मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
पवित्रा वेघाको परिवार र उनको घर। टहरा अगाडि काशीराम र छिमेकी शेरबहादुर।
२०७८ असोज २७ बुधबार ०७:००:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

‘त्रिपालको गाउँ’मा दसैँको पीडा

Read Time : > 2 मिनेट
२०७८ असोज २७ बुधबार ०७:००:००

कमल– ५ का सुकुमबासी काशीराम विश्वकर्माले यसपटक जमरा राखेनन्। उनको परिवारमा दसैँ नआएको दुई वर्ष भयो। कमल– ५ स्थित सशस्त्र प्रहरीको जग्गामा बसेको भन्दै ०७६ फागुनमा घर भत्काएपछि उनको परिवार त्रिपाल लगाएर बनाएको टहरमा बस्दै आएको छ। ‘यस्तो ठाउँमा के दसैँ मनाउन सकिन्छ, त्यसैले जमरा राखिएन,’ उनी भन्छन्, ‘बिहान–बेलुका खान त पुग्दैन के दसैँ आउँछ र हाम्रो घरमा।’

०६० सालतिर तत्कालीन माओवादीको सशस्त्र युद्ध उत्कर्षमा थियो। सशस्त्र प्रहरीले रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा भोगाधिकार लिई त्यहाँ बसेको थियो। त्यसवेला त्यहाँ सशस्त्रको पाथिभरा गण थियो। तर, अहिले त्यहाँ सशस्त्र प्रहरीको ३८ नम्बर गण र तालिम केन्द्र छ। त्यसवेला उनीहरूले सुरक्षाका लागि सुकुमबासीलाई करिब ८० बिघा जग्गा भोगचलनका लागि दिएका थिए। प्रहरीको सुरक्षाका लागि राखिएका उनीहरू अहिले ‘अवैध’ ठहरिए। विश्वकर्मा पहिल्यैदेखि सुकुमबासी हुन्।

दश वर्षअघि ताप्लेजुङमा जग्गा बन्धकी लगाएको पैसा फिर्ता मागेर यहाँ आएर बसेका थिए। तर, दुई वर्षअघि उनको घरमा डोजर चलेपछि त्रिपालमुनि छन्। अघिल्लो दसैँ पनि मनाउन पाएनन्, उनले। घरमा चारजना छोराछोरी छन्। दसैँमा नयाँ लुगा किन्न  नसकिएको उनले बताए। ‘दसैँ भन्नेबितिकै केटाकेटीले लुगा निन्दिनु भनेर साह्रै जिद्दी गर्छन्,’ उनी भन्छन्, ‘मजदुरी गरेको पैसाले खान पनि पुग्दैन। दसैँमा मिठोमसिनो खुवाउन पनि सकिनँ।’

मजदुर गरेर कमाएर ल्याएकोले खाना पनि पुग्दैन, उनको परिवारलाई। त्रिपालमुनि बस्दा पनि सुख छैन। जंगलको छेउमा भएकाले दैनिकजसो हात्ती आइरहन्छ। ‘खोलामा बालुवा चालेर ल्याएको पैसाले किनेको दाल–चामल हात्तीले खाइहाल्छ,’ विश्वकर्मा भन्छन्, ‘साह्रै गाह्रो छ।’ यो सबै पीडा खप्न नसकेर यसपटक भने उनी नजिकै गाउँमा भाडा तिरेर डेरा सर्ने योजनामा छन्। ‘महिनाको एक हजार तिर्ने घर खोजेको छु। हात्तीले मार्छ कि भन्ने डर भयो,’ उनी भन्छिन्, ‘बरु दुःख गरेर एक हजार तिरेर घरमा बस्छु।’

