टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
२०७८ मङ्सिर ५ आइतबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वनकरियाको आँगनमा होमस्टे

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार ०८:०३:००

लोपोन्मुख वनकरिया समुदायमा पर्यटन प्रवद्र्धन र सामुदायिक विकासका लागि होमस्टे निर्माण गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिकाले आठ लाख लगानीमा मनहरी–४, मुसेधापस्थित वनकरिया बस्तीमा होमस्टे निर्माण गरिदिएको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक रात वास बसेको घरलाई होमस्टेका रूपमा परिणत गरिएको हो । 

भट्टराई प्रधानमन्त्री हुँदा हरेक महिनाको एक दिन गरिब–विपन्नका घरमा वास बस्ने गर्थे । त्यसअनुरूप भट्टराई एक रात वास बसेको सन्तोषी वनकरियाको घरलाई होमस्टे बनाइएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । वनकरिया बस्तीलाई पनि पर्यटन प्रवद्र्धन गर्ने सामुदायिक विकासका लागि होमस्टे सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको भनाइ छ । 

अध्यक्ष उप्रेतीले स्विट्जरल्यान्डबाट पर्यटकहरू वनकरिया समुदायको अध्ययनका लागि आउन लागेकाले होमस्टे सञ्चालनमा आएपछि बस्न सहज हुने र यहाँका बासिन्दाका लागि आम्दानीको स्रोत बन्ने बताए । वनकरियाको वास्तविक घरको झल्को दिने होमस्टेको एउटै भवनमा दुईवटा कोठा तयार गरिएको छ । घुम्न आउने पाहुनालाई वास बस्न मिल्ने गरी सबै व्यवस्था मिलाउने होमस्टे सञ्चालन गरिएको स्थानीय सन्तोषी वनकरियाले बताइन् ।

होमस्टेका कारण पाहुनाहरूले निश्चित समय निकालेर ‘यहाँको अवलोकन र वनकरिया बस्तीको अध्ययन गर्न पनि पाउँछन् । यस बस्तीका वनकरियाहरूलाई आयआर्जनका लागि थप सहयोग पनि हुनेछ,’ सन्तोषीले भनिन् । होमस्टेमा वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूल, खोलाको माछा, स्थानीय घट्टमा पिसेको पिठोका परिकार पाहुनालाई खुवाइनेछ ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८ अनुसार वनकरिया जाति नेपालको १० लोपोन्मुख जातिमध्ये एक हो । वनकरियाहरूलाई ६ महिना जंगल र ६ महिना बस्तीमा बस्ने जातिका रूपमा चिनिँदै आएको छ । तर, पछि उनीहरू बस्तीमै नियमित बस्न थालेका हुन् । जंगली तरुल, कन्दमूल, गिठ्ठा–भ्याकुर खोजेर खाने र जंगलमा नै कष्टकर जीवनयापन गर्ने वनकरियाहरू हाल आफ्नै खेतबारीमा अन्न फलाएर खाने गर्छन् ।