वृद्धावस्थामा पुगेपछि मात्र अर्ती–उपदेश बाँड्नुपर्छ भन्ने हो भने बिपी कोइराला राजनीतिका सिद्धान्तकार र साहित्यकार बन्ने थिएनन्
कांग्रेस युवा नेता विश्वप्रकाश शर्माले केहीअघि एउटा कार्यक्रममा बोल्दै पार्टीलाई पद्धतिबद्ध तरिकाले चलाउनुपर्नेबारे चर्चा गरे । उनले कांग्रेस पार्टीको एउटा नेता मुलुकको राजकीय पदमा कति अवधिसम्म आसीन हुन पाउने भन्ने सम्बन्धमा सीमा तोक्नु मनासिब हुने विषय उठान गरे । विश्वप्रकाशको मन्तव्यलाई ध्यानपूर्वक सुनिरहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शर्माको अभिव्यक्तिप्रति लक्षित गर्दै भने– ‘बुढापाकालाई अर्ती दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो ।’
आफूले अध्ययन, अवलोकन र अनुभवबाट प्राप्त गरेका असल र हितकारी ज्ञानलाई सुझाव या उपदेशका रूपमा अन्य व्यक्तिसामु पुर्याउने कामलाई अर्ती भनिन्छ । असल कुराको अर्ती उपदेश दिनका लागि वृद्धावस्था कुरेर बस्नु आवश्यक छैन । त्यस्तो प्रवृत्तिलाई आत्मसात् गरेको भए न सिद्धार्थ गौतम बुद्ध बन्थे न विवेकानन्द विद्वान् वक्ता नै । वृद्धावस्थामा पुगेपछि मात्र ज्ञानगुनका कुरा गर्नुपर्छ भन्ने सोचेको भए बिपी कोइराला राजनीतिका सिद्धान्तकार र साहित्यकार बन्ने थिएनन् ।
बुढेसकाल लागेपछि कविता लेख्नुपर्ला भनेर बसेको भए न लक्ष्मीप्रसाद देवकोटा महाकवि कहलिन्थे न त माधव घिमिरे राष्ट्रकवि नै । परन्तु यहाँ कांग्रेसको उच्चतम नेतृत्वबाट उचित सुझावलाई मनन गर्नुको बदला खारेज गर्ने काम भयो । मौकामा बोल्न र भन्न सक्ने प्रगल्भता र चातुर्य भएका आफ्नै पार्टीका युवालाई हतोत्साहित गर्ने काम नेपाली कांग्रेसमा मात्र नभई प्रायः अन्य साना–ठूला सबै दलमा भइरहेको छ ।
विश्वप्रकाश शर्माले आफ्नो उमेरको पाँच दशक पूरा गरिसके । देउवाको मापदण्डअनुसार विश्वप्रकाश कहिले बूढो हुने र कहिले कसलाई अर्ती दिने ? यो कांग्रेसी नेताले आफ्ना बफादारमाथि गरेको अनुचित र अलोकतान्त्रिक उपहास हो । यो पेलान र दूराग्रह वर्तमान राजनीतिक परिस्थितिको ज्वलन्त प्रतिनिधि उदाहरण हो । यहाँ प्रधानमन्त्री देउवालाई फिनल्यान्डमा विश्वप्रकाशभन्दा डेढ दशक कान्छी ३४ वर्षीया सान्ना मारिन प्रधानमन्त्री चुनिएको र त्यो देशका वयोवृद्धहरू युवा प्रधानमन्त्रीको अर्ती सुन्न उत्सुक रहने गरेको हेक्का दिलाउनु प्रासंगिक हुनेछ ।
लामो समयदेखि कांग्रेसलाई बोकिरहेको रूख छिप्पिएर र अरर्रिएर जर्कटो भएको छ । यसमा सवार पुराना यात्रीहरू अररो, अटेर र जिद्दी स्वभावका छन् । यिनीहरू कसैको कुरो नसुन्ने जिराहा स्वभावका छन् र ठिक–बेठिकको पत्तो नपाउने अवस्थामा छन् । अहिले कांग्रेस राम्रोसँग खनजोत हुन नसकेको कारण उर्वरा शक्ति गुमाएको रुखो भूमिजस्तै भएको छ । कांग्रेस लौहपुरुषको अभावमा ल्याकत गुमाएको मैदानजस्तै लोसो, जुम्सो र अल्छी भएको छ । शक्ति र सत्तामा हुनेले दाउ लाग्यो भनेर जुँगा मुसारे पनि आज कांग्रेसलाई दशा लागेको छ ।
