मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Tuesday, 17 December, 2024
२o७८ मङ्सिर २३ बिहीबार १९:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङको प्रवेशद्वार पाउँदीमा छैन हेल्थ डेक्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार १९:५o:oo

छिमेकी मुलुकसहित विभिन्न देशमा ओमिक्रोन संक्रमितको संख्या बढेपछि ओमिक्रोनबाट सुरक्षित हुने भन्दै लमजुङ भित्रनेको संख्या दिनानुदिन बढिरहेको छ । ओमिक्रोन संक्रमितस्थलबाट सीधै घर गएपछि समुदायमा कोरोना फैलने जोखिम पनि त्यत्तिकै बढेको छ । लमजुङमा स्वास्थ्य सुरक्षाबिना आवतजावतमा खुला गरिएको छ । 

ओमिक्रोन  संक्रमणको जोखिम ठाउँबाट आएका नागरिकको स्वास्थ्य परीक्षण नगरी जिल्ला प्रवेश गर्न दिइएको छ । जिल्ला भित्रने नाका पाउँदी, दुईपिप्ले, रामबजार कुनै पनि ठाउँमा चेकजाँच गरिएको छैन । देशका विभिन्न जिल्लामा संक्रमित बढ्न नदिन कडाइ गरिएका वेला लमजुङमा भने ओमिक्रोनको जोखिम ठाउँबाट आएका नागरिकलाई स्वास्थ्य सुरक्षाविना प्रवेश दिइएको हो । 

सुन्दरबजार नगरपालिका– ७ पाउँदीबजारका लक्ष्मीप्रसाद मिश्रले जिल्ला प्रवेश गर्नेको संख्या बढेको र उनीहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी जिल्ला भित्रिँदा जोखिम बढ्ने बताए । उनले भने सवारीसाधनमा समेत भौतिक दुरी कायम गरिएको छैन भने मास्क पनि केहीले मात्र प्रयोग गर्ने गर्छन् । मिश्रले स्थानीय तहले स्वास्थ्य परीक्षण गरेर मात्र घरमा जान दिए संक्रमण गाउँगाउँमा पुग्ने थिएन ।

बेँसीसहर नगरपालिका– ८ सेराकी अनिता पौडेलले बाहिरी जिल्लाबाट आउनेको स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गराए ओमिक्रोन जोखिम गाउँगाउँमा पुग्ने थिएन । जोखिमयुक्त ठाउँबाट आएका मानिसहरूले यात्रा गरेको सवारीमा सामाजिक तथा भौतिक दुरी कायम गरेको पाइँदैन लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

उनले भने, ‘जिल्ला प्रवेशमा रोक लगाउन आदेश नआएकाले कुनै रोकथाम नगरिएको हो ।’ कतिपय यात्रु तथा चालक मास्कबिना आउजाउ गरेकाले मास्क लगाएर मात्रै हिँड्न प्रहरीले आग्रह गरेको डिएसपी कार्कीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्ला प्रवेशमा कसैलाई रोक नलगाएको बताए । 

ओमिक्रोन भेरियन्ट छिमेकी मुलुक भारतसहित नेपालमा पनि दुईजनामा देखिएको छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि लमजुङको प्रवेशद्वार पाउँदीलगायत जिल्लाको विभिन्न ठाउँमा हेल्थ डेक्स राखिएको थियो ।  बेँसीसहरका विपिन श्रेष्ठले प्रशासनिक लापरबाहीले यहाँ पनि ओमिक्रोन फैलिने त्रास बढेको बताए । ‘प्रशासनले सबै तयारी गरेको बताए पनि स्वास्थ्य मापदण्ड नै अपनाउन सकेको छैन,’ उनले भने, ‘भारतका विभिन्न प्रान्तमा काम गरेर फर्केका शंकास्पद मानिसको स्वास्थ्य परीक्षण नै गरिंँदैन ।’ 

दोस्रो चरणको कोरोना संक्रमणबाट जिल्लामा ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । त्यस अवधिमा २ हजार ९ सय ७० जना कोरोना संक्रमित भएका थिए । हाल कोरोनाका १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । 


देशमा ओमिक्रोनको जोखिम बढ्नासाथ जिल्लाका विभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना गरिने प्रमुख जिल्ला अधिकारी वैद्यले बताए । उनले भने, ‘विभिन्न संघसंस्थामार्फत क्वारेन्टाइनका लागि अस्थायी क्याम्प राख्नेबारे छलफल  गरिनेछ ।’