मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना
२०७८ मङ्सिर ७ मंगलबार २०:१२:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

केपी ओलीसँग जो टक्कर गर्न खोज्छ, त्यो देशविरोधी हो : खगराज अधिकारी (अन्तर्वार्ता)

Read Time : > 4 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार २०:१२:००

नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले महाधिवेशनमा आफ्नो दाबी पदाधिकारीमा रहेको बताएका छन्। उनले सचिवमा आफ्नो दाबी रहेको र यसबारे अध्यक्ष केपी ओलीसँग पनि कुरा गरेको बताए। दशौँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीको विकल्प नरहेको बताउँदै उनले ओलीले नचाहँदानचाहँदै पनि पुनः अध्यक्षमा दोहोरिनुपर्ने अवस्था आएको बताए। एमाले महाधिवेशनलगायतका विषयमा केन्द्रित रहेर नयाँ पत्रिकाका लागि किरण दहालप्रशान्त लामिछानेले अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशनका लागि यहाँको तयारी के छ ?
नीतिको महाधिवेशन सकिएको छ।  अब नेतृत्वको महाधिवेशन हुँदै छ।  नेतृत्व कस्तो बन्छ, को को नेतृत्वमा जान्छन् भनेर जिज्ञासा छ।  हामी पार्टीलाई एकताबद्ध बनाउने विषयमा मूल रूपमा ठीक ठाउँमा छौँ।  तर पनि केही अझै बाँकी छन्, केही साथीहरू गुनासो गरिरहेका छन्।  सबैलाई लाग्छ कि म ठीकै ठाउँमा उभिएको छु।  तर, केपी ओलीले सामान्य अवस्थामा अध्यक्ष दोहोर्‍याउँदिन भन्नुभएको थियो।  प्रचण्ड ,माधव नेपाल र झलनाथ खनालहरू कोहीद्वारा सञ्चालितले पार्टी भत्काए।  विकास र समृद्धिको केपी ओलीको सपनामाथि सबैतिरबाट आक्रमण भयो।  त्यसैले केपी ओलीले नचाहँदानचाहँदै पनि पुनः अध्यक्षमा दोहोरिनुपर्ने अवस्था आएको छ।  अहिले हामी महाधिवेशनकै तयारीमा छौँ। 


कतिपयले महाधिवेशनस्थल छनोटलाई लिएर प्रश्न गरेका छन नि ? 
जो आफैँ अर्काको बैसाखी टेकेर प्रधानमन्त्री हुनुपरेको छ, अहिले पनि कांग्रेसको औँला समातेर हिँड्नुपरेको छ, त्यस्ता मान्छेलाई शक्ति देखाउनुपर्ने नै छैन।  हामीले कहिले जनकपुर, कहिले बुटवल वा धेरै जनसंख्या भएकै ठाउँमा गर्दै आइरहेका छौँ।  अहिले देशको मध्यभागमा गरिरहेका छौँ।  कोही देखाउने भन्ने ठान्छ भने देखिरहोस्।  कसैका विरोधमा नेकपा एमाले गठन भएको होइन।  आफ्ना छोरी बुहारी बनाउनका लागि बनेको पार्टी होइन। 

अधिकांश स्थानमा वडादेखि नै सर्वसम्मत अधिवेशन भएका छन्।  केन्द्रमा पनि सर्वसम्मत हुन्छ कि निर्वाचन हुन्छ ?
कसैको उम्मेदवारी दबाब दिन हो भने अपरिपक्व र केटाकेटीपन हो।  हिजो आफ्नो सरकार फालेर, अदालतमा गएर १९ बुँदे आरोपपत्र ल्याएर कम्युनिस्ट आन्दोलनलाई भताभुंग बनाउने माधव नेपाल, प्रचण्ड र झलनाथहरूको षड्यन्त्रमा केही साथीहरू लाग्नुभएको थियो।  पछि १० बुँदे बनाएर फर्किएका साथीहरूलाई कसैले प्रभोक गरेको छ र म उठ्छु भन्नुभएको छ।  तर, उठेर के हुन्छ ? उठ्नु हुन्छ, १२ गतेपछि सकिन्छ।  केपी ओलीसँग जो टक्कर गर्न खोज्छ, त्यो पार्टीबाहिरको हो भने पनि त्यो देशविरोधी हो।  पार्टीभित्रको हो भने पनि लोकतान्त्रिक अभ्यास गर्न त पाइन्छ, तर त्यसको अर्थ हुँदैन।  किनभने हाराहारीको भए पो हुन्थ्यो त।  अध्यक्षमा उहाँले सबैको भावनाविपरीत उठ्ने कुरा गर्नुभएको हो, एकताविरोधी हो।  तलदेखि माथिसम्मै गुट छ भनेर देखाउन खोज्नुभएको हो भने उहाँले राजनीति गर्न छोड्न खोज्नुभएको होला।  राजनीतिको अन्तिम बिन्दुमा पुग्नुभएको होला।  उहाँले यसलाई नबुझेर नभई कसैको उक्साहटमा गरेको हो भने उहाँहरूले पार्टीमाथि अर्को ठूलो प्रहार गर्न खोज्नेको मतियार बनेको देखिन्छ।  

