टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
कृष्ण गहतराज
२०७८ मङ्सिर १७ शुक्रबार ०८:४५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अपांगता : अवधारणा बृहत्, बुझाइ साँघुरो

Read Time : > 3 मिनेट
कृष्ण गहतराज
२०७८ मङ्सिर १७ शुक्रबार ०८:४५:००

अपांगता व्यक्तिमा रहेको दीर्घकालीन अशक्तता नभई विभिन्न अवरोधसँग अन्तक्र्रिया हुँदा सिर्जना हुने बहिष्करण, दमन, विभेद र उत्पीडनको अवस्था हो 


अपांगता एक बृहत् अवधारणा हो । जटिल, गतिशील, बहुआयामिक र प्रतिस्पर्धी अवधारणा हो । अपांगता सजातीय मानिसहरूको समूह होइन, विजातीय मानिसहरूको समूह हो । मानिसले आफ्नो जीवनको कुनै पनि कालखण्डमा अस्थायी वा स्थायी प्रकारको अपांगता भोग्न सक्ने सम्भावना सधैँ हुन्छ । अपांगता भएका व्यक्तिमा पनि विविधता छ । कतिपय अपांगताको पहिचान आँखाले हेरेर सजिलै गर्न सकिन्छ, कतिपयको सकिँदैन । कतिपय जन्मजात अपांगता भएर जन्मिएका हुन्छन्, कतिपय जन्मिसकेपश्चात् विविध कारणले अपांगता भएका हुन्छन् । यस प्रकारको विविधतालाई आत्मसात् गर्दै सम्मान गर्नु नै मानवअधिकारको प्रत्याभूति गर्नु हो । 

अन्य सामाजिक आन्दोलनहरू जस्तै विश्व अपांगता आन्दोलनको इतिहास पनि निकै लामो छ । अपांगताको अवधारणा र यसको सैद्धान्तिक तथा प्राज्ञिक दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ । यद्यपि, आममानिसको बुझाइ अपांगता सम्बन्धमा आज पनि पुरातन, रूढिग्रस्त, परम्परागत, सेवामुखी र पूर्ण रूपमा विभेदकारी छ । यस्ता व्यक्तिहरूलाई आम ‘मानिस’का रूपमा स्वीकार गर्न नसक्नु नै यसको प्रमुख अवरोध हो । दशकौँको आन्दोलनको परिणामस्वरूप नेपालमा अपांगता भएका व्यक्तिहरूको समान अधिकारका लागि व्यापक नीतिगत परिवर्तन त भए, तर आममानिसको दृष्टिकोणमा भने आजका दिनसम्म पनि खासै परिवर्तन आउन सकिरहेको छैन । 

अपांगताको अवधारणा : अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि २००६ विश्व अपांगता आन्दोलनको कोसेढुंगा हो । यो महासन्धिले अपांगताको आमबुझाइमा आमूल परिवर्तन गरेको छ । महासन्धिले अपांगतालाई मूलतः मानवीय विविधताको एक अंगका रूपमा स्विकारेको छ । अपांगतालाई एक परिवर्तनशील रूपमा उल्लेख गरेको छ । यो नै अपांगताप्रतिको नवीनतम अवधारणा हो । अपांगता स्थिर होइन, परिवर्तनशील अवस्था हो । अपांगता त शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता भएका मानिस र तिनको वरपरको वातावरण तथा सामाजिक अवरोधहरूको बीचमा अन्तरक्रिया हुँदा उत्पन्न हुने बहिष्करणको अवस्था हो । यस महासन्धिको धारा १ मा अपांगता भएको व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता भएका व्यक्तिहरूको विभिन्न प्रकारका (प्रवृत्तिगत, संस्थागत वा नीतिगत, वातावरणीय र सूचना तथा सञ्चारसम्बन्धी) अवरोधसँग अन्तरक्रिया हुँदा समाजमा अन्य व्यक्तिसरह समान र प्रभावकारी रूपमा सहभागी हुन बाधा सिर्जना हुने अवस्था हो ।

जसकारण अपांगता भएका व्यक्तिहरू स्वतः बहिष्करणमा पारिन्छन् । यसर्थ, अपांगता भनेको व्यक्तिमा रहेको दीर्घकालीन अशक्तता (शारीरिक, मानसिक, दृष्टिसम्बन्धी, बौद्धिक तथा इन्द्रियसम्बन्धी) नभई विभिन्न अवरोधहरूसँग अन्तरक्रिया हुँदा सिर्जना हुने बहिष्करण, दमन, विभेद र उत्पीडनको अवस्था हो । अपांगताको सामाजिक ढाँचाले यही अवधारणाको वकालत गर्छ । यो हाम्रो सोच, प्रवृत्ति, दृष्टिकोण वा वातावरणीय अवरोधका कारण सिर्जना हुने अवस्था हो । यो महासन्धिले अपांगताको मानवअधिकारमुखी अवधारणाको वकालत गर्छ । जसअनुसार, अपांगता मानवीय विविधताको एक पक्ष हो । अशक्ततालाई मानवीय अवस्थाका रूपमा स्वीकार गर्नुपर्ने वकालत गर्छ । अधिकांश विकसित देशले यही अवधारणाअनुरूप अपांगताको वर्गीकरणलाई व्यापक बनाएको पाइन्छ । 

