१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रेडक्रस सोसाइटीको अधिवेशनस्थलमा तोडफोड : असन्तुष्ट पक्षको अवरोधपछि विधान अधिवेशन स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:१६:oo

असन्तुष्ट पक्षको अवरोधपछि नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्यांक्वेटमा आइतबार सोसाइटको अधिवेशन सुरु गरिएको थियो । अधिवेशनस्थलमा असन्तुष्ट पक्षले तोडफोड गरेपछि अधिवेशन स्थगित भएको हो । सोसाइटीका उपकोषाध्यक्ष होम पाठकका अनुसार केन्द्रीय सदस्य मोहन पोखरेल, सुबोध सिंह, उमेश थापा, श्याम लुइँटेलको नेतृत्वमा आएका असन्तुष्ट पक्षले अधिवेशनको ब्यानर तथा कुर्सी तोडफोड गरेका हुन् । हलमा हातपातकै स्थिति हुन थालेपछि अधिवेशन स्थगित गरिएको पाठकले बताए ।

उनले भने, ‘सोसाइटको अधिवेशन सुरु भएको थियो । कार्यक्रमस्थलमा केही असन्तुष्ट पक्ष प्रवेश गरे । तोडफोड गरे । ब्यानर च्याते । कुर्सी भाँचे । रोक्न खोज्दा हात हालाहालको अवस्था आयो । प्रहरीले पनि उनीहरूलाई रोक्न खोजेन । त्यसैले हामीले अधिवेशन स्थगित गर्‍यौँ ।’ अधिवेशनले संघीय प्रणालीअनुसार पहिलोपटक विधान संशोधन गर्ने तयारी थियो । समावेशी सिद्धान्त आत्मसात् नगरेकाले सोसाइटीको हालको विधान अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आइएफआरसी)ले पनि अस्वीकृत गर्दै आएको थियो । उपकोषाध्यक्ष पाठकले भने, ‘विधान संघीय प्रणालीअनुसार छैन । समावेशी सिद्धान्तलाई पनि यसले समेटेको छैन । त्यसैले आइएफआरसीले पनि सोसाइटीको हालको विधानलाई अस्वीकृत गर्दै आएको छ । त्यसो हुँदा हामीले विधान अधिवेशन गर्न खोजेका हौँ । तर, असन्तुष्ट पक्षले रोके ।’

 १६ जिल्ला शाखा विघटनपछि असन्तुष्टि बढ्यो
सोसाइटीको केन्द्रीय कार्य समितिले विधानविपरीत मातहतका १६ जिल्ला कार्य समिति शाखा विघटन गरेपछि विरोधमा उत्रिनुपरेको असन्तुष्ट पक्षका मनोज थापाले बताए । केन्द्रीय कार्य समितिले कार्यावधि पुगेको भन्दै शनिबार मातहतका १६ जिल्ला कार्य समिति विघटन गरी तदर्थ समिति गठन गरेको थियो । त्यसअघि ६ जिल्ला र २ प्रदेश समिति विघटन गरेको थियो । विघटित र तदर्थ दुवै कार्य समितिका पदाधिकारी प्रतिनिधिका रूपमा अधिवेशनमा सहभागी भएका थिए । विघटित कार्य समितिका पदाधिकारीले शाखा विघटन गर्नुको कारण माग्दै सभाहलमा माग गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो । 

असन्तुष्ट पक्षका मनोज थापाले भने, ‘केन्द्रीय कार्य समितिले विधानविपरीत जिल्ला शाखाहरू विघटन गरेपछि विधान अधिवेशनमा हामीले त्यसको कारण मागेका थियौँ । अधिवेशन नै रोक्न भनेका होइनौँ । सभाहलमा तोडफोड भएको छैन ।’दुवै पक्षको विवादले सोसाइटीको विधान र राष्ट्रिय अधिवेशन पटक–पटक स्थगित हुँदै आएको छ । पटक–पटक म्याद थपेपछि पनि अधिवेशन नहुँदा सोसाइटीको नवीकरणसमेत हुन सकेको छैन । अवरोधकै बीच सोसाइटीले गत २३ असोजमा साधारणसभा भने गरेको थियो । अधिवेशन नहुँदा सोसाइटीको केन्द्रीय कार्य समिति डेढ वर्षदेखि तदर्थ समितिको भरमा चल्दै आएको छ । 

ad
ad