मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोप केन्द्रमा सोमबार फाइजर खोप लगाउन लाइनमा बसेका बालबालिका । तस्बिर : रासस
मञ्जु टेलर काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०९:१६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

७० प्रतिशत जनसंख्या अझै खोपको पहुँचबाहिर

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०९:१६:००

नेपालमा हालसम्म २६.२ प्रतिशतले खोपको पूर्ण मात्रा र ३०.१ प्रतिशतले पहिलो मात्रा लगाए, आगामी चैत मसान्तसम्म सबै लक्षित समूहलाई खोप लगाइसक्ने तयारी

सरकारले आगामी चैत मसान्तसम्म सबै लक्षित समूहलाई खोप लगाइसक्ने तयारी गरेको छ । दुईतिहाइ लक्षित जनसंख्यालाई पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तसम्म खोप लगाइसक्ने लक्ष्यअनुरूप १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेकालाई समेत खोप लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले अहिलेसम्म खोप नलगाएकालाई सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोवास गर्ने स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको ६९.९ प्रतिशत जनसंख्या अझै खोपको पहुँचबाहिर छन् । तर, हालसम्म १२ वर्षभन्दा माथि उमेर समूहमा मात्र कोरोनाविरुद्धको खोप लगाइएकाले खोप लगाउन बाँकी संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कुल जनसंख्याको २६.२ प्रतिशतले खोपको पूर्ण मात्रा र ३०.१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । 

सोमबारसम्मको विवरणअनुसार देशभर एक करोड ७० लाख ९७ हजार आठ सय ६६ डोज खोप प्रयोगमा आइसकेको छ । जसमध्ये ९१ लाख ४५ हजार चार सय ८० जनामा खोपको पहिलो मात्रा र ७९ लाख ५२ हजार तीन सय ८२ मा खोपको पूर्ण मात्रा लगाइएको छ । हाल १२ वर्षमाथिका बालबालिकामा समेत फाइजर खोप प्रयोगमा आइरहेको छ । 

अब सबै गर्भवतीले खोप लगाउन पाउने
गर्भवती भएको पहिलो तीन महिना पुगेका सबै गर्भवतीले कोभिडविरुद्धको खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरूले मात्र कोभिडविरुद्धको भ्याक्सिन लगाइरहेका थिए । चैत मसान्तसम्म लक्षित समूहमा खोप लगाइसक्ने लक्ष्य लिइएकाले सबैलाई स्वास्थ्य संस्थामा गएर सम्पर्क राख्नसमेत मन्त्रालयले आग्रह गरेको छ । गर्भवतीमा खोपको प्रभावकारिताबारे अस्पष्टताका कारण खोप लगाउनेको संख्या न्यून रहे पनि बिस्तारै बढ्दै गएको मन्त्रालयले जनाएको छ । 

काठमाडौं महानगरले थाल्यो नाकामा एकमहिने ‘खोप अभियान’
काठमाडौं महानगरपालिकाले काठमाडौं प्रवेश गर्ने मुख्य चारवटा नाकामा खोप अभियान सुरु गरेको छ । महानगरले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्यमा कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोंगबुमा एकमहिने खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । ५ मंसिरबाट सुरु भएको कार्यक्रम ५ पुससम्म रहने महानगरले जनाएको छ । नाकामा १८ वर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाणका आधारमा खोप लगाउन पाउने व्यवस्था महानगरले गरेको छ । 

काठमाडौंमा रहने भिडभाडका कारण हुने संक्रमणको उच्च जोखिमलाई लक्षित गरी नाकामा खोप अभियान सुरु गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए । ‘हामी काठमाडौं महानगरवासीसँगै काठमाडौं आउने जाने सबैको स्वास्थ्य सुरक्षामा जिम्मेवार छौँ । त्यसैले काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर समूहमाथिका सबै नागरिकलाई प्रवेश नाकामै खोप उपलब्ध गराउन लागेका हौँ,’ उनले भने । 

नाकामा रहेका केन्द्रबाट भेरोसेल र कोभिसिल्ड खोप लगानेछ । महानगरका सबै वडामा ७ र ८ मंसिरमा कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।