१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ४ आइतबार २०:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिलटप जुनार र रानीपोखरी सहकारी मर्जरमा, अध्यक्षमा घिमिरे  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ४ आइतबार २०:०४:००

काठमाडौंको तिनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र भोटाहिटीस्थित रानीपोखरी बचत तथा ऋण सहकारी संस्था मर्जरमा गएका छन्। दुवै संस्थाका सेयर सदस्यहरूको उपस्थितिमा शनिबार राजधानीमा भएको साधारणसभाबाट एकीकरण प्रस्ताव सर्वसम्मत पारित भएको छ। 

एकीकरणपछि हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाकै नामबाट कारोबार हुने भएको छ। रानीपोखरी बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज हुनेछ। संस्था सञ्चालनका लागि विनियम, आन्तरिक नीति तथा कार्यविधिहरू हिलटप जुनारकै लागू हुने प्रबन्ध सञ्चालक सुमन थापाले बताए। रानीपोखरी सहकारीको भोटाहिटीस्थित कार्यालय हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछ। सहकारीले अब सिन्धुली जिल्लामा समेत सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ।

दुई संस्था एकीकरणपश्चात् सहकारी संस्थाको सदस्य संख्या दुई हजार नौ सय १० पुगेको छ। संस्थामा संलग्न सदस्यहरूको कुल सेयर पुँजी चार करोड ९५ लाख पुगेको छ। संस्थामा सदस्यहरूले गरेको बचत रकम २६ करोड १६ लाख, जगेडा कोष तीन करोड ३९ हजारसहित ४९ करोड ३६ लाख संस्थाको कुल सम्पत्ति पुगेको छ। उक्त सम्पत्तिमध्ये ४० करोड ११ लाख रुपैयाँ सदस्यहरूलाई ऋणका रूपमा परिचालन गरिएको कुरा संस्थाका प्रबन्ध सञ्चालक थापाले प्रस्तुत गर्नुभएको वित्तीय प्रतिवेदनमा उल्लेख छ।

आजै संस्थाले आगामी चार वर्षका लागि वासुदेव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। त्यस्तै, उपाध्यक्ष देवी खड्का, सचिव सागरप्रसाद बख्रेल, कोषाध्यक्षमा अर्जुन कार्की तथा सदस्यहरूमा सुमनविक्रम थापा, किरण मोक्तान, विष्णुबहादुर राउत, ऋषिराम गर्तौला र द्वारिकाप्रसाद खतिवडा निर्वाचित भएका छन्। त्यस्तै, लेखा सुपरिवेक्षण समितिमा डा. केशवप्रसाद श्रेष्ठको संयोजकत्वमा अंगबहादुर खड्का र नवीनकुमार तण्डुकार निर्वाचित भएका छन्।