यस्तो परिस्थितिमा पनि हाल राजधानीमा जारी महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसको जीर्ण वृक्षमा युवा राजनीतिकर्मीरूपी पालुवाहरू पलाएका छन् । कांग्रेसजस्तो पुरानो र वृद्धहरूको हालीमुहाली चलिरहेको पार्टीका लागि यो शुभ संकेत हो । परन्तु यी नवपालुवाहरू स्वतन्त्र रूपमा पुष्पित र फलित हुन पाउने हुन् कि किनाराका साक्षी हुन मात्र प्रेरित गरिने हुन् ? युवा सहभागिता र सफलतालाई नियालेर मनन गर्दा यिनीहरू भविष्यका असल कांग्रेस हुनकै लागि पल्लवित भएको आभास हुन्छ । किन्तु टोल छिमेकमा सीमित समुदायबाट बृहत् र विस्तारित दायरामा प्रवेश गरेका यिनले अनेक तरहका कुरा देख्ने र थाहा पाउनेछन् ।
कांग्रेसी राजनीतिको पदयात्रामा निस्केका सुशील, विनयी, शालीन र निःस्वार्थ युवा ‘अजामिल’हरूलाई यात्रापथमा कस्ता दृश्य देखाउने र कुन बाटो हिँडाउने भन्ने ‘सिनियर’ कांग्रेसीहरूकै हातमा निर्भर छ
यिनीहरूले राजनीतिमा झाँगिँदै गएको उद्दण्ड प्रवृत्तिको अवलोकन गर्नेछन् । यी नवपालुवाले राजनीतिले कस्ता मानिसलाई सुख, सम्पत्ति र सम्मान दिइरहेको छ भन्ने दृश्य राम्रोसँग देख्नेछन् । राजनीतिक यात्राको सिलसिलामा असल र खराब दुवै प्रकारका बिसौनीको सामना हुनेछ । त्यही यात्राका क्रममा सम्मोहित भएर मोजमज्जाको विलासी भवनमा छिर्ने कि अटल भएर सम्यक कर्तव्य मार्गमा सरिक हुने कुराको निर्धारण हुनेछ ।
श्रीमद्भागवतमा ‘अजामिलोपाख्यान’ शीर्षकमा एउटा कथा छ । अत्यन्त प्राचीन समयको कुरा हो, कान्यकुब्ज नगरमा अजामिल नाम गरेको युवक बस्थ्यो । अजामिल शीलवान, कर्तव्यनिष्ठ र सदाचारी थियो । ऊ विनयी, सत्यवादी, जितेन्द्रिय र पवित्र व्यक्ति थियो । एक दिनको कुरा हो, उपकारी, अहंकारहीन र पवित्र भावनाले ओतप्रोत अजामिल पूजाको सामग्री लिएर घरतर्फ आउँदै थियो । बाटामा हिँड्दाहिँड्दै उसले सहसा सार्वजनिक स्थानमै युवक र युवतीको जोडी कामक्रिडामा लिप्त भइरहेको देख्यो । उसले त्यो क्रियाकलापलाई नहेर्ने प्रयत्न गरिरह्यो । परन्तु चञ्चल चित्त बलात् त्यसैतर्फ प्रवृत्त भइरह्यो । उसलाई त्यो कामक्रिडा हेर्दा बडो आनन्द प्राप्त हुन थाल्यो । सजिलै देख्ने किसिमले वनकुञ्जमा गरिएको त्यो गतिविधिबाट बबुरो अजामिल उदासीन रहन सकेन । कामोत्तेजनाले पीडित ऊ आफ्नो वासनापूर्तिका लागि चोर, लुटेरा र नामुद जुवाडे बन्न पुग्यो । आफ्नो आयुको अठासी वर्ष पार गर्दासम्म पनि निरन्तर भ्रष्टतामा निमग्न भइरह्यो अजामिल ।
यो कथा सदाचार र कदाचारबीचको संघर्षको बिम्ब हो । असल मानिस पनि खराब परिस्थिति र कुसंगतले दुराचारी र अनाचारी बन्न सक्छ । यात्रामा भेटिने अनेकौँ बिसौनी सदाचार र नैतिकताका प्रेरणादायी स्रोत हुन सक्छन् । परन्तु कतिपय बिसौनीले आमोदप्रमोद, वासना र कदाचारको मार्गमा प्रवृत्त हुन प्रेरित गर्छन् ।
