ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सेवा सुरु
गरेको छ ।
बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाई गरी एक दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकहरूले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय इ–कमर्स प्लेटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम पाँच सय अमेरिकी डलरबराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् ।
डलर कार्ड प्राप्त गर्नका लागि केवाइसी विवरण अपडेट गरिएको बैंक खातासँगै प्यान कार्ड पनि हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्कबापत पनि निश्चित रकम लिनेछ र पहिलोपटक डलर कार्ड लोड गर्दा निःशुल्क हुने व्यवस्था गरेको बैंकले जनाएको छ ।