जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको छ। दसैँ सकिएर कार्यालय खुलेसँगै नागरिकता र पासपोर्ट बनाउने सेवाग्राहीको चाप बढेको हो।
सेवाग्राहीको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। उनका अनुसार डिभी भर्न र वैदेशिक रोजगारका लागि राहदानी बनाउनेको चाप बढेपछि कार्यालयले सेवा अवधि बढाएको हो। बेलुकी सवा ६ बजेसम्म सेवा प्रवाह भइरहेको उनले बताए। ‘कार्यालयको समयावधि सकिए पनि सेवाग्राही धेरै टाढाबाट आइरहनुभएको हुन्छ। कार्यालय समयावधि सकिए पनि सेवाग्राही रहुन्जेलसम्म हामीले सेवा दिइरहेका छौँ,’ उनले भने।
पछिल्लो समय दैनिक सयभन्दा बढी सेवाग्राही कार्यालयमा आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन्। छोरीको नागरिकता बनाउन सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आएका सेवाग्राही जिल्लाको कालिका गाउँपालिका– १ राम्चेका सोमबहादुर तामाङले भने, ‘छोरीको नागरिकता बनाउन ११ बजे आएको, तीन बज्यो अझै पालो आएको छैन। धेरैजना हुनुहुन्छ, भित्र काम सबैको भइरहेको छ। यस्तो लाइन काठमाडाैंमा लाइसेन्स बनाउनेका लागि मात्र देखेको थिएँ। अहिले यहाँ पनि देखियो।’
कार्यालयले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र बाँकी महिना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गर्ने गरेको छ। चिसो मौसम कम भएपछि बिहान पनि चाँडै सेवा सुरु गरिने प्रमुख जिल्ला अधिकारी जैसीले बताए। कार्यालयमा आएका सेवाग्राहीलाई छिटो र सहज तरिकाले सेवा प्रवाह गर्ने उनले बताए।