१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सर्ज स्केम्यान
२o८१ बैशाख २३ आइतबार o८:५६:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘हवाना सिन्ड्रोम’को रहस्य

हवाना सिन्ड्रोमको कारणसम्बन्धी ठोस प्रमाण नपाइए पनि यसका पछाडि रुसको हात रहेको देखाउने प्रयास भइरहेको छ

Read Time : > 3 मिनेट
सर्ज स्केम्यान
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:५६:oo

शीतयुद्धको समयमा म एक रिपोर्टरको रूपमा सोभियत संघ खटिएको थिएँ । मस्को ओर्लिएलगत्तै मलाई कसैले पछ्याइरहेको अनुभव भयो र त्यो सोचसँगै मेरो आँखा फरफराउन थाल्यो । आँखा यति धेरै फरफराउन थाल्यो कि मलाई काम गर्नसमेत अप्ठ्यारो उत्पन्न हुन थाल्यो । धेरै भएपछि म आफ्नो आँखामा के भएको रहेछ भनेर जँचाउन पेरिस गएँ । तर, पेरिसमा ओर्लिएलगत्तै आँखाको समस्या कम भयो । सबै परीक्षणपछि पनि डाक्टरले आँखामा कुनै समस्या भेटेनन् । मस्को फर्किएपछि अमेरिकी दूतावासका डाक्टरसँग भेट हुँदा मैले यो घटना उनलाई सुनाएँ । उनले यो समस्या अरू धेरै अमेरिकी अधिकारीमा पनि देखिएको बताए । ‘यहाँ ओर्लिएपछि धेरैमा आँखाको समस्या देखिन्छ, तर केही समयपछि आफैँ ठीक भएर जान्छ,’ उनले बताए । सोभियत संघमा ओर्लिएपछि ममा देखिएको आँखाको समस्या खासमा ‘म एक प्रतिद्वन्द्वी राज्यमा छु’ भन्ने सोचले उत्पन्न गराउने दबाबले भएको डाक्टरको संकेत थियो । 

सोभियत संघमा बस्ने हरेक अमेरिकीले त्यहाँको गुप्तचर एजेन्सी केजिबीबाट निगरानी हुने गरेको कथा सुनाउँथे । कसैको सिलिङको बत्तीबाट अडियो उपकरण झरेको कसैको बन्द कोठापछाडि रेकर्डिङ उपकरण भेटिएको सुनिन्थ्यो । एकजना सहकर्मी रातमा उनको वासस्थानमा आउने रहस्यमयी प्रकाशले आत्तिएका थिए । तर, पछि उनले सो प्रकाश मस्कोमा चल्ने पुरानो ट्रली बसबाट आएको थाहा पाए । अर्थात्, भयभीत हुनुको अर्थ तपाईंमा केही कमजोरी छ भन्ने हुँदैन । अमेरिकी कूटनीतिज्ञ तथा गुप्तचरहरूमा ‘हवाना सिन्ड्रोम’ भनिने मनोवैज्ञानिक लक्षणहरू देखिन थालेपछि मलाई यो पुरानो घटनाको सम्झना भयो । सन् २०१६ क्युवाको राजधानी हवानास्थित अमेरिकी दूतावासका कर्मचारीमा पहिलोपटक पहिचान भएको यो समस्यालाई सोही स्थानको नाममा ‘हवाना सिन्ड्रोम’ भन्न थालियो । तर, उस्तै लक्षण अन्य धेरै स्थानमा दर्ज हुन थालेका छन् । सबैभन्दा पछिल्लो समय कोलम्बियामा पुनः अमेरिकी अधिकारीमा यो लक्षण देखिएको छ ।

‘हवाना सिन्ड्रोम’ भएका मानिसमा टाउको दुख्ने, वाकवाकी महसुस हुने, सन्तुलन गुमाए झैँ महसुस हुने र सुन्न नसक्ने जस्ता लक्षण देखिएका छन् । पाँच वर्षपछि पनि यसको कारण पत्ता लागेको छैन । यो गोप्य निगरानी संयन्त्रको उपस्थितिका कारण महसुस हुने दबाबले नसामा परेको आघात हो वा यो अमेरिकाको शत्रु रुसले गुप्तचर र कूटनीतिज्ञको कुरा सुन्न र तिनलाई आतंकित बनाउन प्रयोगमा ल्याएको नयाँ हतियारको परिणाम हो ? हालसम्म ‘हवाना सिन्ड्रोम’को कारण बुझ्ने धेरै प्रयास भए पनि कुनै निचोड निस्कन सकेको छैन । धेरै सिद्धान्तहरू अघि सारिएका छन् । अधिकांश सिद्धान्तमा माइक्रोवेभ अथवा अल्ट्रासाउन्डको प्रयोग गरेर ध्वनि तथा प्रकाशको बिमले प्रहार गरेको समेटिएका छन् । तर, प्रकाश वा ध्वनि बिम प्रयोगसम्बन्धी सबैजसो सिद्धान्त गलत पाइएका छन् । सबैभन्दा धेरै चर्चामा आएको एक प्रसंगमा हवानामा लक्षण देखिएको समयमा धेरैले केही बजेजस्तो सुनेको बताएका थिए । तर, पछि सो आवाज चर्को आवाज निकाल्ने किथिरका (किरा)को समागमको आवाज रहेछ । 

‘हवाना सिन्ड्रोम’ भएका मानिसमा टाउको दुख्ने, वाकवाकी हुने, सन्तुलन गुम्ने र सुन्न नसक्ने जस्ता गम्भीर लक्षण देखिएका छन् । पहिलोपटक पहिचान भएको पाँच वर्षपछि पनि यसको कारण पत्ता लागेको छैन । 

