१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका अल अमेरात
२०७८ कार्तिक १ सोमबार ०६:५२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी -२० विश्वकप : ओमानको सानदार जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, अल अमेरात
२०७८ कार्तिक १ सोमबार ०६:५२:००

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा ओमानले आइतबार सानदार जित निकालेको छ । घरेलु मैदान अल अमेरातमा ओमानले पपुवा न्युगिनीमाथि १० विकेटको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा ओमानले १३.४ ओभरमा विनाकुनै विकेट क्षति एक सय ३१ रन जोड्दै आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट सुरुवात ग¥यो । 

ओमानको जितमा ओपनरद्वय जतिन्दर सिंह र अक्विव इयासले अर्धशतकीय इनिङ्सको योगदान दिए । जतिन्दरले ४२ बलमा ७३ रन बनाउन सात चौका र चार छक्का प्रहार गरेका थिए । इयासले ४३ बलमा ५० रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरे । जतिन्दरले अमिनीले फ्याँकेको १३.४ ओभरमा मिड विकेट क्षेत्रमा छक्का प्रहार गर्दै ओमानलाई विजयी बनाए । 

ओमान र युएईमा सञ्चालन भइरहेको आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो चरणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुवा न्युगिनीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणमा शीर्ष चार टोली सुपर १२ मा प्रवेश गर्नेछन् । पहिलोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको पपुवा न्युगिनीका लागि तीनजना ब्याट्सम्यानले मात्र दोहोरो रनको योगदान दिए । कप्तान असाद भालाले सर्वाधिक ५६ रन बटुले । उनले ४३ बलमा चार चौका र तीन छक्का प्रहार गरी ५६ रन बनाए । यसैगरी, चालेस अमिनीले २६ बलमा चार चौका र एक छक्का प्रहार गरी ३७ रन जोडे । 

पपुवा न्युगिनीको ब्याटिङ इनिङ्समा तीन ब्याट्सम्यान डकआउट भए । पपुवा न्युगिनीको सुरुवात निकै दयनीय रह्यो । स्कोर बोर्डमा शून्य रनकै अवस्थामा पपुवा न्युगिनीले दुवै ओपनर गुमाएको थियो । त्यसपछि कप्तान असाद र चालेसबीच तेस्रो विकेटका लागि ८१ रनको साझेदारी भएको थियो । इनिङ्सको एक समय पपुवा न्युगिनी १०४–४ को अवस्थामा थियो । जेसन मसुदले चार, विलाल खानले दुई र कालिमुल्लाहले दुई विकेट लिएपछि पपुवा न्युगिनी ११८–९ को कमजोर अवस्थामा पुग्यो ।