र, म्यानपावर कम्पनी र डिभी भर्ने अनि भराउने व्यवसाय घट्नेछ अनि नेपालीहरू आफ्नै सहरमा उद्यमी बन्नेछन् ।

६. यात्रु र युवामैत्री सहर

कामपाको जनघनत्व अन्दाजी २० हजार व्यक्ति प्रतिवर्ग किलोमिटर भएकाले यस सहरलाई पैदल यात्रुमैत्री बनाउन आवश्यक छ । अन्दाजी ८ किमि व्यासमा फैलिएको हुनाले हरेक ठाउँ साइकल यात्रा गरेर पुग्न सकिन्छ । काठमाडौँमा धेरै व्यक्ति रहेको हुनाले पर्याप्त मात्रामा खुला स्थानको विकास गर्न आवश्यक छ ताकि सो क्षेत्रले सामाजिक सम्बन्ध मजबुत पार्न सकियोस्, नागरिक स्वस्थ रहन सकून् । साथै, ती स्थानले विपत्का वेला आश्रयस्थलका रूपमा समेत काम गरून् ।

काठमाडौँलाई हिँड्न मिल्ने तथा फरक क्षमता भएकाले पनि प्रयोग गर्न मिल्ने सहरको रूपमा विकास गरिनुपर्छ । सडकको हकमा सडकपेटीको व्यवस्थापन र स्थानीय पार्कको मर्मत गर्न ढिलो भइसकेको छ । एक वर्षमा तीनपटकसम्म गम्भीर ट्राफिक नियम उल्लंघन गर्नेको एक वर्षका लागि लाइसेन्स रद्द गर्ने र पुलिस निगरानीमा सय घन्टा सामुदायिक सेवा अनिवार्य गराउन सके हाम्रो सहर–सडक थप व्यवस्थित हुनेछ । साथै, महिलामैत्री निःशुल्क पाँच सयवटा महानगर बस महानगरले नै सञ्चालन गरेर काठमाडौँवासीलाई निजी सवारी साधनभन्दा सार्वजनिक सवारीमा आकर्षण गर्दै सुविधा दिने विषय पनि असम्भव छैन ।

काठमाडौँलाई युवामैत्री सहरका रूपमा पनि परिचित गराउन सकिन्छ । युवाका निम्ति पर्याप्त खेल्ने स्थान, प्रत्येक स्कुलमा पर्याप्त खेलमैदान भएपछि मात्र अनुमति पाउने नीति लागू गर्न जरुरी छ । विद्यालयको सो मैदानमा समुदायको संरक्षणमा स्कुलपछि पनि युवाहरू खेल्न पाउने नीति लागू गर्न सकिन्छ । साथै, प्रत्येक वडाले एउटा पुस्तकालय अनिवार्य सञ्चालन गर्नुपर्ने नीतिले स्थानीयमा पढ्ने संस्कारको विकास हुने थियो ।

अन्त्यमा, देशको केन्द्रले ‘डेलिभरी’ गर्ने राजनीति खोज्दै छ । विगत पाँच वर्षले पुराना पार्टी र तिनै नेताले ‘डेलिभर’ गर्न सक्दैनन् भनेर पुनः प्रमाणित गरिसकेको छ । नेतृत्वको काम भनेको समाधानको प्रतिनिधित्व गर्नु हो । अब काठमाडौँको नेतृत्वले पूरै देशलाई ऊर्जा प्रदान गर्न सक्नुपर्छ । काठमाडौँको ऊर्जाले नै देशलाई तरंगित गरेर प्रगतिको बाटोमा लानु छ । त्यसैले अबको नयाँ राजनीतिक यात्रा काठमाडौँलगायत सहरहरूबाट नयाँ नेताहरूको नेतृत्वमा सुरु गर्नुको विकल्प छैन । नेपालको राजनीतिमा भोट दिने, पछुताउने अनि फेरि त्यसैलाई भोट दिने चक्र दोहोरिइरहेको छ । यदि यही चक्र दोहोरिइरहने हो भने फरक नतिजा आउन सक्दैन । फरक नतिजाका लागि अब यो चक्र तोडिन जरुरी छ । अघिल्लोचोटि रन्जु दर्शना र किशोर थापालाई जिताउन सकेको भए काठमाडौँले ‘डेलिभरी’को राजनीति पाउने थियो । नेपालको राजनीति नयाँ युगमा प्रवेश गर्ने थियो । हामी सबै चुक्यौँ । आशा छ, काठमाडौँले यसपालि त्यो हारको बदला पक्कै लिनेछ ।