वर्तमान कांग्रेसी राजनीतिको पदयात्रामा निस्केका ती सुशील, विनयी, शालीन र निःस्वार्थ अजामिलहरूलाई यात्रापथमा कस्तो दृश्य देखाउने भन्ने कुरा सिनियर कांग्रेसहरूकै हातमा छ । नवपालुवा लागेका हाँगा र डालीमा कस्ता फूल फुलाउने भन्ने अभिभारा पनि अगुवा कांग्रेसहरूकै काँधमा छ । आजको वर्तमानले भरोसायोग्य भोलिको संकेत गरिरहेको छैन । परन्तु सम्पूर्ण रूपमा आशा मारेर न त सामाजिक जीवन चल्छ न त राजनीतिक जीवन नै ।
कांग्रेसका वयोवृद्ध नेता रामचन्द्र पौडेल भन्छन्, ‘विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो । सैद्धान्तिक स्पष्टता र ऊर्जाशील प्रस्तुति तन्नेरी कांग्रेसको निश्छल चरित्र हुनुपर्छ ।’ आहा ! कति सुस्वादु, सुशोभित र शालीन कथन ! किन्तु उनले यो प्रशंसनीय उद्गारभित्र एउटा झनै सुन्दर सुवचन राख्न नियतपूर्वक छुटाए । त्यो हो, ‘अब कांग्रेस पार्टीको नेतृत्व युवामा जानेछ । हामी वयोवृद्धहरू अनासक्त सल्लाहकार बनी अर्ती दिएर बस्नेछौँ ।’
नेपालको राष्ट्रिय युवा नीतिले सोह्रदेखि चालीस वर्षभित्रको जनसंख्यालाई युवा भनेर परिभाषित गरेको छ । यो उमेर समूह नेपालको कुल जनसंख्याको चालीस प्रतिशतभन्दा बढी हुन आउँछ । यही उमेर हो, सिर्जनशीलता र साहसको । यही उमेरमा हो इमान र सदाचारको महत्वलाई आत्मसात् गर्ने । यही उमेरमा हो समुदायको स्वार्थसामु व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिने । व्यक्तिगत सुबिस्ता र समुन्नति मात्र चाहने हो भने राजनीतिको मार्गमा यात्रा गर्नुहुँदैन भन्ने महसुस गर्ने पुनीत उमेर पनि यही नै हो ।
परन्तु आफ्नो घर परिवार र गृहस्थीतर्फ आसक्त नभई सामुदायिक हितलाई मात्र प्राथमिकता प्रदान गर्न ठूलै उत्सर्गको दरकार पर्छ । प्राणभन्दा प्यारो लाग्ने धन र परिवारप्रतिको स्नेहबन्धन दुर्लंघ्य छ । दुनियाँदारीको प्रेयमार्गको परित्याग गरेर सामुदायिक उन्नयनको श्रेयमार्गको अवलम्बन कसरी गर्ने ? उचित र अनुचितको निक्र्योल गरी सम्यक मध्यमार्गको पहिचान कसरी गर्ने ? आफ्नो र पराइको भेदभावबाट कसरी मुक्त हुने ? यी सबै कुराको समुचित ज्ञान दिनका लागि कसले प्रशिक्षण दिने ? कांग्रेसको मूल नेतृत्व यी सबै कुराबाट बेखबर कानमा तेल हालेर चैनको निद सुतिरहेको प्रतीत हुन्छ ।
जनताको आकांक्षा र वास्तविकताबीचको अपूरणीय खाडल देखेर युवा कांग्रेसी कहालिने छन् । यस वास्तविकतालाई समग्र कांग्रेसी समाजले आत्मसात् र महसुस गर्नु अत्यन्तै आवश्यक छ । समाजमा प्रवाहवान् स्वार्थमय सांस्कृतिक धाराको उपचारबारे सुनिश्चित नभई नयाँ मार्गको अनुसरण गर्न र गराउन सहज छैन । अलोकतान्त्रिक गलाबाट निःसृत लोकतान्त्रिक गाना सुन्दा सुमधुर लागे पनि फलदायी हुने छैन । (खनाल नेपाल सरकारका पूर्वसहसचिव हुन्)