१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
किरण दहाल काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार ०६:२१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘सेफ बक्स’मा छ संविधानको मूल प्रति

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार ०६:२१:००

संसद् सचिवालयले संविधानको मूल प्रति खैरो रङको दराजमा राखेको छ । यो धेरै नै मोटो छ । संसद् सचिवालयका कर्मचारीहरू यसलाई ‘सेफ बक्स’ भन्छन् । केहीकेहीले यसलाई ‘ब्ल्याक बक्स’ भन्ने गर्छन् । ‘सेफ बक्स’भित्र संविधानका साथै ऐनका सक्कल प्रतिहरू पनि राखिएका छन् । ‘सेफ बक्स’ले विशेषगरी महत्वपूर्ण दस्ताबेजलाई आगोबाट बचाउँछ ।

जनप्रतिनिधिको थलो संविधानसभाले बनाएको नेपालको संविधान ३ असोज ०७२ मा जारी भयो । जारी भएपछि संविधानको मूल प्रति राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन तथा संसदीय मामिला मन्त्रालय, राष्ट्रिय अभिलेखालय र संसद् सचिवालयमा गरी पाँच ठाउँमा पुर्‍याइएको थियो । संसद् सचिवालयले संविधानको मूल प्रति निकै सुरक्षित साथ राखेको छ । 

संसद् सचिवालयको भवन– १ को भुइँतलामा सानो कोठाभित्र नेपालको संविधान राखिएको छ । त्यो कोठा भवन छिर्नेबित्तिकै अघिल्तिर छ । तर, हरदम ताला लागेको हुन्छ, हत्तपत्त खुल्दैन । कोठाभित्र एउटा दराज आकारको बक्सा छ । खैरो रङको बक्सा लगभग चार फिटजति अग्लो छ । त्यहीँभित्रको एउटा खण्डमा छ– संविधानसभाबाट बनेको नयाँ संविधान । 

संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमला भन्छन्

यसलाई आगोले खान सक्दैन । आगलागी भयो भने पनि बाहिरका कागजात नष्ट होलान्, तर बक्सभित्र रहेका दस्ताबेज केही पनि हुँदैन । त्यसकारण संविधान र ऐनका मूल प्रति हामीले त्यसभित्र राखेका हौँ ।

संसद् सचिवालयका कर्मचारीहरू यसलाई ‘सेफ बक्स’ भन्छन् । यो धेरै नै मोटो छ । केहीकेहीले यसलाई ‘ब्ल्याक बक्स’ भन्ने गर्छन् । विमानमा ‘ब्ल्याक बक्स’लाई अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ । ‘ब्ल्याक बक्स’ विमान दुर्घटना हुँदासमेत क्षति हुँदैन, बरु दुर्घटनाको कारण पत्ता लगाउन मद्दत गर्छ । संविधान जारी भएपछि त्यसको मूल प्रति संसद् सचिवालयले जुन कोठामा राखेको थियो, त्यहाँबाट अन्यत्र सारिएको छैन । 

‘सेफ बक्स’भित्र संविधानका साथै ऐनका सक्कल प्रतिहरू पनि राखिएका छन् । विशेषगरी यहाँ ०६३ पछि प्रमाणीकरण भएका विधेयकका सक्कल प्रति छन् । संसद्ले पास गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकहरू यहीँ राखिन्छ । यिनै दुई ऐतिहासिक दस्ताबेजले बक्स भरिएको छ ।

संसद् सचिवालयका विधेयक शाखाका प्रमुख नारायणप्रसाद ढकाल भन्छन्, ‘प्रमाणीकरण भएका विधेयकहरू चार प्रति तयार पारिन्छ । त्यो राष्ट्रपति कार्यालय, संसद् सचिवालय, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयमा एक–एक प्रति जान्छ । प्रमाणीकरण भएर आएको मूल विधेयकलाई पनि हामीले यही बक्समा सुरक्षित राख्छौँ ।’ 

संसद् सचिवालयका अनुसार ‘सेफ बक्स’ले विशेषगरी महत्वपूर्ण दस्ताबेजलाई आगोबाट बचाउँछ । संसद् सचिवालयका कर्मचारीका अनुसार कथंकदाचित आगो लाग्यो भने ‘सेफ बक्स’मा रहेका कागजातलाई कुनै असर गर्दैन । संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमला भन्छन्, ‘यसलाई आगोले खान सक्दैन । आगलागी भयो भने पनि बाहिरका कागजात नष्ट होलान्, तर बक्सभित्र रहेका दस्ताबेज केही पनि हुँदैन । त्यसकारण संविधान र ऐनका मूल प्रति हामीले त्यसभित्र राखेका हौँ ।’

संसद् सचिवालयका अनुसार ०५५ मा किनिएको थियो, सेफ बक्स । आकस्मिक हुन सक्ने दुर्घटनाबाट महत्वपूर्ण दस्ताबेजलाई बचाउनकै निम्ति त्यतिवेला ‘सेफ बक्स’ किनिएको थियो । त्यसपछि संसद्सँग सम्बन्धित अत्यन्त महत्वपूर्ण दस्ताबेज यहीँ राख्न थालिएको थियो ।

संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्मा भन्छन्, ‘अत्यन्त महत्वपूर्ण दस्ताबेजहरूलाई सुरक्षित राख्नुपर्छ भन्ने हुन्थ्यो, तर कसरी सुरक्षित राख्ने ? संसद् सचिवालयमा लामो छलफल भएको थियो । त्यसवेला दरबारमा पनि ‘फायरप्रुफ’ बक्स रहेछ । सचिवालयका लागि त्यस्तै किन्ने सल्लाह भयो । त्यसपछि ०५५ तिर त्यो बक्स किनेर संसद्को महत्वपूर्ण सम्पत्तिहरू बक्साभित्र सुरक्षितसँग राख्न थालियो ।’

सबै सामग्री सुरक्षित गर्न नसके पनि लालमोहर लागेको दस्ताबेज सुरक्षित राख्ने संसद् सचिवालयको योजना थियो । शर्मा सम्झन्छन्, ‘बक्स किनेर ल्याएपछि संसद्मा भएका अत्यन्तै महत्वपूर्ण दस्ताबेज त्यसमा राख्न थालियो । खासगरी लालमोहर लागेको विधेयक दराजमा राख्ने प्रक्रिया सुरु भयो ।’ 

आगोले असर नगरे पनि बक्सभित्र रहेको दस्ताबेज चिसोले बिग्रिने जोखिम छ । सचिवालयको डर पनि मूल प्रतिमै ढुसी लाग्ने हो कि भन्नेमा छ । विधेयक शाखाका प्रमुख ढकाल भन्छन्, ‘केही–केही कागजात चिसोले भेटेजस्तो भएको छ । चिसो लाग्यो भने कागजात बिग्रिन्छ । त्यसैले अझै सुरक्षित ढंगले राख्नुपर्ने देखिएको छ ।’

त्यसैले अहिले त्यहाँ राखिएको संविधान तथा ऐनको डिजिटल प्रति तयार पार्ने काम भइरहेको छ । संविधानको मूल प्रतिको डिजिटल संस्करण तयार भइसकेको छ । सचिवालयसँग भएका ‘सम्पूर्ण विवरण’लगायत अन्य दस्ताबेजमाथि पनि काम भइरहेको छ । त्यसका लागि सचिवालयले कर्मचारी छुट्याएर काम गरिरहेको छ । 

डिजिटल संस्करण तयार भइसकेपछि सबैको सहजताका लागि संसद्को वेबसाइटमै राखिने सचिवालयका सूचना अधिकारी धमलाले बताए । उनले भने, ‘दस्ताबेजहरूलाई डिजिटल बनाउने काम एक वर्षदेखि हामीले निरन्तर गरिरहेका छौँ । यो काम सकिएपछि मूल प्रतिकै ‘सफ्टकपी’ सबैलाई सहज हुने ढंगले सार्वजनिक गर्छौँ । वेबसाइटमा र पुस्तकालयमा राख्छौँ ।’

संविधानका अरू चार सक्कल प्रति कहाँ छन् ?

राष्ट्रपति कार्यालय
संविधानको मूल प्रतिलाई लकरमा राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । कानुन महाशाखाअन्तर्गत रहेको अभिलेखीकरणमा संविधानको सक्कल प्रति सुरक्षित रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनले भने, ‘सबै ऐन–कानुनलगायत संविधानको सक्कलप्रति पनि हाम्रोमा सुरक्षित छ । संविधानलाई हामीले लकरभित्र राखेका छौँ । यसपालि डिजिटल कपी पनि बनाउने योजना छ ।’

कानुन मन्त्रालय
संविधानको सक्कल प्रति दराजमा सुरक्षित राखिएको मन्त्रालयका सचिव उदयराज सापकोटाले बताए । थप व्यवस्थित र सुरक्षित राख्न योजना बनिरहेको उनले बताए । ‘संविधानको मूल प्रति दराजमा सुरक्षित राखेका छौँ । संविधानलगायत महत्वपूर्ण दस्ताबेज राख्न छुट्टै कोठा बनाउने योजना छ । आगलागी भइहाले क्षति नहोस् भनेर ‘फायरप्रुफ’ कोठा बनाउन लागेका छौँ,’ उनले भने । 

प्रधानमन्त्री कार्यालय
‘फायरप्रुफ’ दराजमा संविधानको सक्कल प्रति राखिएको छ । ‘संविधानको मूल प्रतिलगायत सबैभन्दा महत्वपूर्ण कागजात गोप्य रूपमा राखिएको छ । यहाँका धेरै कर्मचारीलाई पनि थाहा छैन । यहाँ त्यस्ता कागजात राख्नका लागि ‘फायरप्रुफ’ दराज छ । त्यसैभित्र सुरक्षित छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने । 

राष्ट्रिय अभिलेखालय
सक्कल संविधान सुरक्षित रहेको राष्ट्रिय अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानांगले बताइन् । ‘कागज सुरक्षित रहन एउटा निश्चित तापक्रम चाहिन्छ । हामीले अनुकूल तापक्रममा संविधान राखेका छौँ । संविधान मात्रै होइन, हामीसँग वर्षौँ पुराना अन्य कागजातहरूका सक्कल प्रति पनि सुरक्षित छन्,’ उनले भनिन् । राष्ट्रिय अभिलेखालयमा संविधानलाई आगलागीबाट बचाउन साइरनको समेत व्यवस्था गरिएको छ । संविधान भएको कोठामा आगोको भिल्का देखियो भने साइरन बज्ने प्रधानांगको भनाइ छ ।