मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
२o८१ चैत १६ शनिबार १४:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार हत्या र सञ्चार-गृहमाथिको आक्रमणको पत्रकार महासंघ मकवानपुरद्वारा विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार १४:३२:oo

शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरले विरोधसभाको आयोजना गरेको छ। 

महासंघ मकवानपुरको आयोजनामा हेटौँडा-२, पल्पसा हलबाट  र्‍यालीसहित सीमाचोकमा पुगेर विरोधसभा गरेको थियो। समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा मकवानपुरका पत्रकारहरू आन्दोलित भएका हुन्। 

हेटौँडाको पल्पसा-सभागृहबाट सुरु भएको पत्रकारहरूको प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सीमाचोकमा पुगेर  विरोधसभामा परिणत भएको थियो ।

महासंघको स्थापना दिवसकै दिन पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण नियोजित रूपमा भएको बताए। 

उनले नागरिक समाजको अगणी संस्थाको रूपमा रहेको पत्रकार महासंघ राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधि सदैव विरोधमा रहेको बताए। उनका अनुसार पूर्वराजाले शासनकालमा जस्तै आम नागरिक र सञ्चारमाध्यम कथित राजावादीको निशानामा परेको हो। 

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले संविधानको व्यवस्थाअनुसार शासन सत्ताको नेतृत्व लिन राजावादीलाई आग्रह गरे। उनले आमनागरिकजस्तै पुर्वराजालाई पनि चुनाव लड्ने र शासन गर्ने अधिकार रहेकाले हिंसात्मक गतिविधि त्यागेर व्यवस्थाअनुसारको प्रक्रियामा सहभागी हुन आह्वान गरे। पत्रकार, सञ्चार-गृह र आमनागरिकका सम्पत्तिमाथिको आक्रमण गर्न बन्द गर्ने राजनीतिक दलहरूलाई आग्रह गरे। 

कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल, गैरसरकारी संस्था महासंघकी आरती पाठकलगायत नागरिक समाजका प्रतिनिधिले पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कार्बाहीको माग गरेका छन्।

शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए। उनको त्यही जलेर मृत्यु भएको थियो।