युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठकाे हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा र २८ वर्षीय हेमन्त श्रेष्ठलाई पक्राउ गरेको हो। मंगलबार साँझ ८ बजे मध्यपुर थिमिस्थित हनुमन्ते खोलाको फलामे पुलमा लगेर काठको फर्माले हिर्काएका थिए।
गम्भीर घाइते श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो। घटनामा संलग्न हेमन्तलाई बुधबार बिहान नयाँ थिमिस्थित मध्यपुर अस्पताल नजिकैबाट र विश्वकर्मालाई बुधबार बिहान काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो। उनीहरूलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ।
यसरी भयो घट्ना ?
मंगलबार साँझ ८ बजेतिरको कुरा हो, गठ्ठाघरस्थित बर्गर हाउसमा राजन श्रेष्ठ र हेमन्त श्रेष्ठसँगै थिए। उनीहरूले त्यहाँ चिया खाए। केहीबेर चिया खाँदै गफ गरेपछि हेमन्तले राजनलाई सल्लाह छ भन्दै हनुमन्ते खोला पारी जान आग्रह गरे। ‘दाइले पैसा लिएर आएको र उक्त पैसा दिन्छौँ,’ हेमन्तले राजनलाई भनेका थिए । त्यसपछि राजन मोटरसाइकलमा बसे। त्यहाँबाट हेमन्तले उनलाई फलामे पुलसम्म लगे। मोटरसाइकल त्यही रोके।
कुराकानी गर्दै हेमन्त र राजन बालकोट जाने बाटोतर्फ पैदल हिँडिरहेका थिए। दाइ केही पर बसेको भन्दै हेमन्तले राजनलाई हिँड्दै जाने भनेका थिए। उनीहरू हिँडिरहेका थिए। त्यही वेला प्रेम विश्वकर्माले लुकेर आएर राजनको टाउकोमा काठको फर्मा प्रहार गरे। राजन भुइँमा लडे। त्यसपछि उनीहरूले राजनको टाउकोमा पटकपटक हानेको प्रहरीको भनाइ छ। घटना साँझको समयमा भएकोले स्थानीय वासिन्दाले थाहा पाएर प्रहरीलाई तत्कालै खबर गरेका थिए।