१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ४ बिहीबार
  • Saturday, 28 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o७८ कार्तिक ४ बिहीबार ११:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकाली नदीले तीन सय मिटर कालोपत्रे सडक भत्कायो, नदी गाउँ पस्ने खतरा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ कार्तिक ४ बिहीबार ११:२१:oo

महाकाली नदीले भीमदत्त नगरपालिका– १२ ऐरी ओदालीस्थित तीन सय मिटर कालोपत्रे सडक भत्काएको छ । पुल निर्माण कम्पनी कुमार सिएफसी जेभीले तटबन्धविनै सडक निर्माण गर्दा नदीले सडक भत्काएको हो । मनसुन सकिएलगत्तै अनपेक्षित रूपमा तीन दिन लगातार वर्षा भएपछि महाकाली नदीमा आएको बाढीले तटबन्धविनै निर्माण भएको पक्की सडक भत्काएर गाउँ पस्ने खतरा छ । उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीय, विभिन्न दलनिकट संघ–संगठन अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । 

महाकाली पुल निर्माण कम्पनीको लापरबाहीको कारण जनताले विपद्को सामना गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । तटीय क्षेत्रका स्थानीयले पहुँच मार्गको दायाँबायाँ सुरक्षित योजना नल्याएको, छेउबाटै मापदण्डविपरीत उत्खनन् गरेको र पक्की सडकमा माटो राख्नुपर्ने ठाउँमा बालुवा ग्राभिलिङ राखेका कारण पक्की सडक भत्किएको बताएका छन् । 

स्थानीय छत्र देउवा (सन्जु)ले तटबन्धविनै सडक निर्माण गरेर ठेकेदारले सस्तो लोकप्रियता खोजेका कारण यस्तो नियति भोग्नुपरेको बताए । बर्सेनि बाढी आउने थाहा हुँदाहुँदै पुल नै साँघुरो बनाएर अनियन्त्रित महाकाली दोहनका कारण समस्या निम्तिएको उनले बताए । ‘ठेकेदारले चार लेन सडक निर्माणमा माटो राख्नुपर्ने भए पनि बालुवा ग्राभिलिङ राखेर बनाएको देखियो,’ उनले भने, ‘त्यही भएर पक्की सडक भत्किएको हो ।’ ठेकेदारले नदीछेउमै मापदण्डविपरीत ग्राभिलिङ संकलन गर्दासमेत पुल निर्माण स्थलको उत्तरमा तीव्र कटानी भइरहेको बताए । 

स्थानीय कालु सुनारले यसअघि जनताको तटबन्ध कार्यालयबाट निर्माण गरिएको तारजालीसहितको तटबन्ध ठेकेदारले उखेलेर लगेपछि माथि बालुवा थुपारेर सडक कालोपत्रे गरेकाले भत्किएको बताए । स्थानीय एवं सामाजिक अभियन्ता अमिर तिरुवाले बालुवा हालेर निर्माण भएका सडक स्वतः कच्ची हुने बताउँदै, गुणस्तरहीन काम भएको बताए । ‘बाहिर हेर्दा राम्रो, तर भित्र खाली बालुवा राखेर सडक बनाएको रहेछ,’ उनले भने, ‘जब सडक भत्कियो, तब थाहा भयो ।’ अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविनै सडक निर्माण भएकाले भत्किएको उनकाे भनाइ छ । 

स्थानीय एवं शिक्षक राजेन्द्र भट्टले ठेकेदार कम्पनीको लापरबाहीका कारण तटीय क्षेत्रका जनताले बाढीको समस्या खेप्नुपरेको बताए । ‘भुजेला खोलाको पुलदेखि दक्षिणमा स्पर छैनन्,’ उनले भने, ‘पुलमाथि पनि स्पर हुनुपर्ने हो, त्यो राखिएन, सिंगाे महाकाली खोलामा उल्टियो ।’ 

भीमदत्त नगरपालिका– १३ का वडाध्यक्ष लालबहादुर शाही महाकाली पुल निर्माण गर्दा डिजाइन नै गलत भएको टिप्पणी गर्छन् । ‘हामीले डिजाइन परिवर्तन र पुलको लम्बाइ वृद्धिको माग राख्दा इन्जिनियर सावहरूले हेप्छन्,’ उनले भने, ‘पुल पूरै निर्माण नहुँदा पानी थुनिएर गाउँ पस्छ, अनि हामीले के भन्ने ।’ ठेकेदारले दायाँबायाँ सडक संरक्षणका लागि तटबन्ध निर्माण नगर्दासमेत पक्की सडक भत्किएको उनले बताए ।