मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मिलन पाण्डे काठमाडाैं
२०७८ मङ्सिर ३ शुक्रबार ०९:२५:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यालयले अंगीकार गर्नुपर्ने मूल्य–मान्यता

Read Time : > 7 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७८ मङ्सिर ३ शुक्रबार ०९:२५:००

हाम्रा विद्यालयको केन्द्रमा आज को छन् ? शिक्षक होलान्, लगानीकर्ता होलान्, अभिभावकको चाहना होला, मार्कसिटको नम्बर होला, तर विद्यार्थी र उनीहरूको सपना विद्यालयको केन्द्रमा छैनन्  


बेलायती लेखक रिचार्ज बर्नेटले आफ्नो पुस्तक ‘द भ्यालुज–ड्रिभन अर्गनाइजेसन)मा निश्चित मूल्यमान्यतामा चल्ने संस्था मात्र सफल हुने बताएका छन् । निश्चित मूल्यमान्यतामा चल्ने संस्थाहरूले समाज र मानवतालाई योगदान गर्ने गरेको पाइएको उनले पुस्तकमा उल्लेख गरेका छन् । केन ब्लान्चार्ड र फिल हजेज (२००३) को पुस्तक ‘द सर्भेन्ट लिडर’मा १० प्रतिशतभन्दा कम संस्थाहरूको मात्र स्पष्ट लिखित मूल्यमान्यता रहेको उल्लेख छ । संस्थाहरूले परिणाम दिनका निम्ति ती संस्थाहरू मूल्यमान्यताको जगमा खडा हुन जरुरी हुन्छ ।

भनिन्छ, उदाहरणीय नागरिक जन्मिदैनन्, राज्यले नै बनाउनुपर्छ । उदाहरणीय नागरिक बनाउने संस्था कुन हो त ? सबैको दिमागमा आउने पहिलो उत्तर हुन्छ– विद्यालय । उसो भए यति महत्‍वपूर्ण संस्था (विद्यालयहरू) कुन मूल्यमान्यतामा, कसरी चलिरहेका छन् भन्ने बहस किन हुन सकिरहेको छैन ? हाम्रा विद्यालय कुन मूल्यमान्यताको जगमा अडिएका छन् ? उद्देश्य के हो हाम्रा विद्यालयहरूको ? कलिला बालबालिकाहरूलाई उद्देश्य दिने संस्था नै कतै आज उद्देश्यविहीन त छैनन् ?

हाल सञ्चालित अधिकांश विद्यालय, स्कुल वा कलेज होइनन् कि ट्युसन सेन्टर भएका छन् । उनीहरूको एउटै मात्र उद्देश्य कसरी विद्यार्थीलाई भर्ना गराउने, परीक्षा उत्तीर्ण गराउने भन्ने मात्र हो । विद्यालय शिक्षाले विद्यार्थीमा संस्कार भर्ने हो । कलेजले शोध, अनुसन्धानमा जोड दिँदै व्यावसायिक पाटोलाई बलियो बनाउने हो । तर, हाम्रा विद्यालय यी दुवै पक्षमा चुक्दै छन् ।

अहिले विद्यालय कुनै दूरदृष्टि र लक्ष्यविना चलिरहेका छन् । भित्ता र हाते पुस्तिकामा कपी–पेस्ट गरी लेखिएका दुई लाइन नारा लक्ष्य, उद्देश्य होइनन् नि । उनीहरूको केन्द्रमा शिक्षा र विद्यार्थी छैनन्, योजना छैन । मात्रै नाफा छ । मात्रै परीक्षाको नम्बर छ । सरकारी विद्यालयहरू शिक्षक र प्रधानाध्यापकहरूका निम्ति जागिर र राजनीति गर्ने थलोमा परिणत छन् । परीक्षामुखी शिक्षा परिणाममुखी बन्न सकेको छैन । नत्र प्लस टु पढेका विद्यार्थी स्नातक तह पढ्नका लागि प्रवेश परीक्षाको तयारी वा विदेशका लागि भन्दै बागबजार किन धाउँदै छन् ? स्नातक सकेका विद्यार्थी किन उत्साहित छैनन् ? यसको कारण हो– विद्यालयले आफ्नो दायित्व परीक्षा उत्तीर्ण गराउनेमा सीमित गर्नु । विद्यालयले विद्यार्थीको संसार खुम्च्याउने होइन, फैलाउने हो । आज हाम्रा विद्यालय विद्यार्थीका उद्देश्य र संसार खुम्च्याइरहेका छन् ।