 

कम्युनिस्ट पार्टीमा उत्तराधिकारी हुन्न।  कामले आउनुपर्छ।  अहिले केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा, भीम रावललगायत हुनुहुन्छ।  ११औँ महाधिवेशनमा उहाँहरू हुन पाउनुहुन्न।  किनकि ७० वर्षे प्रावधान छ।  अहिले ७० वर्ष पुगेकाहरू उठ्न पाउनुभएन नि।  त्यसपछि अहिले नै भएका साथीहरू जो पदाधिकारीमा छन्, तिनीहरू हुन्छन् भन्ने पनि होइन।  एक कार्यकाल केन्द्रीय कमिटीमा भएको साथी वा स्थायी कमिटीमा भएको साथी पदाधिकारी बन्न सक्छन् नि ! यिनैमध्येबाट कोही हुन्छन्।  त्यसैले कसैले घोषणा गरेर उत्तराधिकारी हुने होइन।  

 

अन्य पदाधिकारीका पदहरूमा के हुन्छ ?
अहिलेको परिस्थिति हेर्दा अरू पदमा सर्वसम्मत हुन्छ।  त्यसमा पनि कसैले लोकतान्त्रिक पद्धतिमा जान्छु भन्छ भने त्यो स्वाभाविक छ।  तर, अहिले नै त्यो घोषणा गर्ने वेला भएको हो कि होइन, पार्टी अध्यक्षले के भन्नुहुन्छ ? उहाँको स्प्रिट के हो? यसलाई ख्याल गर्नुपर्ने हो। 

तपाईंले पार्टी अध्यक्षलाई भेट्नुभयो, के आश्वासन पाउनुभयो ?
मैले तीन–चारपटक नै भेटिसकेँ।  म अध्यक्षबाहेकको सबै पदका लागि योग्य छु।  तर, म त्यसका लागि दाबी गरेर, तयारी गरेर, सम्पर्क कार्यालय खोल्ने मान्छे होइन।  महाधिवेशनकै प्रतिनिधिले छनोट गर्छन्।  म पदाधिकारीमा उम्मेदवारी दिन्छु।  अध्यक्षले म सोचिरहेको छु भन्नुभएको छ।  म धेरै महत्वाकांक्षा राख्दिनँ सविचबाटै सुरु गर्छु।  

एमालेले पहिल्यैदेखि जनवाद वा लोकतन्त्रको प्रयोग गर्दै आएको थियो।  तर, अहिले आएर बढी केन्द्रीयता लाद्न खोजेको हो ?
त्यस्तो होइन, सिद्धान्त बुझाउन नसकेर यस्तो भनिएको हो।  त्यही हो लेनिनवादी सिद्धान्त भनेको।  नेतृत्व चयन गर्ने वेलामा जनवाद हुन्छ।  सर्वसम्मति त झन ठूलो लोकतन्त्र हो।  कसैले पनि दाबा गरेन, सबैले स्वेच्छापूर्वक र निःसर्त नै छाडे भने यो त जनवादकै अभ्यास हो नि ! 


पदका आकांक्षीहरू धेरै हुनुहुन्छ, सबैको व्यवस्थापन कसरी हुन्छ ?
केही साथीहरू पदाधिकारी उठ्छु भनेपछि केन्द्रीय कमिटीमा भइहालिन्छ भनेर सोच्नुभएको छ।  अध्यक्षले त्यस विषयमा बोल्नुहुन्छ कि भन्ने उहाँहरूको सोच छ।  तर, अध्यक्षले बोल्नुहुन्छ जस्तो मलाई लाग्दैन। 

दशबुँदे गरेर आएकाहरूको हैसियत महाधिवेशनमा के हुन्छ ?
दशबुँदेको सान्दर्भिकता एउटा समयमा थियो होला।  त्यसले जे राम्रो काम गर्‍यो, धन्यवाद छ।  अब महाधिवेशन आइसक्यो, दशबुँदे भनेर पर्खेर बस्नुपर्छ र ? दशबुँदे त लागू भइसक्यो नि ! दशबुँदे लागू नभएको भए म गण्डकीको सह–इन्चार्ज हुन्थेँ।  लागू भएकै कारण म स्वास्थ्य तथा जनसंख्या विभागमा छु।  यो निरपेक्ष रूपमा लागू हुँदैन।  यो कुनै सूत्र होइन, एउटा प्रस्ताव मात्रै हो।  माधव नेपाल हुँदा दशबुँदे हो, उहाँ हुनुभएन।  नहुँदा पनि केपी ओलीले निःशर्त लागू गर्नुभएकै छ।  केही ठाउँमा कसैको गुनासो हुनुको केही अर्थ छैन। 

