सन् २०२१ को प्रारम्भमा विश्वका प्रमुख २५ बैंक तथा अन्य व्यावसायिक पूर्वानुमानकर्ताले एक स्वरमा चिनियाँ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर यो वर्ष ८.३ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । त्यस बखत चिनियाँ सरकार आफैँले आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत मात्र लिएको थियो । चिनियाँ सरकारले कमजोर आर्थिक वृद्धिको लक्ष्य लिएकाले धेरै विश्लेषक अचम्मित भए । आखिर बाह्य संस्थानले त्यस्तो के महत्वपूर्ण पक्ष छुटाइरहेका थिए ? कि चिनियाँ सरकारले आर्थिक वृद्धिलाई समेत असर पर्ने कुनै कदमबारे पहिलेदेखि सोचविचार गरिरहेको थियो ?
पछिल्लो समय चिनियाँ अर्थतन्त्रको वृद्धिदर सुस्ताएपछि अन्तर्राष्ट्रिय बैंकहरूले चीनको वार्षिक आर्थिक वृद्धि प्रक्षेपण संशोधन गरेका छन् । तेस्रो त्रैमासिक वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशत मात्र रह्यो । जबकि पहिलो र दोस्रो त्रैमासिकमा १८.३ प्रतिशत र ७.९ प्रतिशतको बलियो वृद्धि थियो । कोरोना भाइरसका कारण सन् २०२० को पहिलो त्रैमासिकको आर्थिक वृद्धि ऋणात्मक भएकाले पनि यो वर्षको पहिलो त्रैमासिकको वृद्धिदर उच्च देखिन सम्भव भएको हो । तेस्रो त्रैमासिकको न्यून वृद्धिले चौथो त्रैमासिक र आगामी वर्षको वृद्धि सम्भावनामाथि चिन्ता बढाएको छ ।
आर्थिक वृद्धिदर घट्नुपछाडि चीनको कोभिड–१९ प्रतिको शून्य सहिष्णुता नीति एउटा कारण रह्यो । यो नीतिअन्तर्गत चीनले अन्य धेरै मुलुकको भन्दा छिटो–छिटो लकडाउन आह्वान गरिरहेको छ । गर्मी महिनामा विभिन्न स्थानीय तहमा कोरोनाको प्रकोप देखिएपछि चीनले धेरै सहरमा लकडाउन र यात्रा प्रतिबन्ध लगाएको थियो । यसले निर्माण क्षेत्रको उत्पादनलाई मात्र घटाएन, भर्खर उठ्न थालेको पर्यटनजस्तो सेवा क्षेत्रका रोजगार पनि प्रभावित बनायो । चीनको आर्थिक वृद्धिमा देखिएको सुस्तताका लागि महामारी एउटा मात्र कारण थिएन ।
चिनियाँ सरकारको हरित औद्योगिक नीति, घरजग्गा कारोबार क्षेत्रमाथिको कडाइ र अनलाइन प्लाटफर्महरूमाथिको प्रतिबन्धले पनि वृद्धिमा धक्का लाग्यो । चिनियाँ सरकारले कार्बनडाइअक्साइड उत्सर्जन वृद्धिलाई सन् २०३० सम्ममा रोक्ने र सन् २०६० सम्म शून्य बनाउने लक्ष्य लिएको छ । यही लक्ष्यअनुरूप चीन सरकारले बलपूर्वक र अकस्मात् कोइलाले चल्ने तापीय ऊर्जा संयन्त्रको विद्युत् उत्सर्जन कटौती गर्यो । केही संयन्त्रमा २० प्रतिशतसम्म विद्युत् उत्पादन कटौती भएको छ ।
यसले प्रभावित क्षेत्रको उद्योगका उत्पादन घटेको छ । सन् २०२० अगस्टमा सुरु गरिएको ‘थ्री रेड लाइन्स’ नीति यो वर्ष झन् कडाइका साथ कार्यान्वयन भइरहेको छ । यो नीतिले घरजग्गा कारोबारीका हकमा ऋण तथा सम्पत्तिबीचको अनुपात, ऋण तथा साधारण सेयरबीचको अनुपात र ऋण तथा नगदबीचको अनुपात कति रहने भनेर सीमा तोकेको छ । कैयौँ फर्मले ‘रेड लाइन’का कुनै एक वा धेरै लक्ष्य पूरा गर्न सकिरहेका छैनन् । जसकारण बैंक र पुँजी बजारले तिनलाई वित्तीय सहयोग दिन पत्याउन छाडेका छन् । त्यस अवस्थामा फर्मले तिनको सञ्चालनस्तरलाई घटाउने या सरसामान बेचबिखन गर्न थालेका छन् । इभरग्रान्डे वित्तीय संकटमा फसेको चीनको प्रमुख घरजग्गा व्यवसायी भए पनि समस्यामा फस्ने अरू पनि धेरै छन् । घरजग्गा व्यवसायमा आर्थिक संकट आएमा त्यसले स्टिल, सिमेन्ट र घरको सजावट (फर्निचर) तथा बिजुली–पानीसँग जोडिएका उद्योगलाई पनि असर गर्छ ।