आधारभूत मूल्यमान्यताको जगमा उभिएका विद्यालय नै आज सफल विद्यालय छन् । उद्देश्यतर्फ डो¥याउन, विद्यार्थीको जीवनमा संस्कार र सीप भर्न हाम्रा शिक्षालयले केही मन्त्रहरू जप्न जरुरी छ । वर्तमान विश्वमा विद्यार्थीलाई संस्कार सिकाउनु सबभन्दा महत्‍वपूर्ण भएको छ । विद्यार्थीलाई संस्कार सिकाउन पहिला विद्यालयले संस्थागत संस्कार बसाउन जरुरी छ । केही सफल विद्यालयको मूल्यमान्यता अध्ययन गरेर, केही देशका केही विद्यालय घुमेर मैले प्रास्ताव गरेका यी पाँच मूल्यमान्यता अंगीकार गर्न सके हाम्रा शैक्षिक संस्थाहरूले शिक्षालाई सही दिशामा लैजान सक्नेछन् ।

१. विद्यार्थीकेन्द्रित : हाम्रो विद्यालयको केन्द्रमा आज को छन् ? शिक्षक होलान्, लगानीकर्ता होलान्, अभिभावकको चाहना होला, मार्कसिटको नम्बर होला, तर विद्यार्थी र उनीहरूको सपना विद्यालयको केन्द्रमा छैनन् । हाम्रा शिक्षालय यहीँ चुकेका छन् । अब हरेक विद्यालयको पहिलो मन्त्र ‘विद्यार्थीकेन्द्रित अर्थात् हरेक निर्णयको केन्द्रमा विद्यार्थी’ हुन जरुरी छ । विद्यालयको स्रोत साधन र प्रत्येक निर्णय विद्यार्थीको हितमा छ कि छैन हेर्न र छलफल गर्न थाल्ने हो भने विद्यालय आफैँ सुध्रन्छन् । यो विद्यालय सुधारको गुरु–मन्त्र नै हो । हाम्रो शिक्षाको समस्या यहीँनेर छ । हामी विद्यार्थीलाई केन्द्रमा राखेर निर्णय गर्दैनौँ ।

मैले धेरै कम विद्यालयमा मात्र ‘सुझाब पेटिका’ देखेको छु । विभिन्न साहित्यिक, खेलकुद, विज्ञान, सामाजिक क्लबहरूको गठन भएको पाएको छु । कक्षामा गएर विद्यार्थीलाई शिक्षकले पढाएको बुझेको छ कि छैन भनेर सोध्ने गरिएको छैन । धेरैचोटि विद्यार्थीको मनोभाव शिक्षकले नबुझ्दा शिक्षककै व्यवहारका कारण विद्यार्थी कक्षामा जान डराउँछन् । केही दिनअघि सुर्खेतको एउटा विद्यालयमा एकजना दिदी हराएकी बहिनी स्कुल जान मानिनन् । सात–आठ कक्षामा पढ्ने ती नानीलाई सोध्दा स्कुलमा शिक्षिकाले साथीहरूकै अगाडि ‘अब यो पनि नपढेर दिदीजस्तै पोइल जाने होला नि’ भन्दा शिक्षिकाका ती शब्दबाट पीडा भएर स्कुल जान मन नलागेको बताइन् ।

हामीले हाम्रा विद्यार्थीका यस्ता कुरा कहिले बुझ्ने ? अर्काे दुःख लाग्ने कुरा, हाम्रा विद्यालयले विद्यार्थीलाई गर्ने वर्गीकरण । हाम्रा विद्यालयका निम्ति सधैँ कम ग्रेड ल्याउने ‘कमजोर’ विद्यार्थीहरू दोस्रो दर्जाका विद्यार्थी हुन् । उनीहरूलाई शिक्षकले पनि उत्तिको वास्ता गर्दैन । तर, यिनै विद्यार्थीले पैसा तिरेर पढ्छन्, शिक्षक तथा कर्मचारीलाई पाल्छन् । प्रायः राम्रो ग्रेड ल्याउने टपरहरूले धेरथोर छात्रवृत्तिमा पढिरहेका हुन्छन् । यी ‘कमजोर’ विद्यार्थीलाई झन् प्राथमिकता दिनुपर्ने होइन र विद्यालयहरूले ? यसर्थ, विद्यालयको मन्त्र नै ‘विद्यार्थीकेन्द्रित’ भन्ने राख्न जरुरी छ ।