त्रिपालमुनि बसेकी पवित्रा बेघालाई पनि दसैँ नआएको दुई वर्ष भयो। घरभरि केटाकेटी छन्। उनले नयाँ कपडा किनिदिन पनि सकेकी छैनन्। ‘केटाकेटीले दसैँ आयो भन्छन्। हामीलाई त वास्ता छैन। तर, केटाकेटीलाई सम्झाउनै गाह्रो छ,’ उनी भन्छिन्, ‘घरमा खाने त छैन दसैँ कसरी मनाउने ?’ सशस्त्र प्रहरीलाई बिघाको वार्षिक आठ हजार ठेक्का तिरेर तीन बिघा खेती गर्दै आएकी थिइन्। तर, केही वर्षयता ठेक्का तिरेर पनि सशस्त्र प्रहरीले खेती खेती गर्न दिएको छैन। ‘खेती गर्दा त घरमा टन्न खाने हुन्थ्यो। दसैँ राम्रो आउँथ्यो,’ उनले भनिन्, ‘धान बेचेर भए पनि केटाकेटीलाई राम्रो कपडा र मिठो–मसिनो खान दिन सकिन्थ्यो। अहिले त त्यो पनि छैन। हामी गरिबलाई त यस्तो चाडवाड पनि नआएकै राम्रो।’

 

त्रिपालमुनिको टहरमा बस्दै आएका बालबालिका खेल्दै ।

विगतमा उनी दसैँमा आफन्त भेट्न जान्थिन्। तर, त्रिपालमुनि भएकाले अघिल्लो दसैँमा पनि आफन्त भेट्न जान पाइनन्। यसपटक पनि जान पाउने छाँटकाँट छैन। हात्तीले त्रिपालमुनि राखेको खाद्यान्न खाइदिने र घर भत्काउने गरेका कारण उनी टहरा छाडेर कतै जान्नन्। ‘अर्काले किनेको त्रिपालले घर बनाएका थियौँ। यही पनि कतिपटक हात्तीले भत्काइदियो,’ उनी भन्छिन्, ‘अन्त जाने ठाउँ छैन। ज्यानको बाजी राखेर भए पनि बसेका छौँ।’

त्रिपालमुनि नै बसेको भए पनि दसैँमा आफन्त आइहाल्छन् न्। सुकुमबासीलाई आफूलाई छाक टार्न पनि मुस्किल छ। पाउन आउँदा झनै समस्या हुने गरेको खड्गदेवी लिम्बू बताउँछिन्। ‘खेती गर्न पनि पाएका छैनौँ। बनिबुतो गरेर खान पनि राम्ररी पुग्दैन। यस्तो वेलामा चाडवाड त नआएकै राम्रो,’ उनी भन्छिन्, ‘यस्तो घर भए पनि पाहुना त आउँछन्। भन्न पो हुँदैन त ! पाहुना आउँदा समस्या हुन्छ नि ! कहाँ सुताउने ? के खुवाउने साह्रै गाह्रो छ।’

विगतदेखि नै मनाउँदै आएको चाडपर्व आउँदा परिवारमा खुसी छाउँछ। तर, किनमेल गर्न नसक्दा, केटाकेटीलाई मिठो–मसिनो खुवाउन नसक्दा साह्रै दुःख लाग्ने गरेको सुकुमबासी शेरबहादुर लिम्बू बताउँछन्। उनका घरमा चारजना छोराछोरी छन्। उनले यसपटकको दसैँमा ऋण गरेर छोराछोरीका लागि कपडा किनिदिएको बताए। ‘दसैँमा हामीलाई त वास्ता छैन। तर, केटाकेटी मान्दैनन्,’ उनी भन्छन्, ‘ऋण गरेर कपडा किनिदिएँ। अब दसैँ सकिएपछि ऋण कसरी तिर्ने हो ? तनाव भएको छ।’

सशस्त्र प्रहरीले घर भत्काएपछि त्रिपाल टाँगेर बसेको यो बस्तीमा दुई वर्षदेखि दसैँ आउन सकेको छैन। घर भत्काउँदा यहाँ ५२ घरपरिवार बसोवास गर्थे। गत वर्ष हात्तीले एकजनाको ज्यान लिएपछि भने डराएर अधिकांशले ठाउँ छाडेका छन्। उनीहरू डेरा गरेर दुःख गरेर खाइरहेको शेरबहादुर बताउँछन्। अब यो बस्तीमा करिब १५ घर सुकुमबासीले त्रिपालमुनिको जीवन बिताइरहेका छन्।