महाधिवेशनमा उनीहरू समेटिने हुन् कि विस्थापित हुने हुन् भन्ने जिज्ञासा धेरैको छ नि ?
हामी हिजो कमिटीमा हामी समेटिएका थिएनौँ।  के बिग्रियो र ? हामीभन्दा कुन योग्यताका साथीहरू धेरै हुनुहुन्छ र त्यहाँ ? २/४ बाहेक मभन्दा बढी योग्यता र योगदान गरेको को देख्नुभएको छ ? मैले यो घमण्ड गरेको होइन।  विनम्रतापूर्वक भन्छु– म जस्ता साथीहरू हिजोको दिनमा बाहिर नै परेका थियौँ।  कमिटीमा पनि थिएनौँ।  राजेन्द्र गौतमजस्ता साथीहरू बाहिरै हुनुहुन्थ्यो।  तर, हामीले कहिल्यै गुनासो गरेनौँ।  म अहिले पनि कुनै पदको दाबा गरेको भरमा त्यहाँ पुग्छु नै भन्ने छ र ? केन्द्रीय समितिमा पनि नहुन सक्छु।  माधव नेपालले सातौँ अधिवेशनमा मलाई ६/७ वर्षसम्म पार्टीमा जिम्मा नदिँदाखेरि ‘म समेटिइनँ’ भनेर कहीँ गुनासो गरेँ ?

पूर्वमाओवादी जसले केपी ओलीलाई साथ दिए।  उनीहरूको अवस्था कस्तो हुने देख्नुहुन्छ ?
मैले अध्यक्षलाई भनेको छु, म पदाधिकारीमा उठ्छु।  मैले अरू नेतालाई पनि भनेको छु।  उहाँले आफ्नो इच्छाअनुसार गर्नूस् भन्नुभयो भने म पदाधिकारीमा उठ्छु।  म हार्न तयार छु, तर त्यसरी एकता भावका साथ आएका साथीहरूको प्रचारमा म खुलेआम लाग्छु।  नवौँ महाधिवेशनमा मैले भनेको थिएँ– मलाई भोट नदिए पनि केही छैन, तर केपी ओलीलाई दिनुस्।  त्यसकारण म जितौँ कि नजितौँ, त्यो परवाह भएन, तर रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहहरूले जित्नुपर्छ।  उहाँहरूले जित्नुपर्छ भनेर म प्रचार अभियानमा लाग्छु।  यत्ति भनौँ, उहाँहरू छुट्नुहुन्न। 

अब उत्तराधिकारी को हो भन्ने चर्चा पनि चल्न थालेको छ नि ?
कम्युनिस्ट पार्टीमा उत्तराधिकारी हुन्न।  कामले आउनुपर्छ।  अहिले केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा, भीम रावललगायत हुनुहुन्छ।  ११औँ महाधिवेशनमा उहाँहरू हुन पाउनुहुन्न।  किनकि ७० वर्षे प्रावधान छ।  अहिले ७० वर्ष पुगेकाहरू उठ्न पाउनुभएन नि।  त्यसपछि अहिले नै भएका साथीहरू जो पदाधिकारीमा छन्, तिनीहरू हुन्छन् भन्ने पनि होइन।  एक कार्यकाल केन्द्रीय कमिटीमा भएको साथी वा स्थायी कमिटीमा भएको साथी पदाधिकारी बन्न सक्छन् नि ! यिनैमध्येबाट कोही हुन्छन्।  त्यसैले कसैले घोषणा गरेर उत्तराधिकारी हुने होइन।  
अहिले हामीले सकेनौँ नि आँट्न।  कसैले आँटेन।  कसैले पनि केपी ओलीलाई अहिले विश्राम लिइदिनुस् भन्न सकेनन्।  यसको अर्थ हामी तयार भइसकेका रहेनछौँ।  अब ४/५ वर्षको अवधिमा हामी तयार हुने हो।  महासचिव हुनेबित्तिकै उत्तराधिकारी हुने, उपाध्यक्ष हुनेबित्तिकै उत्तराधिकारी हुने भन्ने हुँदैन।  अहिले त केपी ओली ‘अनच्यालेन्ज’ लिडर हुनुभयो। 

तपाईंहरूले ओलीलाई शक्तिमान् बनाउनुभयो।  यही महाधिवेशनबाट अर्को पुस्तामा जान किन नसकेको ? केपी ओलीसँग तपाईंहरू डराउनुभएको हो ?
अध्यक्षज्यूसँग डराएको होइन।  उहाँले त छाड्छु नै भन्नुभएको हो।  हामीले उहाँलाई भइदिनुस् भन्यौँ।  हामी डराएको होइन, तयार भइनसकेको हो।  मैले त त्यो ठाउँमा च्यालेन्ज गर्ने कुरै आउँदैन।  अब उहाँकै नेतृत्वमा हामी अघि बढ्ने हो।  हामीले यही नै बाटो रोज्यौँ।