राजनीतिक तथा बौद्धिक चेतनाको संकुचन : आममानिसको दृष्टिकोणमा मात्रै होइन, यो समाजद्वारा सभ्य कहलाइएका शिक्षित, समाजसेवी, बुद्धिजीवी, नीतिनिर्माता, राजनीतिज्ञ सबैमा नै अपांगताप्रतिको दृष्टिकोणमा विभेदकारी चिन्तन छ । उनीहरूको बुझाइमा अपांगता मानिसमा रहेको ‘कमजोरी वा अशक्तता हो । उसले हिँड्न सक्दैन, बोल्न सक्दैन, देख्न सक्दैन भन्ने बुझाइ छ । आममानिसले जसरी अपांगता भएको व्यक्तिले आफ्नो काम आफैँ गर्न सक्दैन भन्ने मान्यता राखेको पाइन्छ ।

नेपालका राजनीतिक दलका नेताहरूले संसद् बैठक वा अन्य सभासम्मेलनहरूमा सरकार वा राज्य पक्षका संयन्त्रलाई अपूर्ण वा कमजोर भनी प्रतीकात्मक अभिव्यक्ति दिनुपरे अपांगता शब्दलाई पर्यायका रूपमा निःसंकोच प्रयोग गरेको पाइन्छ । बौद्धिक ठानिएकाहरूको व्यंग्यात्मक प्रयोगमा पनि अपांगता शब्दको प्रयोग उस्तै विभेदकारी र संकुचित देखिन्छ । 

अपांगताको वर्गीकरणको संकुचन : नेपालमा अपांगताप्रतिको साँघुरो बुझाइका कारण यसको वर्गीकरणमा समेत अधिकांश मानिस समाविष्ट हुन सकिरहेका छैनन् । उदाहरणका लागि, अल्विनियो भएका व्यक्ति (मेलानिन नामक तŒवको अभावमा जन्मजात नै शरीरको छाला, कपालको रौँ तथा आँखा सेतो वा पहेँलो भएका मानिस)लाई आजका मितिसम्म पनि अपांगताको वर्गीकरणभित्र विशिष्ट वर्गीकरणमा राखिएको छैन । उनीहरूको मूलभूत समस्या जेनेटिक डिसअर्डर हो । उनीहरूलाई हेरिने सामाजिक तथा सांस्कृतिक दृष्टिकोण अत्यन्तै विभेदकारी छ । उनीहरूलाई दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरूको वर्गभित्र राखी परिचयपत्र प्रदान गरिएको पाइन्छ । जबकि, उनीहरूको समस्या दृष्टिसम्बन्धी अपांगता भएकाको भन्दा नितान्त फरक हो । 

पछिल्लो समय अपांगता भएकाहरूभित्र पनि फरक लैंगिक पहिचान भएकाहरूको पहिचानको सवाल उठेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले आफ्नो पहिचानको सवाल उठाउँदा अपांगता आन्दोलन मौन छ । राष्ट्रिय कानुन तथा नीतिहरू संकुचित छन् । 

विकसित देशहरूमा अपांगता भएकाको समूहभित्र विभिन्न प्रकारका दीर्घरोगीहरू, जस्तै– उच्च रक्तचाप, मिर्गौला, श्वासप्रश्वास, मधुमेह रोगीहरू, जसले आजीवन औषधिको सेवन गर्नुपर्छ, तिनलाई समेत समाविष्ट गरेको छ । तर, हाम्रो राष्ट्रिय कानुन तथा नीति र अपांगता आन्दोलन यसप्रति मौन छ । नेपालमा केही वर्षअगाडि मिर्गौलारोगीहरूले आफूहरूले पनि अपांगता पहिचानसहितको परिचय पाउनुपर्ने माग गर्दै आन्दोलन गरे । तर, त्यसको पूर्ण बेवास्ता गरियो । यी सबैको पछाडिको मूल कारण अपांगताप्रतिको संकुचित सोच नै हो ।

अन्त्यमा,

अपांगताप्रतिको विद्यमान परम्परागत दृष्टिकोणका कारण आज पनि अपांगतालाई कमजोर, अपूर्ण वा केही गर्न नसक्नेको पर्यायमा प्रयोग गरेको पाइन्छ । यसर्थ, राज्य, अपांगता आन्दोलन र यसका सरोकारवाला निकायहरूले जतिसुकै मानवअधिकारमुखी आवाज उठाए तापनि व्यवहारतः आज पनि कल्याणकारी र दयामुखी अभ्यास नै व्याप्त छ । अपांगता व्यक्तिमा रहेको कमजोरी हो भन्ने आमबुझाइ संकुचित मानसिकताको उपज मात्र हो ।

अपांगताको अवधारणा बृहत् छ । यसले सबै प्रकारका अवस्था भएका मानिसलाई अन्य अपांगता नभएका मानिसहरू जस्तै समान र सम्मानपूर्वक बाँच्न पाउनुपर्ने वातावरणको माग गर्छ । हामीले आफ्नो चेतनामा परिवर्तन ल्याउँदै सबैलाई मर्यादित जीवन बाँच्न पाउने वातावरणको सिर्जना गर्नु समयको माग हो । (गहतराज अपांगता समावेशी विकास विशेषज्ञ हुन्)