२. नवप्रवर्तन (इनोभेसन) : बर्नर्ड सडोउ आफ्नो परिवारसँग अरुबा टापुबाट सुटकेस घिसार्दै फर्कंदै थिए । त्यही वेला एकजना भरियाले गाडामा राखेर सामान लाँदै गरेको उनले देखे । सोचे, यदि हामीले पनि सुटकेसमा पांग्रा राख्ने हो भने सामान बोक्न कति सजिलो हुँदो हो । उनले पांग्रा राखेर सन् १९७१ मा नौलो सुटकेस बनाए । त्यतिवेला त्यो एकदमै महत्‍वपूर्ण आविष्कार ठहरियो । सन् १९६९ मै चन्द्रमामा मानिस पुग्यो, तर सुटकेसमा पांग्रा राख्ने आइडिया कुनै व्यक्तिलाई त्यसको दुई वर्षपछि मात्रै आयो । 

नवप्रवर्तन वा आविष्कार जहाँ, जसलाई र जहिले पनि आउन सक्छ । के ती नयाँ सोचका लागि हाम्रा विद्यालय उदार छन् ? विद्यार्थीलाई त्यो वातावरण हाम्रा कलेजले दिएका छन् ? के कलेज अहिलेको चलनभन्दा माथि उठ्दै नयाँ प्रयोग गर्न अग्रसर छन् ? यदि विद्यालयले प्रवर्तनको वातावरण बनाउन सक्दैन भने विद्यालय सधैँ उस्तै उही सामान बनाउने कारखानाभन्दा के कसरी फरक भयो र ?

हरेक बच्चाले नयाँ कुरा गर्न सक्छ । हरेक बच्चा आ–आफ्नो जिन्दगीमा सफल हुन सक्छ । आफ्नो जिन्दगीको ‘स्टार’ बन्न सक्छ । तर, विद्यालयले अनावश्यक प्रतिस्पर्धा गराएर त्यो सिर्जनशीलताको वातावरण नै प्रदूषित गरिदिएको छ । यसले एउटाको सफलता अर्काको हार भन्ने निकै विषादीपूर्ण सन्देश दिँदै छ । ‘इनोभेसन’लाई अब हाम्रा शैक्षिक संस्थाहरूले अंगीकार गर्न जरुरी छ । सिर्जनशीलता विद्यालयका प्रत्येक व्यक्तिको प्राथमिकतामा पर्न जरुरी छ । विद्यालय आफैँले पनि विद्यार्थीको हितमा हुने नवीन काम गर्न डराउनु हुँदैन । पुरानै बाटो हिँड्नेले नयाँ सम्भावनाका गोरेटो कोर्न सक्दैन । नवीन प्रयोग गर्न डराउने संस्थाले देशलाई नयाँ दिशा दिने नागरिक जन्माउला भनेर कसरी पत्याउने ?

अब हरेक विद्यालयको पहिलो मन्त्र ‘विद्यार्थीकेन्द्रित अर्थात् हरेक निर्णयको केन्द्रमा विद्यार्थी’ हुन जरुरी छ । विद्यालयको स्रोत साधन र प्रत्येक निर्णय विद्यार्थीको हितमा छ कि छैन हेर्न र छलफल गर्न थाल्ने हो भने विद्यालय आफैँ सुध्रन्छन् । यो विद्यालय सुधारको गुरु–मन्त्र नै हो ।

३. आत्म–अनुशासन (सेल्फ डिसिप्लिन) : आज अधिकांश निजी विद्यालयले नियमको नाउँमा विद्यार्थीलाई तनाव दिँदै छन् । कपालको लम्बाइ, कानको मुन्द्रा र पहिरनकै भरमा विद्यार्थीको स्तर मापन गर्ने विद्यालय कुन जमानाको सोच पालेर बसेको छ ? के शिक्षक देखेर विद्यार्थी डराउनु अनुशासन हो ? विद्यार्थीलाई मानसिक तनाव अनि डरमा बाँधेर, तर्साएर, पिटेर पढाउने विद्यालयहरूले अनुशासन लाद्दै छन् । अनुशासन त लादेर होइन, जगाएर मात्रै विद्यार्थी अनुशासित हुन सक्छन् भन्ने अधिकांश शिक्षालयले अझै बुझ्न सकेका छैनन् । अनुशासन सजाय होइन, आत्मनियन्त्रण हो । हामीले विद्यार्थीलाई संस्कार र आत्म–अनुशासनमा बस्न सिकाउन सकेनौँ ।

