१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रा.डा. यादवलाई रसायनशास्त्र पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:o२:oo

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसनाथ यादव ‘प्रा.डा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’बाट सम्मानित भएका छन्। औषधिजन्य रसायनको अनुसन्धानमा योगदान पुर्‍याएबापत रसायनशास्त्र केन्द्रीय विभागको ५७औँ स्थापना दिवसको अवसरमा प्रा.डा. यादवलाई सम्मानित गरिएको हो। त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले पुरस्कार वितरण गरेका थिए।

पाठ्यक्रम विकास केन्द्र त्रिविका कार्यकारी निर्देशकसमेत रहेका डा. यादवको अनुसन्धान ‘अर्गानोमेटालिक्स’ नामक रसायनले क्यान्सर कोषिकामा पार्ने असरमा केन्द्रित छ। यस वर्ष पुरस्कारका लागि १८ आवेदकहरूमध्ये डा. यादव ज्येष्ठतामा पनि अगाडि थिए। सन् २०२१ मा मात्रै उनका नौवटा शोधलेख जर्नलमा प्रकाशित छन्।

प्रा.डा. छविलाल गजुरेल स्वयं ‘अर्गानिक केमेस्ट्री’का प्राध्यापक रहेकाले उनको औषधिजन्य रसायनमा आधारित अनुसन्धानलाई पुरस्कारका लागि छनोट गरिएको मूल्यांकन समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र बस्नेतले जानकारी दिए। उनले ०४६ देखि हालसम्म ३२ वर्ष औषधिजन्य रसायनमा आधारित रहेर अनुसन्धान गरेका छन्। उनले दर्जनौँ स्नातकोत्तर र पिएचडी तहको शोध निर्देशक भएर काम गरिसकेका छन्।

प्रा.डा. छविलाल गजुरेल र त्रिभुवन विश्वविद्यालयबीच पुरस्कार कोष सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा भएको सम्झौताअनुसार ०७६ मा यो पुरस्कार स्थापना गरिएको हो। प्रा.डा. गजुरेलले खडा गरेको सात लाख रुपैयाँको अक्षयकोष र सोबाट प्राप्त हुने ब्याजबाट रसायनशास्त्रको अनुसन्धानमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रतिवर्ष ५० हजार राशिको पुरस्कार प्रदान गरिँदै आइएको छ।

ad
ad