मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ मङ्सिर ९ बिहीबार ०९:१२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

माघबाट सस्तो हुँदै मोबाइल कल

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ०९:१२:००

प्राधिकरणको नयाँ निर्देशिकाअनुसार प्रतिमिनेट ४४ पैसासम्म घट्ने, टेलिकमको प्रिपेडबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्ने 

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता शुल्क घटाउने भएको छ । एउटा सेवा प्रदायकको नम्बरबाट अर्को सेवा प्रदायकको नम्बरमा कल गर्दा लाग्ने शुल्क ४४ पैसा घटाइएको छ । प्राधिकरणले ‘अन्तरआबद्धता निर्देशिका–२०७६’ लाई कार्यान्वयन गर्ने निर्णयसँगै मोबाइल कलको शुल्कदर घट्ने भएको हो । यो व्यवस्था आगामी माघ १ गतेदेखि लागू हुनेछ । यो व्यवस्थाअनुसार फरक–फरक सेवा प्रदायकको नम्बरबाट कल गर्दा एउटा सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई भुक्तानी गर्ने रकम घट्ने भएको हो । नेपाल टेलिकमको मोबाइल नम्बरबाट एनसेलको मोबाइल नम्बरमा कल गर्दा एनसेलले टेलिकमलाई भुक्तानी गर्ने रकम घटाइएको हो । यस्तो शुल्क प्राधिकरणले १० पैसा मात्रै तोकेको छ । यसअघि यस्तो शुल्क ५४ पैसा रहेको थियो । 

अन्तरआबद्धता शुल्क घटेसँग सेवाग्राहीले भुक्तानी गर्ने शुल्क पनि घट्ने प्राधिकरण सहायक प्रवक्ता अच्युतनन्द मिश्रले बताए । ‘सेवा प्रदायकले आफूले तोकेको शुल्क र अन्तरआबद्धता शुल्क जोडेर सेवाग्राहीसँग कल शुल्क लिन्छ । अन्तरआबद्धता शुल्क घटेसँगै सेवाग्राहीले भुक्तानी गर्ने शुल्क पनि घट्नेछ’ उनले भने । 

हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० शुल्क उपभोक्ताले तिर्नुपर्छ । प्राधिकरणको नयाँ निर्देशिकाअनुसार टेलिकमको प्रिपेडबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ ।

त्यस्तै, एनसेलबाट अन्य सेवा प्रदायकको नम्बरमा कल गर्दा अहिले प्रतिमिनेट करबाहेक एक रुपैयाँ ९९ पैसा शुल्क तिर्दै आएका छन् । नयाँ व्यवस्था अनुसार यस्तो शुल्क एक रुपैयाँ ५५ पैसामा सीमित हुनेछ । यस्तै स्मार्टबाट अन्य सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएको छ । यस्तो शुल्क पनि घटेर अब प्रतिमिनेट एक रुपैयाँ ४८ पैसा हुने भएको छ । 

यस्तो छ नयाँ अन्तरआबद्धता शुल्कदर 
नयाँ निर्देशिकाअनुसार एउटा सेवा प्रदायकको ल्यान्डलाइन नम्बरबाट अर्को सेवा प्रदायकको ल्यान्डलाइनमा कल गर्दा २० पैसा कायम गरिएको छ । एउटा सेवा प्रदायकको ल्यान्डलाइन नम्बरबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा १० पैसा कायम गरिएको छ । त्यस्तै, एउट सेवा प्रदायकको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको ल्यान्डलाइनमा कल गर्दा २० पैसा शुल्क तोकिएको छ भने एउटा सेवा प्रदायकको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको मोबाइल नम्बरमा कल गर्दा १० पैसा कायम गरिएको छ । 

यसअघि भने प्राधिकरणले एउटा सेवा प्रदायकको नम्बरबाट अर्को सेवा प्रदायकको नम्बरमा कल गर्दा ५४ पैसा शुल्क तोकेको थियो । त्यस्तै, यसअघि प्राधिकरणले जिल्ला र अञ्चलअनुसार फरक–फरक दर तोकेको थियो । तर, नयाँ निर्देशिकाले भने ल्यान्डलाइन र मोबाइल नम्बरमा मात्रै वर्गीकरणदर तोकेको छ । यसअघिको एउटा सेवा प्रदायकको ल्यान्डलाइनको नम्बरबाट अर्को सेवा प्रदायकको ल्यान्डलाइनमा कल गर्दा न्यूनतम १४ पैसादेखि अधिकतम ४८ पैसा शुल्क रहेको थियो । तर, नयाँ निर्देशिकाले भने त्यसलाई २० पैसा बनाएको छ । 

अन्तरआबद्धता शुल्क घटे पनि सेवा प्रदायकको व्यवसायमा कुनै असर नपर्ने प्राधिकरणका सहायक प्रवक्ता मिश्रले बताए । ‘पहिला प्रयोगकर्ता पनि थोरै थिए । तर, अहिले प्रयोगकर्ताको संख्या बढेको छ । त्यसैले सेवा प्रदायकको व्यवसायमा असर पर्दैन’ उनले भने । प्राधिकरणले २०७६ पुसमा नै निर्देशिका जारी गरेको हो । प्राधिकरणले सो निर्देशिका चैत १९ गते लागू गर्ने निर्णय गरेको थियो । तर, सेवा प्रदायक कम्पनीहरूले भने निर्देशिका लागू भएपछि व्यवसायमा धक्का पर्ने भन्दै तत्काल निर्देशिका लागू नगर्न प्राधिकरणलाई आग्रह गरेको छ । त्यसपछि कोभिड– १९ को महामारीका कारण प्राधिकरणले तत्काल निर्देशिका लागू गर्न सकेको थियो । तर, कार्तिक २९ गते बसेको प्राधिकरणको बोर्ड बैठकले निर्देशिका कार्यान्वयन गर्ने आदेश दिने निर्णय गरेको हो ।