१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १२:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै सुविधासम्पन्न भवन बनाउँदै काठमाडौं महानगरपालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १२:२३:oo

काठमाडौं महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ। भूमिगत तलासहितको आठतले सो भवनको आज सोमबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन्। हाल वातावरण विभाग रहेको जमिनको करिब ६ रोपनी क्षेत्रफलमा सो भवन बन्न लागेको हो। 

भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धताअनुसार नै उक्त भवन शिलान्यास गरेको बताए।

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौँ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्राहीमैत्री हुनुपर्छ भनेर त्यहीअनुसार अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौँ। विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन।’ शाक्यले भवन निर्माणपछि सेवा सहज र सुलभ हुने र सबैले एउटै स्थानबाट सेवा प्राप्त गर्ने अपेक्षा राखेको बताए।

महानगरका अनुसार ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था हुनेछ। भूकम्प प्रतिरोधी सो भवनको मापदण्डअनुसार वरिपरि पाँच मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिनेछ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समयसापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिए। ‘काठमाडौं महानगरपालिकामा प्रचलित परम्परागत चोकको अवधारणामा आधारित डिजाइन तयार गरेका छौँ,’ बस्नेतले भने, ‘प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन, कर्मचारी, आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ। त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपतको समयमा प्रयोग गर्न सकिने गरी आपतकालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहेका छन्।’ 

त्यस्तै आकाशेपानी संकलन तथा पर्याप्त फिल्टरेसन प्रणालीसहितको रिचार्ज पिट समावेश गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ। भवन अपांग र ज्येष्ठ नागरिकमैत्री हुनेछ। भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले तयार पारेको हो। महानगरका कार्यालयहरू धेरै स्थानमा छरिँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासाे गर्दै आएका छन्।