
नबिल बैंक लिमिटेडले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ पाएको छ । बैंकले एसएमई फाइनान्स र अफ द इयर–एसियाअन्तर्गत विशिष्ट सम्मान पाएको हो । यो सम्मान विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आइएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणका लागि जी–ट्वान्टीको ग्लोबल साझेदारी (जिपिएफआई)द्वारा अनुमोदित ग्लोबल एसएमई फाइनान्स पुरस्कार भएको बैंकले जनाएको छ । आइएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई गत आवमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको बैंकको दाबी छ ।
कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा बैंकले रणनीतिक रूपमा एसएमई क्षेत्रको उत्थानमा ध्यानकेन्द्रित गरेको जनाएको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यवसाय प्रक्रियालाई नवीनतम नीति तथा प्रक्रियामार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रूपमा कर्जा उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ ।
सम्मानित भएसँगै प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाइ सामना गरिरहेका एसएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्याउन प्राथमिकताका साथ काम गरिरहेको बताए । बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोगमार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तीय पहुँच पुर्याउन ध्यानकेन्द्रित गरेको उनको भनाइ थियो । अघिल्लो महिना पनि बैंकले एसियाली विकास बैंक (एडिबी)बाट सन् २०२१ का लागि नेपालको अग्रणी साझेदार बैंकका रूपमा मान्यता पाएको जनाइएको छ ।