मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार ०७:२५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सामाजिक सञ्जालको जञ्जाल : फेसबुकको  विदेशी साथीले एक करोड २२ लाख उडायो

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार ०७:२५:००

सामाजिक सञ्जालसँग सम्बन्धित ठगीका उजुरी महानगरीय अपराध महाशाखामा दैनिक ५–६ वटा पर्छन् । करिब दुई साताअघि परेको एक उजुरीले प्रहरी अधिकारीसमेत आश्चर्यमा परे । संयुक्त राष्ट्रसंघसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत महिलाले फेसबुकमा चिनेकै भरमा एक विदेशी साथीलाई सहयोगको नाममा एक करोड २२ लाख रुपैयाँ पठाएकी थिइन् । 

डा. बेन्जामिन फ्रयाकिलन नामक ती ‘फेसबुके साथी’ले आफू बेलायतको ठूलो प्लास्टिक सर्जन डाक्टर भनेर परिचय दिएका थिए । बेलायतकै प्रभावशाली व्यक्ति भएको ठानेर उनी प्रभावित बनिन् । उनीहरूबीच अंग्रेजीमै नियमित च्याट हुन थाल्यो । त्यही क्रममा करिब दुई महिनाअघि बेन्जामिनले आफू मलेसियाको एक कार्यक्रममा आएको जानकारी गराए । त्यहाँ आफ्नो एटिएम कार्ड चोरिएको भन्दै उनले करिब २० हजार डलर पठाउन आग्रह गरे । त्यसका लागि नेपालकै एक व्यक्तिको बैंक खाता नम्बर दिए । बेलायत पुगेपछि आफूले त्यसको दोब्बर फर्काउने भन्दै उनले पैसा पठाएकोमा धन्यवाद दिए । 

बेन्जामिनले पटक–पटक आफू समस्यामा परेको भन्दै ती युवतीबाट एक करोड २२ लाख रुपैयाँ लिए । त्यतिले पनि नपुगेर आफू भारतमा रहेको र त्यहाँ पनि समस्यामा परेको भन्दै पछिल्लोपटक २५ लाख पठाइदिन आग्रह गरे । यसपटक उनले भारतमा आफ्ना साथीहरू रहेको र उनीहरूलाई सहयोग गर्न भनिदिने आश्वासन दिइन् । तर, उनले ‘हुन्न’ भन्दै पैसा नै पठाउन आग्रह गरिरहे । युवतीले भारतमा रहेका आफ्ना साथीहरूलाई फोन गरेर यसबारे बताइन् । भारतका साथीहरू भने– ‘एक रुपैयाँ पनि पैसा नपठाऊ, तिमी फेसबुक स्क्याममा पर्‍यौ ।’ त्यसपछि होसहवास उडेकी ती युवती उजुरी लिएर महानगरीय अपराध महाशाखा पुगेकी हुन् ।

महाशाखाले ठगीमा संलग्न गिरोहका तीनजना नेपालीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पैसा हाल्न प्रयोग गरिएका खाताधनी पोखराका राजेन्द्र भण्डारी र काठमाडौं ताहाचलका रोजन भुजेललाई प्रहरीले पक्राउ गरेको हो । भण्डारीको खाताबाट ७८ लाख तथा भुजेलमार्फत नौ लाख ५० हजार रुपैयाँ ती व्यक्तिले लिएका थिए । बाँकी ३४ लाख ५० हजार अन्य ६ जनाको खातामार्फत पीडितले दिएकी थिइन् । ती ६ जना व्यक्ति पक्राउ परिसकेका छैनन् । 

पोखराका भण्डारी पेसाले ठेकेदार हुन् । स्थानीय दानुमाया गुरुङको आग्रहमा आफूले सो पैसा उनलाई निकालेर दिएको बताएका छन् । गुरुङलाई पनि प्रहरीले बुधबार पोखरामा पक्राउ गरिसकेको छ । उनलाई पक्राउ गरेपछि ठगसम्म पुग्न सक्ने प्रहरी आकलन छ । उनले केही पैसा भारतमा पठाएको देखिएकाले गिरोहका नाइके विदेशमै भएको हुन सक्ने अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए । त्यस्तै, काठमाडौंमा पक्राउ परेका व्यक्तिले पनि कसरी पैसा विदेश पठाए भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूले हुन्डीमार्फत पठाएको हुन सक्ने प्रहरी आकलन छ । ‘पक्राउ परेका व्यक्तिको खाता मात्र प्रयोग भएको हो कि, उनीहरू नै मिलेका छन् भन्ने थप छानबिन गरिरहेका छौँ,’ एसपी पंगेनीले बताए । 

ठूलो आइएनजिओमा कार्यरत ती महिला यसरी सहजै ठगिएकोमा प्रहरी अधिकारीसमेत आश्चर्यमा परेका हुन् । ठगले दोब्बर पैसा दिने आश्वासनमा उनी लोभिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । 

फेसबुकका ती साथीसँग उनको फोनमा समेत कुरा भएको थिएन । एकपटक अडियो च्याटमा छोटो कुराकानी भएको उनले बताएकी छिन् । भिडियोमा पनि ती व्यक्ति कुरा गर्न चाहँदैन थिए । च्याटमा मात्र कुरा गर्दा पनि उनले शंका नगरी पटक–पटक पैसा पठाएको देखिन्छ । 