 मेरो भाइको साथी काठमाडौंको एउटा प्रसिद्ध कलेजमा पढ्थ्यो । तर, जसरी त्यहाँ अनुशासन लादिन्थ्यो, त्यसले उसलाई मानसिक दबाब नै प¥यो, डिप्रेसनमा गयो । उसले एक वर्ष पढाइ नै छाड्नुपर्‍यो । अझै अनुशासनको नाउँमा विद्यार्थीले पिटाइ खानुपर्छ । शिक्षकको पिटाइबाट विद्यार्थी घाइते वा मृत्यु नै भएको खबर अझै वेलावेलामा पढ्नुपरेको छ । विद्यार्थीलाई तर्साउनु, कुट्नु समाधान होइन । धेरै मानिसको प्रश्न रहने गर्छ, उसो भए बदमास विद्यार्थीलाई कसरी तह लगाउने ? मेरो प्रत्येकचोटि प्रतिप्रश्न रहने गर्छ– पिटेर समाधान आयो त ? पिटेर पनि त समाधान आउँदैन । बरु लादिएको अनुशासनले गर्दा शिक्षक अनि विद्यालय नै विद्यार्थीका निम्ति दुस्मन बन्दै जान्छन्, जसकारण ऊ झन् विद्यालय र पढाइबाट टाढिन्छ । 

बुद्धिमान् प्राणीका हैसियतले हामी ‘आत्म–अनुशासन’मा रहने हो । आत्म–अनुशासनको अन्तर्य निरन्तर सुधारमा विश्वास गर्नु हो । विवेकको प्रयोग गर्नु, स्वमूल्यांकन गर्नु हो । विद्यालयको काम विद्यार्थीमा ‘आत्म–अनुशासन’ जगाउनु हो । तर्साउने, थर्काउने, पिट्ने गर्दै लादिएको अनुशासनले अब समाधान दिन सक्दैन । विद्यालयको वातावरण यस्तो हुनुपर्‍यो कि विद्यार्थीले अनुशासन आफैँ पालन गरून् । लाद्ने अनुशासन सजिलो छ, आत्म–अनुशासन गाह्रो छ । हाम्रा कलेजले यो गाह्रो बाटो रोज्न जरुरी छ । 

प्रायः प्लस टु कलेजले ‘बाउन्सर’ राखेर अनुशासन कायम गर्न खोज्छन् । विद्यार्थी तह लगाउन ‘गुन्डा’ नै पाल्ने तहमा झरेका विद्यालयको सोचको स्तरले हाम्रा विद्यालय सफल हुन सक्दैनन् । विद्यार्थीमा समस्या देखिए बाउन्सर राख्ने होइन, विद्यार्थीमा केही समस्या भए बुझ्न र समाधान गर्न विद्यालय प्रशासनले ‘मनोपरामर्शदाता’ राखेर विद्यार्थीको समस्या बुझ्ने हो । पढाइबारे रहेका समस्या बुझ्न ‘शैक्षिक परामर्शदाता’ राख्ने हो । यति पनि नबुझ्ने हो भने विद्यालय सफल हुन सक्दैनन् ।

४. समानुभूति : आज हामी व्यक्तिगत रूपमा सफल छौँ, तर सामूहिक रूपमा असफल । किन ? किनकि, आज हाम्रा विद्यार्थीलाई हामीले सामूहिक भाव सिकाएकै छैनौँ  ।एकअर्काप्रति प्रेम, विश्वास, आदर, हेरचाह हाम्रो सिकाइ किन बन्न सकेको छैन ? हामीले कुनै विद्यार्थीलाई धेरै नम्बर ल्याउन सिकाउँदै गर्दा उनीहरूभित्र समानुभूतिको भाव कति जगाउन सक्यौँ ? म यहाँ सहानुभूतिको कुरा गरिरहेको छैन, समानुभूतिको कुरा गरिरहेको छु । अरूको पीडा वा संवेदनशीलतालाई महसुस गर्न हाम्रा विद्यालयले सक्नुपर्छ । हामी आफू सफल हुने दौडमा हाम्रा साथीभाइ, छिमेकी, आफन्तलाई सहयोग गर्न भुल्दै छौँ कि ? प्रतिस्पर्धा र जितको भोकले आज हाम्रा विद्यार्थीमा उदासीनता र आत्महत्याको दर बढेको छ । हाम्रा विद्यालयले प्रतिस्पर्धाको भावना घटाएर सामूहिक भाव जगाउन सकेको भए यो असफलताको भूत, डिप्रेसन र आत्महत्या पनि घट्थ्यो कि ?