सन् २०२१ मा चीनको अर्थतन्त्र समग्रमा वृद्धि हुने भए पनि पछिल्लो तीन महिनाको आर्थिक वृद्धिदर निकै कम रह्यो । आर्थिक वृद्धिदरमा देखिएको सुस्ततालाई उल्टाउन नीतिनिर्माताले नयाँ नियमन र महामारी नियन्त्रणका कदम कार्यान्वयन गर्दा सचेत हुन आवश्यक छ ।
यही वर्ष सरकारी अधिकारीले अनलाइन शिक्षा दिने व्यवसायीलाई कालोसूचीमा राखे । त्यस्तै, एकाधिकारवादी हुँदै गएका व्यवसायीमाथि कारबाही सुरु गरे । डाटा संरक्षणमा पनि चीनले कठोर कानुन ल्याएको छ । प्रभावित डिजिटल कम्पनीको सेयर विगत १२ महिनामा आधासम्मले घटेका छन् । सेयरको घट्दो मूल्य समस्याको एक सानो हिस्सा मात्र हुन सक्छ । धेरै डिजिटल फर्म र तिनका आपूर्तिकर्ताले तिनको लक्ष्य र योजना कटौती गर्न थालेका छन् । सयौँ अनलाइन शिक्षाप्रदायक बन्द हुँदा त्यहाँ काम गर्नेहरू बेरोजगार भएका छन् । कार्यान्वयन गरिएका नीतिको उद्देश्य सही छ, तर तिनको कार्यान्वयन शैलीले आर्थिक क्षति पुग्यो । शून्य कोभिड रणनीति खोपको विकास हुनुअगाडि तार्किक लाग्थ्यो । यही नीतिको बलमा गत वर्ष चीनले सकारात्मक आर्थिक वृद्धिदर हासिल गर्न सफल पनि भयो । तर, एकपछि अर्को नयाँ भेरियन्टको आगमनका कारण सबै मुलुकले कोरोना भाइरससँगसँगै दैनिक गुजारा चलाउने बाटो खोज्नुपर्छ ।
खोपको दर र प्राकृतिक प्रतिरोधात्मक क्षमता बढेसँगै यो कार्यान्वयन गर्न सकिने विकल्प बनेको छ । चीनले उसको सबल कार्यान्वयन क्षमतालाई सबै नागरिकलाई खोप लगाउने अभियानमा लगाउनुपर्छ । पटक–पटक लकडाउन गर्ने र सीमानाका बन्द गर्ने कार्यले अर्थतन्त्र र दैनिक जनजीवनलाई त बिथोल्छ नै, यो रणनीति खोपको आगमनपछि त्यति दिगो पनि हुँदैन । हरित औद्योगिक नीतिको सन्दर्भमा ऊर्जा उत्पादन चीनको सबभन्दा बढी कार्बन–सघन क्षेत्र हो । त्यस अर्थमा कोइलाबाट उत्पादन हुने बिजुलीमाथिको निर्भरता न्यूनीकरण गर्दा विश्वकै कार्बन उत्सर्जन प्रयासमा सहयोग हुनेछ । तर, यो परिवर्तनलाई व्यवस्थापन गर्ने अन्य विभिन्न मार्ग छन् । आर्थिक सुधारको चिनियाँ अनुभवमा मूल्य र बजारको शक्तिको प्रयोगबाट संरचनात्मक परिवर्तनबाट हुने क्षति कम भएको देखिन्छ ।
घरजग्गा कारोबार क्षेत्रमा अनुमानित मूल्यवृद्धिलाई घटाउँदा राम्रो हुन्छ, तर घरजग्गा व्यवसायको विकास रोक्दा भने आर्थिक क्षति पुग्छ । अहिले झन्डै ३० प्रतिशत चिनियाँ अर्थतन्त्रको उतारचढावमा घरजग्गा व्यवसाय र निर्माण क्षेत्रको योगदान छ । यसैले वैकल्पिक मार्ग अपनाइयो भने समायोजनले निम्त्याउने आर्थिक पीडालाई कम गर्न सघाउनेछ । उदाहरणका लागि न्यून आय भएका परिवार र ग्रामीण क्षेत्रबाट सहर आउनेहरूलाई सस्तो आवासको प्रवद्र्धन गरियो भने फर्निचर, विद्युत्–खानेपानी उपकरण, स्टिल र सिमेन्टको माग सिर्जना हुन्छ । विद्यालयपछिको ट्युसन अध्ययन कार्यक्रमले धेरै अभिभावकको काँधबाट वित्तीय बोझ कम गरेकाले यसले व्यापक समर्थन पाएको छ । तर, यो क्षेत्रलाई जसरी अचानक प्रतिबन्ध गरियो, त्यसले अन्य क्षेत्रका फर्मका हकमा पनि यस्तै अचानक नीतिगत परिवर्तन हुने हो कि भन्ने डर बढेको छ । यसले लगानीको वातावरणमा नकारात्मक असर गर्छ । चीनले लगानीकर्ताको आत्मविश्वास बढाएर पहिलेकै दरमा आर्थिक वृद्धि हासिल गर्न सक्छ । त्यसका लागि नयाँ नियमन र महामारी नियन्त्रणको फरक रूपमा बहस तथा कार्यान्वयन हुनुपर्छ ।