मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार ०६:५७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

उपत्यकामा डेंगुको संक्रमण : जिका भाइरसको उच्च जोखिम 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार ०६:५७:००

पछिल्लो चार महिनामा काठमाडौंमा ३२ जनामा डेंगु देखिएको छ । राजधानीका विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट उनीहरूमा डेंगु पुष्टि भएको हो । गत साउनदेखि २२ कात्तिकसम्ममा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखाले जनाएको छ । आर्थिक वर्ष ०७७/०७८ मा ४ सय ८९ जनामा डेंगु पुष्टि भएको थियो । त्यसयता यो संख्या बढ्दो क्रममा गएको अधिकारीहरूले बताएका छन् । एडिज जातको लामखुट्टेले टोक्दा डेंगु लाग्छ । रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु लगाउने लामखुट्टेबाटै जिका भाइरस पनि मानिसमा सर्ने भएकाले थप जोखिम बढाएको छ । 

काठमाडौंको व्यस्त स्थानमा डेंगु देखिएको छ । मुख्यगरी अनामनगर, घट्टेकुलो, मैतीदेवी क्षेत्रमा यसको जोखिम बढी देखिएको छ । महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार अनामनगरमा १, बागबजार २, डिल्लीबजार १, बानेश्वर १, घट्टेकुलो ६, जैशीदेवल १, कमलपोखरी १, कान्तिपथ १, काभ्रेस्थली १, कुलेश्वर १, मैतिदेवी २, पुतलीसडक १, सामाखुसी १, शान्तिनगर १ र काठमाडौं ठेगाना उल्लेख भएका तर स्पष्ट स्थान नखुलाइएका ११ जना गरी ३२  जना संक्रमित फेला परेका छन् । स्थान नखुले पनि घट्टेकुलोआसपासको भएको स्वास्थ्यकर्मीहरूको अनुमान छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल डेंगुले जिका भाइरसको जोखिम बढाएको बताउँछन् । भाइरस मात्रै फरक हो उनले भने, ‘संक्रमण गराउने लामखुट्टे भनेको एउटै (एडिज) जात हो । त्यसैले पनि अहिले डेंगु फैलाएको लामखुट्टेले जिका पनि फैलाएको हुन सक्छ ।’ भारतमा भएको केस नेपालमा नहोला भन्न नसकिने उनी बताउँछन् । उनले थपे, ‘नेपालमा जिका भाइरसको परिक्षण सुरु भएको छैन । यदि परीक्षण भए केस फेला पर्ने सम्भावना बढी छ ।’ जिका भाइरस लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो । ‘गर्भवती महिलालाई यो भाइरसको संक्रमण भए गर्भपतन हुने वा नवजात शिशुको मस्तिष्‍कको विकास नहुन सक्छ,’ डा. पौडेल भन्छन् । जिका भाइरसको परीक्षण गर्न नेपालमा किट उपलब्ध छैन । 

जिका भाइरस र डेंगु रोकथाम गर्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु मात्रै हो, यसका लागि पानी जमेको ठाउँ, झाडी, फोहोर भएको ठाउँ सफा राख्नुपर्छ, घरका झ्याल ढोका बन्द गर्ने, झुल टाँगेर सुत्न चिकित्सकहरूले सुझाब दिएका छन्
 

स्वास्थ्य मन्त्रालयले सम्भावित जोखिमलाई कम गर्न बुधबारदेखि वडाहरूमा जनचेतना फैलाउन थालेको छ । लामखुट्टेको लार्भा मार्ने काम सुरु भएको छ । डा. पौडेलले घरवरिपरि सफा, पानी जम्ने खाल्टा पुर्न र भाँडाहरू छोपेर राख्न अनुरोध गरेका छन् । 

 यस्ता छन् जिका संक्रमणका लक्षण
विश्व स्वास्थ्य संगठनका अनुसार जिका संक्रमित व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी र जोर्नीमा डाबर आउने, आँखा रातो हुने हुन्छ । यी लक्षणहरू सात हप्तासम्म रहन्छन् । 
जिका भाइरस सन् १९४७ मा सबैभन्दा पहिले युगान्डामा पहिचान भएको थियो ।

पहिलोपटक बाँदरमा पुष्टि भएको जिका सन् १९५२ मा तान्जानिया र युगान्डामा मानिसमा पनि भेटिएको थियो । एसिया तथा प्रशान्त क्षेत्र, अफ्रिका, अमेरिकामा जिकाले महामारीको रूप लिइसकेको छ । सन् २०१५ मा ब्राजिलमा जिका भाइरसले महामारीको रूप लिएको थियो । 

जिका भाइरस र डेंगु रोकथाम भनेको लामखुट्टेको टोकाइबाट बच्नु मात्रै हो । यसका लागि पानी जमेको ठाउँ, झाडी, फोहोर भएको ठाउँ सफा राख्नुपर्छ । घरमा झ्यालढोका बन्द गर्ने, झुल टाँगेर सुत्न चिकित्सकहरूले सुझाब दिएका छन् ।