स्टिभ जब्स र स्टिभ बोज्नियाकीले ‘एप्पल’को पहिलो कम्प्युटर बनाउनुअघि धेरै बहस गरेका थिए । प्रसिद्ध कम्पनीहरूले नयाँ आइडिया छलफल, बहसबाट नै निकाल्छन् । चार्लान जे नेमेथ र उनका साथीहरूले गरेको एउटा अध्ययनले निर्मम बहस र छलफलले १६ प्रतिशत बढी आइडिया आउने पायो । हाम्रा विद्यालयले बहस, आलोचनात्मक छलफल र सिर्जनशीलताको वातावरण बनाउनै सकेनन् । विद्यार्थीलाई एकअर्काको सहयोगी बनाउनै सकेनन् । प्रथम, दोस्रो, तेस्रो बनाउने दौडमा एक्लै हिँडायौँ ।

विद्यालयमा एउटा कार्यालय सहयोगीलाई शिक्षकले कस्तो व्यवहार गरेको छ, त्यो देखेर विद्यार्थीले त्यसलाई आफ्नो व्यवहार बनाउँछन् । उत्कृष्ट शिक्षा दिन्छु भनेर खुलेका विद्यालय कार्यालय सहयोगीदेखि प्रिन्सिपलसम्मको कामलाई उत्तिकै सम्मान गर्ने शिक्षा दिन सकिरहेका छैनन् भन्न धेरै अध्ययन गर्नै आवश्यक छैन, विद्यालयले विद्यालयमै गर्ने विभेद हेरे पुग्छ । प्रिन्सिपल र कार्यालय सहयोगीका जिम्मेवारी फरक होलान्, तलब पनि फरक होला, तर महत्‍व र अस्तित्वमा समान छन् । यो कुरा सिक्न, सिकाउन हाम्रा शैक्षिक संस्थाहरूलाई अझ कति समय लाग्ने हो ? तसर्थ, समानता, समानुभूति, सद्भाव, सहअस्तित्वजस्ता विषय हाम्रो विद्यालयको आधारभूत मूल्यमान्यता बन्न र व्यवहारमै झल्किन जरुरी छ ।
 

५. लगाव तथा गौरव : म यो प्रसंग धेरैचोटि उल्लेख गर्ने गर्छु । २०११ मा केही लुटेराहरूले एकजना महिलालाई लुट्ने क्रममा ट्रेनबाट फालिदिन्छन् । ती महिलाको एउटा खुट्टा ट्रेनमा काटिन्छ, अर्काे भाँचिन्छ । शरीर पूरै रगताम्मे हुन्छ । रातभर त्यहीँ जीवनसँग जुध्दै ती महिला भोलिपल्ट अस्पताल पुर्‍याइन्छिन् । उनको एउटा खुट्टा त काट्नैपर्ने हुन्छ, अर्काेमा रड राखिन्छ । उनलाई केही महिना अस्पतालमै राखेर आराम गर्न घर पठाइन्छ । तर, ती महिला घर फर्केर आराम गर्न मान्दिनन् । अस्पतालमै नयाँ लक्ष्य बनाउँछिन् । उनको लक्ष्य सुनेर पूरै अस्पताल, समाज चकित पर्छ । उनी संसारको सबभन्दा अग्लो शिखर सगरमाथा चढ्ने योजना बताउँछिन् । कोही हाँस्छन् । कोही दुर्घटनाको कारण मानसिक समस्या रहेको टिप्पणी गर्छन् । तर, उनी आफ्नो उद्देश्यमा डटिरहन्छिन् । आफ्नो तालिम सुरु गर्छिन् र घटना घटेको दुई वर्षपछि सगरमाथाको सफल आरोहण गर्छिन् । त्यतिले मात्रै होइन, सातै महादेशका सातैवटा ठूला चुचुरा चढ्छिन् । उनलाई केही कुराले रोक्न सक्दैन । उनी पूर्व भारतीय भलिबल खेलाडी अरुणिमा सिन्हा हुन् ।