जब मृतक भनिएका व्यक्ति नै अभियुक्त ठहरिए 
१० दिनअघि काठमाडौंको बाफलमा जलेको अवस्थामा भेटिएको शवको सनाखत गरी प्रहरीले अनुसन्धान सल्टाएको छ । मृतक काभ्रेका हर्कबहादुर बाँनिया भएको र हत्यामा संलग्न आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

मृतकको अनुहारसमेत जलेकाले शवको सनाखत गराउनै निकै हैरान भएको यो घटनाको अनुसन्धान निकै जटिल र निष्कर्ष नाटकीय हुन पुग्यो । मृतकका भतिजको सहयोगले प्रहरीले उनको सनाखत गरी अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । मृतक बाँनिया बाफल क्षेत्रमा माग्ने व्यक्ति हुन् । गत ४ मंसिरमा उनको एक्कासि आफ्ना भतिजसँग बाटोमा भेट भयो । मलेसियाबाट फर्किएका भतिजले आफू पत्रकार भएको नाटक गरेर भिडियो खिचेर उनीसँग कुराकानी गरे । पछि मात्र आफू भतिज भएको जानकारी दिए । त्यसपछि काका–भतिजबीच रमाइला कुराकानी भए । जुन दृश्य छेउमा रहेका आशिषले देखिरहेका थिए । 

डेरा नभएकाले उनीहरू विभिन्न ठाउँमा सुत्दथे । त्यो दिन आशिषले बाँनियालाई आफू सुत्ने गरेको गाईबाख्रा चोकस्थित एउटा खण्डहर घरमा लिएर गए । भतिज भेट भएकाले टन्न पैसा दिएको हुन सक्ने भएकाले सुतेको वेला चोर्ने योजना बनाएका थिए । बेलुका सुतेपछि खल्तीबाट ५० को नोट निकाल्दै बाँनियाले थाहा भए । त्यसपछि दुईबीच विवाद भयो । टाउकोको पछिल्लो भागमा हानेर अर्धबेहोस बनाएपछि उनले बाँनियाले ओडेको कपडामा आगो लगाएर त्यहाँबाट निस्किएका थिए । त्यसको तीन दिनपछि प्रहरीले उनको शव फेला पारेको थियो । शव आधा जलेकाले केही पत्ता लगाउन सकेन । स्थानीयलाई सोध्दा पनि कसैले मृतकलाई नचिनेको बताए । 

घटनाको भोलिपल्ट आशिषका साथी त्यहाँ पुगे, तर शव जलेको अवस्थामा देखेपछि उनी डराएर फर्किए । त्यहाँ आशिषकै त्यसरी मृत्यु भएको उनलाई लाग्यो । पछि उनी प्रहरीको सम्पर्कमा पुगे, उनको कुराका आधारमा मृतक आशिष नै भएको प्रहरीलाई लाग्यो । तर, पछि आशिष नै फेला परेपछि प्रहरी अनुसन्धान फेरि शून्यमा झर्‍यो । स्थानीयसँग कुरा गर्दा एक माग्ने व्यक्ति केही दिनयता हराइरहेको बताए । तर, उनको फोटोसमेत कोहीसँग थिएन । एक स्थानीय पसलेले उनको श्रीमतीको नम्बर पत्ता लगाइदिए । श्रीमती उपचारका लागि भारत गएकाले उनको मोबाइल अफ थियो । श्रीमतीको नम्बरका आधारमा प्रहरीले उनको भतिजको नम्बर पत्ता लगायो, जहाँबाट प्रहरी अनुसन्धान निष्कर्षमा पुग्यो । 

सुरुमा प्रहरीले मृतकले वृद्धभत्ता लिने गरेको र त्यही पैसाका लागि हत्या भएको हुन सक्ने कोणबाट अनुसन्धान गर्‍यो, तर वास्तविकता फरक निस्कियो । भतिजले त्यो दिन खिचेको भिडियो देखाए, जसमा लगाएको कपडाको जल्न बाँकी केही अंश घटनास्थलमा भेटिएको थियो । भिडियोका आधारमा मृतक उनी नै पुष्टि भयो । 

त्यसपछि प्रहरी अनुसन्धान आशिषतर्फ केन्द्रित भयो । सोही घटना भएको वेला उनले आफू साथीकोमा बस्न गएको बताएका थिए । मृतकबारे केही जानकारी नभएको भनेर ढाँटेका थिए । घटना भएको वेला उनी साथीकोमा गएको कुरा शंका लागेर थप अनुसन्धान गर्दा अपराध महाशाखाका डिएसपी कृष्ण चन्द नेतृत्वको टोलीले घटना सुल्झाएको हो । अर्काेतर्फ सिसिटिभी फुटेजमा त्यो दिन उनले वृद्धलाई डोर्‍याएर लगेको भिडियोले पनि अनुसन्धानमा सहयोग गर्‍यो । पैसा चोर्न खोज्ने विवादलाई लिएर ७५ वर्षीय बाँनियाको हत्या भएको र १० दिन लामो अनुसन्धानपछि वास्तविकता पत्ता लागेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए ।