१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेशले पुनः सिफारिस गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५६:oo

गण्डकी प्रदेश सरकारले प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई पुनः सिफारिस गर्ने निर्णय गरेको छ। 
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए। 

पोखरालाई सबै हिसाबले देशकै पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त रहेकाले केन्द्र सरकारलाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताए। ‘मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्नेे निर्णय गरेको छ। यहाँका पर्यटन व्यवसायीहरूको माग र सबै हिसाबले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त आधार रहेकाले हामीले केन्द्र सरकारसमक्ष पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेका छाैँ,’ उनले भने, ‘यसका लागि सबै आधार तयार गर्न पर्यटन मन्त्रालयलाई जिम्मेवारीसमेत दिइएको छ।’

अघिल्लो सरकारले गरेको निर्णयमा अहिलेको सरकार बेखबर 

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि नै पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गरेर पठाएको थियो। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा आयोजना गरेको मुख्यमन्त्रीहरूको भेला र त्यसलगत्तै तत्कालीन उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीहरूको भेलामा पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि समर्थन गर्न आग्रह गरिएको थियो। गण्डकी प्रदेशका निवर्तमान पर्यटनमन्त्री विकास लम्सालका अनुसार लुम्बिनी प्रदेशबाहेक अरू सबै प्रदेशले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न समर्थन गरेका थिए। लगत्तै गत वर्षको मंसिरमा भएको मन्त्रिपरिषद्को बैठकले केन्द्र सरकारलाई पोखरालाई प्रदेश राजधानी घोषणा गर्न निर्णयसहित सिफारिस पठाएको हो। 

त्यसलगत्तै १० माघमा बसेको पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई लेखिपठाएकोमा प्रदेश सरकारप्रति आभारसमेत प्रकट गरेको थियो। तर, मन्त्रिपरिषद्को बैठकले पुनः पोखरालाई देशको पर्यटकीय राजधानी घाषणा गर्ने निर्णय गरेको हो। 

हामीलाई स्मरण छैन : मन्त्री खड्का

पूर्ववर्ती सरकारका पालामा नै भएको निर्णयलाई वर्तमान सरकारका वेला दोहोर्‍याइएको विषयमा जिज्ञासा राख्दा प्रदेश सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले अघिल्लो सरकारले गरेको निर्णयप्रति अनभिज्ञता प्रकट गरे। उनले पूर्ववर्ती सरकारले निर्णय गरिसकेको भए आफूहरूले पुनः सिफारिस नभई कार्यान्वयनमा ताकेता गर्ने बताए। ‘सरकार अविछिन्न हो। पूर्ववर्ती सरकारले निर्णय गरेको हामीलाई स्मरण भएन। कर्मचारी प्रशासनले पनि हामीलाई स्मरण गराएन।’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा मन्त्री खड्काले भने, ‘पूर्ववर्ती सरकारले निर्णय गरेको भए हामीले फेरि निर्णय गरिरहनुपरेन। हामीले किन कार्यान्वयन भएन भनेर केन्द्रलाई ताकेता गर्छौँ।’

यसकारण पोखरा पर्यटकीय राजधानी

पोखरा र यस वरपरको क्षेत्र अर्थात् समग्र गण्डकी प्रदेशलाई नै पर्यटकीय केन्द्रको रूपमा लिन सकिन्छ। प्रदेश सरकारले आफ्नो पहिलो प्राथमिकतामा पर्यटन क्षेत्रलाई प्राथमिकतामा (कोरोना कहरबाहेक) राखेको छ। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने अवस्थामा छ। पोखरा काठमाडौं र मुग्लिन जोड्ने सडक चौडा हुने क्रममा छ। पोखरा र लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग पनि चौडा गर्ने योजनामा छ। कोरला–पोखरा र पोखरा– सुस्ता  जोड्ने सडक पूर्वाधार बन्ने क्रम जारी  छ। यी पूर्वाधार निर्माण सम्पन्न हुन अब धेरै समय नलाग्ने बताइएको छ। 

विश्व प्रसिद्ध अन्नपूर्ण राउन्डको ट्रेकिङ, पोखरा र यस वरपर हुने साहसिक पर्यटकीय गतिविधि, देशकै मध्यभाग, उपयुक्त हावापानी, फेवातालसहित रामसार सूचीमा सूचीकृत सात ताल, मनोरम अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रे हिमाल, महत्वपूर्ण धार्मिक स्थलहरू, यस क्षेत्रमा रहेका विभिन्न  जातजाति अनि भाषाभाषीका संस्कृतिजस्ता धेरै पर्यटकीय आधारहरूले पोखरा राजधानी घोषणाका लागि तयारी अवस्थामा रहेको प्रदेश सरकारको ठहर छ। 

पर्यटकीय राजधानी घोषणा गर्दा देशभित्र र बाहिर ध्यान केन्द्रित हुने र पर्यटन क्षेत्रमा लगानी पनि त्यही ढंगले बढ्ने अनुमान गरिएको छ। 

ad
ad