हुम्ला जिल्लाको मध्ये भेगमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सर्केगार्डबाट नागरिकता वितरण सुरु भएको छ। ०७३ सालमा इलाका प्रशासन कार्यालय स्थापना गरिए पनि नागरिकता दिने आधिकारिक व्यक्ति नहुँदा सेवाग्राहीलाई सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता थियो ।
इलाका प्रशासन कार्यालयको प्रमुख जिम्मेवारी भीमबहादुर रोकायालाई दिएसँगै चार गाउँपालिकाका स्थानीयहरूले इलाका प्रशासन कार्यालय सर्केगार्डबाटै सेवा पाएका हुन् । इलाका प्रशासन कार्यालयका अधिकृत रोकायाका अनुसार इलाका प्रशासन कार्यालयबाटै प्रिन्ट नागरिकता वितरण हुन थालेको हो ।
मंसिर महिनादेखि प्रिन्ट नागरिकता वितरण गर्न थालेको उनले बताए । डिजिटल रूपमा प्रिन्ट गरिएका ३७ वटा र आठवटा प्रतिलिपि वितरण गरिएको इलाका प्रशासनका अधिकृत रोकायाले बताए ।
कार्यालयबाटै नागरिकता पाउन थालेपछि जिल्लाका ताजाकोेट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकाका नागरिकलाई राहत महसुस गर्न थालेका छन् ।
यसअघि हुम्लाका नागरिक नागरिकता लिनका लागि सदरमुकाम सिमकोटसम्मकाे चार दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यतामा थिए ।