मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २६ शुक्रबार ०७:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थामिएन सेयर बजारको गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २६ शुक्रबार ०७:३६:००

फाइनान्स समूहका लगानीकर्ता सबैभन्दा बढी घाटामा

सेयर बजार सूचकांक नेप्से घट्नेक्रम रोकिएको छैन । तिहारपछि नेप्सेमा लगातार करेक्सन भइरहेको छ । तिहारअघि पनि उच्च करेक्सन भई प्यानिक बनेका लगानीकर्ता पछिल्लो बजारबाट अनपेक्षित निराश बन्न पुगेका छन् । पछिल्लो समय बुलिस ट्रेन्डको रेखालाई छोडेको हो कि भन्ने लगानीकर्ताबीच आशंका हुन थालेको छ । ठूला लगानीकर्ता बजारबाट आत्तिएका नदेखिए पनि साना लगानीकर्ता थोरै भए पनि नाफा बुक गर्नेतर्फ लागेको देखिन्छ । 

बिहीबार नेप्सेको भारी गिरावटसँगै यसअघि केही सुधारात्मक देखिएको कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समयको बजार हल्लाले पनि लगानीकर्तालाई निराश गराएको छ । ब्याजदर, मौद्रिक नीति समीक्षाबाट झनै नीति कसिलो हुने हल्ला अहिले पुँजी बजारभित्र चल्न थालेको छ । क्लब हाउस, टिकटकमा समेत बजारप्रति अनर्गल प्रचार गर्नेको संख्या बाक्लो छ । त्यसले पनि बजारलाई प्रभाव पार्ने गरेको लगानीकर्ता बताउँछन् । बजार अझै घट्ने आशंकाले हतारिएर सेयर बेच्नेहरू पनि छन् ।

दुई दिनको बजार कारोबारलाई हेर्ने हो भने फाइनान्स समूहको सूचकमा सर्वाधिक गिरावट आएको छ । फाइनान्स समूहमा अघिल्लो दिन बुधबार ५ प्रतिशतभन्दा बढीले गिरावट आएको थियो भने बिहीबार पनि ४ दशमलव २२ प्रतिशतले गिरावट आएको हो । कारोबारमा आएका सबै समूहको सूचकमा गिरावट आएको छ । विकास बैंक, जीवन बिमा, निर्जीवन बिमाका लगानीकर्ता निराश बनेका छन् ।

बिहीबार नेप्से सूचक ५९ दशमलव ५७ अंकले घटेर दुई हजार ६ सय ९० दशमलव २९ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । बिहीबार सेन्सेटिभ इन्डेक्स १० दशमलव ६३ अंकले घटेर पाँच सय दुई बिन्दुमा पुगेको छ । महालक्ष्मी विकास बैंक र आइसिएफसी फाइनान्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको छ । त्यस्तै, शिवश्री हाइड्रोपावर, वरुण हाइड्रोपावर, युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ । सिनर्जी पावर डेभलपमेन्ट, राधी विद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, सानिमा माई हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

अधिकांश कम्पनीहरूको सेयर मूल्यमा गिरावट आउँदा मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । गुडविल फाइनान्स र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले बढेको छ । महालक्ष्मी विकास बैंकको सर्वाधिक ४७ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, नबिल बैंकको ३१ करोड आठ लाख रुपैयाँको कारोबार भएको छ ।