हवाना सिन्ड्रोम हुनुमा मास हिस्टेरिया वा अन्य मानसिक समस्याहरूजस्तै कन्भर्सन डिसअर्डर, फङ्सनल न्युरोलोडिकल डिसअर्डरको सम्भावना पनि प्रस्तुत गरिएको छ । यस्ता विचार राख्नेहरूका अनुसार दबाब तथा आघातबाट उत्पन्न हुने विभिन्न लक्षण अन्य रोगबाट व्याख्या गर्न सकिँदैन । यस्तो लक्षण एकजनामा देखिएपछि उस्तै अवस्थामा काम गर्ने समूहमा फैलिने तर्क गरिन्छ । साइकोसोमाटिक (मानसिक स्थितिले सिर्जना गर्ने शारीरिक असहजता) प्रतिक्रिया शारीरिक रोगको पीडाजत्तिकै वास्तविक हुन्छन् । यसमा लज्जित हुनुपर्ने केही छैन । 

म सोभियत संघमा गएको केही पछि आँखा फरफराउने समस्या आफैँ रोकियो । आँखाको समस्या ठीक भएपछि त्यहाँ बसिन्जेल मलाई कसैले पछ्याइरहेको छ कि वा मैले बोलेको कुराहरू कसैले रकर्ड गरिरहेको छ कि भन्ने सोच आइरह्यो । र, संघ छोडेर विमान उडेलगत्तै तनाव कम भएको अझै मलाई सम्झना छ । त्यसैले मनोवैज्ञानिक समस्या भनेर यसलाई हल्का लिनुहुँदैन, किनकि यसका असरहरू शारीरिक पीडाबराबर हुन्छ । हाल ‘हवाना सिन्ड्रोम’बाट प्रभावित दुई सयभन्दा बढी अमेरिकी अधिकारीको समस्याको जरोमा पुग्न सरकारले तदारुकता देखाउनुपर्छ । आज अमेरिकामा कायम ध्रुवीकृत राजनीतिमा यसको वस्तुगत कारणमा सबैको सहमति हासिल गर्न असम्भव हुन सक्छ । हवाना सिन्ड्रोमको कारणबारे ठोस प्रमाण हालसम्म पाइएको छैन । र, यसका लक्षण भारत, भियतनाम, अस्ट्रिया, चीन, सर्बिया र रुसजस्ता फरक–फरक ठाउँमा पाइँदा पनि अमेरिकाभित्र यो समस्या शत्रुशक्ति, त्यसमा पनि रुसले गराएको देखाउने प्रयास भइरहेको छ । यी बिरामीविरुद्धको प्रतिक्रियाको समन्वय गर्न अमेरिकी विदेश मन्त्रालयकी एक अवकाशप्राप्त अधिकारीलाई बोलाइएको थियो । तर, उनलाई ६ महिनापछि नै जिम्मेवारीबाट हटाइयो ।

रोगको कारणमा ‘मास हिस्टेरिया’ पनि हुन सक्ने सम्भावनालाई अस्वीकार नगर्नु पनि उनको बर्खास्तीको कारण बताइएको छ । भियनास्थित सिआइएका प्रमुखले यो समस्यालाई गम्भीरतापूर्वक नलिँदा सो पदबाट हटाइएको छ । सेम्टेम्बरमा अमेरिकी कंग्रेसले ‘हेल्पिङ अमेरिकन भिक्टिम्स एफ्लिक्टेड बाई न्युरोलोजिकल एट्याक्स (हवाना) एक्ट’ पास गर्‍यो । यसले मनोवैज्ञानिक लक्षणबाट पीडित अमेरिकी अधिकारीलाई आर्थिक सहयोग प्रदान गर्नेछ । 

यो विधेयकका एक लेखक सिनेटर मार्को रुवियोले लक्षणलाई ध्वनि वा प्रकाशको बिमको आक्रमणको सम्भावनालाई अस्वीकार गर्नेहरू विदेशी सरकारको पैसा खाएका ‘एजेन्ट’ भएको आरोप लगाए । तर, हवाना सिन्ड्रोम कुनै प्रकारको अल्ट्राभ्वाइलेट अथवा माइक्रोवेभ प्रकाशको बिमद्वारा आक्रमण भएको अस्वीकार गर्नेमा धेरै वैज्ञानिक छन् । तिनैमध्ये एक लस अलामोस नेसनल ल्याबोरेटरीका पूर्वकेमिस्ट चेरिल रोयफरले ‘फरेन पोलिसी’मा लेख लैख्दै यसको सम्भावना खण्डन गरेकी छन् । लेखमा रोयफरले प्रकाश वा ध्वनि बिमले आक्रमण गर्न सकिने प्रविधि अस्तित्वमै नरहेको र अन्य देशसँग हुने सम्भावना रहनेप्रति आशंका व्यक्त गरेकी छन् । ‘असाधारण दाबी गर्नेहरूले असाधारण प्रमाण पेस गर्नुपर्छ र यस्तो रहस्यमयी हतियारको अस्तित्व रहेको कुनै प्रमाण पेस गरिएको छैन,’ उनले लेखेकी छन् । हामीले आधारहीन अनुमान गरेर डर बढाउनुभन्दा वस्तुगत अनुसन्धानमार्फत यथार्थ बाहिर ल्याउन जोड दिनु उत्तम हुन्छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
न्युयोर्क टाइम्सका लागि विगतमा मस्को, बोन र जेरुसेलमका ब्युरो प्रमुख रहेर काम गरिसकेका पत्रकार सर्ज स्केम्यान हाल सो पत्रिकाका सम्पादकीय बोर्डका सदस्य हुन् । 

ad
ad