झमक घिमिरेले खुट्टाले नै लेखेर मदन पुरस्कार जित्न सक्छिन्, खेल्ने गरेको दाहिने हात नै गुमाएर पनि क्यारोलीले सुटिङमा दुईपटक लगातार ओलम्पिक जितेर कीर्तिमान राख्न सक्छन्, कृत्रिम खुट्टासहित अरुणिमा सिन्हाले सगरमाथा चढ्न सक्छिन् भने हाम्रा विद्यार्थीले पनि सक्छन् । तर, विद्यालयले ‘तिमी सक्छौ’ भनेर हौसला दिनुपर्छ । जे पनि ‘तँ सक्दैनस्’ भनेर हौसला गिराउने होइन । विद्यालयले विद्यार्थीको लगाव पहिचान गर्नुपर्छ र विद्यार्थीहरूमा हौसला भर्नुपर्छ ।

हरेक विद्यार्थीलाई आफ्नो भूमिकामा सकारात्मक सोच राखी उद्देश्यमुखी बनाउन विद्यालयले नेतृत्व लिने हो भने प्रत्येक विद्यार्थी सफल हुन सक्छन् । त्यो सफलतामा सारा संसारले गौरव गर्न सक्छ । तर, हाम्रा कलेजले तिमीहरू महत्‍वपूर्ण छौ र तिमीहरू सक्छौ भन्ने भाव नै दिन सकेको छैन । केही व्यक्तिलाई परीक्षामा नम्बर ल्याउन रटाउने भूमिकाबाट अब पनि हाम्रा विद्यालय माथि नउठ्ने हो भने हामीले धेरै प्रतिभा गुमाउँदै जानेछौँ । हाम्रा विद्यालय विद्यार्थीको जीवनमा असफल भई नै रहनेछन् ।

अन्तिममा, 

हामी सुसंस्कृत सामाज निर्माण गर्न, समानतामा आधारित समृद्धि प्राप्त गर्न, विवेकशील÷चेतनशील नागरिक निर्माण गर्न चाहन्छौँ भने अब हामीले हाम्रा विद्यालयको पुनर्गठन र पुनर्निर्माण गर्न जरुरी छ । विद्यालय भनेको विज्ञानको सिद्धान्त घोकाउने अनि अकाउन्टको डेबिट–क्रेडिटको हिसाब गराउने ठाउँ मात्र नभएर विद्यार्थीलाई सीप सिकाउने ठाउँ पनि हो । संस्कार सिकाउने ठाउँ त हो नै । अब शिक्षालाई अर्काे तहमा लान नेतृत्व गर्ने वेला आएको छ । विद्यालयले यस्तो वातावरण निर्माण गर्न जरुरी छ, जहाँ हरेक विद्यार्थीले फुल्न सकून् । फेरि दोहो¥याउँछु, विद्यालयले वातावरण मात्र दिने हो, फुल्ने त विद्यार्थी आफैँ हुन् । हाम्रा कलेज विद्यार्थीलाई उनीहरूका उद्देश्यसँग जोड्ने धागो बन्न जरुरी छ ।

विद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई माथि उल्लेख गरिएका पाँच आधारभूत मूल्यमान्यताबारे चल्न र व्यवहारमा लागू गर्न सिकाए शिक्षामा चमत्कार हुन सक्छ । शिक्षक/कर्मचारीहरूबीच वेला–वेला आफ्ना विद्यालयको भित्तामा लेखिएका मूल्यमान्यताबारे छलफल हुने वातावरण बने शिक्षक, कर्मचारी र प्रधानाध्यापकहरूकै बुझाइ, आस्था र दृष्टिकोणमा पनि फरकपन आउने थियो । आखिर, राम्रा कुरा, उद्देश्य र मूल्यमान्यता भित्तामा लेख्न नभई व्यवहारमै उतार्न न लेखिएका हुन् ।

(पाण्डे विवेकशील साझा पार्टीका संयोजक हुन्)