बाढीले जुम्लाका २३ सिँचाइ नहरमा क्षति

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

कात्तिक पहिलो साताको अविरल वर्षापछि आएको बाढीले जुम्लाका २३ सिँचाइ नहरमा (कुलो) क्षति पुर्याएको छ । बाढीले विशेषगरी तातोपानी र तिला गाउँपालिकामा रहेको सिँचाइ नहरमा क्षति गरेको हो ।  बाढीले तिला गाउँपालिका–४ मा १५ लाख रुपैयाँमा निर्माण गरिएको माथिल्लो लासी सिँचाइ कुलोमा क्षति पुर्याएको छ । यस्तै, त्यति नै लागतमा बनाइएको नाङगाँडा, किमिरुख, बालु सिँचाइ योजनाका तीनवटा कुलोमा पनि क्षति पुर्याएको छ । दश लाखको लागतमा बनाइएको बिडुल्ली सिँचाइ नहर, १५ लाखमा निर्मित नाउला, सिमकुलो सिँचाइ योजना तथा दश लाखमा बनाइएको सिमकुलो अडाडी र त्यति नै लागतको भुडारीज्युला सिँचाइ आयोजनाको कुलोमा क्षति पुगेको छ । 

बाढीले भारखेत सिमकुलो सिँचाइ (१५ लाख), रावतवाडा सापुल्ली सिँचाइ योजना (२५ लाख), गाडापाडी सिँचाइ योजना (१० लाख), तलिचौर सिँचाइ कुलो (१५ लाख), दाप्ले सिँचाइ कुलो (१५ लाख), हप्पलीघट्ट सिँचाइ योजना (२० लाख), लिडाला सिँचाइ योजना (१५ लाख), लामीडाँडा सिँचाइ योजना (४ लाख) मा क्षति पु¥याएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

चन्दननाथ नगरपालिका १ र २ माझकुलो सिँचाइ योजना (२० लाख), चन्ददननाथ–१ ठिन्केकुलो सिँचाइ योजना (१५ लाख), चन्दननाथ नगरपालिका–३ डिल कुलो सिँचाइ योजना (१५ लाख), चन्ददननाथ नगरपालिका–१० बोहरागाउँ घट्टेखोला सिँचाइ योजना र माछीखेत पखुलो सिँचाइ योजना (१० लाख) मा बाढीले क्षति गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । बाढीले सिँचाइ नहर कुलो बगाउँदा करोडौँको क्षति भएको कृषि प्राविधिक लक्षिराम महतले बताए । उनले भने, ‘अर्काे वर्ष बाली उत्पादन वृद्धि गर्न क्षति भएको सिँचाइ नहर कुलो निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’ 

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढीप्रभावित क्षेत्र पहिचान गरी विषयगत कार्यालयले काम अगाडि बढाउन निर्देशन दिएका छन् । राहत तथा उद्धारमा ढिला गर्न नहुने भन्दै तत्कालीन जिल्लाका विषयगत कार्यालय र स्थानीय सरकारले छिटो काम गर्नुपर्नेमा उनले जोड दिए । 

See More On

सुझावित समाचार