नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफू स्वयंलाई राजा ठान्ने गरेको बताएका छन्। बालुवाटारमा भव्य प्रधानमन्त्रीनिवास र प्रधानमन्त्रीको निजी कार्यालय बन्दै गरेको विषय जोड्दै चितवनमा शुक्रबार प्रचण्डले यस्तो बताएका हुन्।
‘केपी ओलीले त त्योे दरबार जिन्दगीभर छाड्नुपर्दैन भन्ने ठानेर थाइल्यान्ड, इटली, रोमबाट महँगामहँगा सामान ल्याएर थुपारेका रहेछन्। सरकारले प्रधानमन्त्री बस्ने राम्रै ठाउँ बनाउन खोज्यो भन्न त सकियो। तर, त्यो सामान देख्दा अरू त अरू शेरबहादुर देउवाले पनि जिब्राे टोक्नुभएको छ। अब मैले यो दरबार छोड्नुपर्दैन भन्ने सोचेका रहेछन्,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने।
जिन्दगीभर प्रधानमन्त्री हुन्छु भनी अर्बौँको सामान विदेशबाट ल्याउनेलाई जनताले चिन्नुपर्ने उनले बताए। उनले भने, ‘यो कुरा त जनतालाई थाहा हुन पर्याे । अर्बौँको सामान विदेशबाट ल्याउने र जिन्दगीभर म प्रधानमन्त्री हुन्छु भन्ने देख्ने प्रधानमन्त्रीलाई नेपाली जनताले चिन्नुपर्याे र आउने चुनावमा के सजाय दिनुपर्ने हो। जनतालाई नै फैसला गर्न दिनुपर्याे।’