१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ असोज २६ मंगलबार १५:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्थायी टहरामै दसैँ मनाउँदै मेलम्ची–हेलम्बुका बाढीपीडित

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ असोज २६ मंगलबार १५:१७:००

मेलम्ची बजारका स्थानीय श्याम खड्का १० जनाको परिवारसहित डेरामा बस्दै आएका छन्। इन्द्रावती नदीछेउमा रहेको घर गत असार १ र साउन १६ गते आएको मेलम्चीखोलाको बाढीले पुरेपछि उनीको परिवार डेरामा बस्दै आएको छ। 

तीनतले घरको आधाजसो भाग बालुवाले पुरेको छ। त्यो सफा गर्न उनलाई जाँगर छैन। न त उनको परिवार एक्लैलाई सम्भव नै छ। ‘थोरै भए पो सरसफाइ गरेर बस्नु। नयाँ घर बनाउनभन्दा बढी लाग्छ। कसरी जाँगर चल्नु ?’ उनले भने।

मेलम्ची नगरपालिकाले बाढीपीडित ७१ घरपरिवारका लागि डेरामा बस्ने व्यवस्था मिलाएको छ। तीन महिना डेरामा बसेका कतिपय बाढीपीडित अहिले पुरानै घरमा फर्केका छन्। नदीमा पानीको सतह साबिक अवस्थामा फर्केपछि केही परिवारले बाढीले डुबेको घर सरसफाइ गरेर दसैँ मनाउने तयारीमा जुटेका छन्। तर, दसैँको रौनकले पीडितलाई खासै छोएको भने देखिँदैन। घरबार गुमेपछि सहायताको प्रतीक्षामा रहेका उनीहरूले सरकारी सहयोग पाएका छैनन्। ‘धेरैजसो बजारवासी घर सरसफाइ गरेर बस्न थालेका छन्,’ मेलम्ची नगरपालिका मेयर डम्बरबहादुर अर्यालले भने, ‘हिउँदमा खतरा छैन। आउँदो बर्खासम्म सबै पीडितको उचित व्यवस्थापन गर्छौँ ।’

बाढीबाट सबैभन्दा बढी क्षति पुगेको हेलम्बुमा ३१४ घरपरिवारले यसपालिको दसैँ अस्थायी टहरामै मनाउने भएका छन्। ६० परिवारलाई जस्तापाताको अस्थायी टहरा बनाइएको र यही महिनाभित्र ४० परिवारलाई टहरा तयार हुने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। विभिन्न गैरसरकारी संस्थाले अस्थायी टहरा निर्माण गरिदिएका हुन्।

दुईपटक आएको बाढीले घर र खेतबारी बगाएकोले हेलम्बुवासी पीडामा छन्। अस्थायी टहरा नभएकाले आफन्तको शरणमा दसैँ मनाउनुपर्ने अवस्था छ। ‘एकातिर घरखेत छैन, अर्कोतिर दसैँले थप खर्च बढाएको छ,’ बाढीबाट पीडित स्थानीय विदुर गिरीले भने, ‘यसपालिको दसैँ हेलम्बुवासीका लागि उत्साहप्रद छैन।’

दसैँ नजिकिँदै गर्दा हेलम्बु गाउँपालिकाले बाढीबाट क्षतिग्रस्त तीन स्थानमा अस्थायी पुल निर्माण गरेर गाउँगाउँसम्म मोटर पुर्‍याएकोले पीडितलाई थोरै भए पनि राहत मिलेको छ। अहिले मेलम्चीघ्याङबाहेक अरू सबै गाउँमा मोटर बाटो पुगेको छ। बाढीले ध्वस्त पारेको हेलम्बुको चिउरी खर्कमा गाउँपालिकाको पहलमा अस्थायी टहरा बनाएर व्यवस्थापन गरेपछि टहरामै भए पनि बाढीपीडितहरू दसैँ मनाउने तयारीमा जुटेका हुन्।