मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर २७ सोमबार १०:४१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पठनपाठन सुरु

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २७ सोमबार १०:४१:००

राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भूमिका महŒवपूर्ण रहेको बताएकी छन् । प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस)को पठनपाठनको आइतबार औपचारिक शुभारम्भ गर्दै उनले रोग र भोकको उपनाम पाएको कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेकाले देशलाई नै दक्ष जनशक्ति पठाउने अपेक्षा व्यक्त गरिन् ।

स्थापनाको एक दशकपछि प्रतिष्ठानले एमबिबिएसको पठनपाठन सुरु गरेको छ । एमबिबिएस अध्ययनका लागि १९ मंसिरदेखि परामर्श सुरु भएको थियो । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ०६८ मा जुम्लामा प्रतिष्ठान स्थापना गरेको थियो । कर्णालीजस्तो दुर्गम क्षेत्रका महिलाहरूले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै राष्ट्रपति उत्थान कार्यक्रम सुरु गरे पनि विशेषज्ञ खालको उपचार र अनुसन्धान जुम्लामै सुरु भएकाले जटिल रोगको उपचार कर्णाली स्वास्थ्य प्रतिष्ठानमै हुने विश्वास व्यक्त गरिन् । ‘चिकित्सा शिक्षा अध्ययनका लागि बिदेसिने जनशक्तिलाई प्रतिष्ठानले रोकेको छ । ग्रामीण स्वास्थ्य सेवाको उत्कृष्ट उदाहरण बनेको कर्णाली प्रतिष्ठान राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मै पहिचान बनाउन सफल छ । एमबिबिएस कार्यक्रम सफल बनाउन, प्रतिष्ठानको वृद्धि विकास गर्न राज्यको थप लगानी आवश्यक छ,’ उनले भनिन् ।

चाँडै पिएचडी कार्यक्रम सुरु गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कुनै वेला शवको पोस्टमार्टम गर्न र सामान्य उपचारका लागि डाक्टर खोज्नुपर्ने कर्णालीवासीले अब डाक्टर रोजीरोजी उपचार गराउन पाउने बताए । ‘कुनै समय सिटामोेल नपाएर मृत्युवरण गर्ने कर्णालीले अब बिरामी रेफर नभई विशषज्ञ डाक्टर दिनेछ । गाउँगाउँमा सेता एप्रोनधारी विशेषज्ञ चिकित्सक पठाउनेछाैँ,’ उनले भने, ‘प्रतिष्ठानकै माध्यमबाट रोग, भोक र शोकको उपनाम पाएको कर्णालीको परिचय बदल्ने अठोट छ । निकट भविष्यमै पिएचडी कार्यक्रम पनि सुरु गर्ने लक्ष्य छ ।’ प्रतिष्ठानले उत्पादित जनशक्तिलाई देश र जनताप्रति जिम्मेवार हुने, दुर्गमको सेवाप्रति जिम्मेवार हुने शिक्षा प्रदान गर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रतिष्ठान स्थापना गरी एमबिबिएस पढाइ सुरु गरेर राज्यलाई नै कर्णालीले चुनौती दिएको बताए । रोग, भोकले ग्रसित कर्णालीमा पछिल्लो समय स्वाथ्य सेवाका हिसाबले कर्णाली प्रतिष्ठान देशकै भरोसा केन्द्रका रूपमा स्थापित भएकाले यसको दिगो विकासमा संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कर्णाली प्रतिष्ठान स्थापनाले बिरामीलाई महँगो खर्चमा जहाज चार्टर गरेर सुर्खेत, नेपालगन्ज काठमाडौं लैजानुपर्ने बाध्यताको अन्त्य गरेको उल्लेख गरे । प्रतिष्ठानको वृद्धि विकासमा मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले लामो प्रयासपछि जुम्लामा एमबिबिएस सञ्चालन भएकाले कर्णाली स्वास्थ्य सेवाका हिसाबले सक्षम बनेको भन्दै खुसी व्यक्त गरे । प्रतिष्ठानले एमबिबिएस कोटामा २० सिट अध्यापनको अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगको गत २९ जेठको बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो ।