मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुना कुँवर काठमाडौं
२०७८ असोज २४ आइतबार ०८:४८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआरएनएको निर्वाचन ६ महिनापछि मात्रै

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ असोज २४ आइतबार ०८:४८:००
  • परराष्ट्र मन्त्रालयले निर्वाचनको मिति सार्न दिएको निर्देशनअनुसार ६ महिनापछि चुनावको प्रस्ताव गर्दै गैरआवासीय नेपाली संघ
  • अध्यक्षका तीन प्रत्याशी प्यानलसहित मैदानमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन ६ महिना पछि सर्ने भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले पत्र काटी निर्वाचनको मिति सार्न निर्देशन दिएको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए । परराष्ट्रको निर्देशनअनुसार संघले निर्वाचनको मिति ६ महिना सार्न मन्त्रालयलाई प्रस्ताव गर्ने अध्यक्ष पन्तले जानकारी दिए । आगामी ३ कात्तिकमा अनलाइनमार्फत एनआरएनएको निर्वाचन र कात्तिक ६ गतेदेखि ८ गतेसम्म महाधिवेशन हुने सम्पूर्ण तयारी भइसकेको थियो । 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) मानार्थ सदस्य नवराज ओली, एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र पूर्वआइसिसी सचिव जानकी गुरुङले चुनाव संघले विधानविपरीत काम गरेको आरोप लगाउँदै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए । उनीहरूले निर्वाचन प्रक्रिया पूर्ण रूपमा धाँधलीपूर्ण र संघको विधि, प्रचलित मान्यता र न्यायिक सिद्धान्तविपरीत रहेको आरोप लगाएका थिए । 

सोही उजुरीका आधारमा मन्त्रालयले एनआरएनएलाई यसअघि नै पत्र काटी निवार्चनका सबै काम रोक्न निर्देशन दिए पनि एक साताअघि भने आफ्नो विवाद आफैँ सल्टाएर आउनु भन्ने आदेश दिएको थियो । तर, शुक्रबार फेरि अर्को पत्र काटी निर्वाचन रोक्न निर्देशन दिएको अध्यक्ष पन्तले बताए । 

त्यस्तै, एनआरएनएको निर्वाचनमा प्रतिनिधि छनोट प्रक्रियामा धाँधली भएको भन्दै विधान संशोधन समितिका उपसंयोजक रविन बज्राचार्यले सर्वोच्च अदालतमा दिएको रिटमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी भएको छ । अमेरिकानिवासी बज्राचार्यले गत ४ असोजमा परराष्ट्र मन्त्रालयले र एनआरएनएविरुद्ध रिट दर्ता गराएका थिए । 

अध्यक्षका तीन प्रत्याशी चुनावी दौडमा
एनआरएनएको आगामी १०औँ महाधिवेशनमा तीनजनाले अध्यक्ष पदका लागि उम्मेदवारीले दिएका छन् । रबिना थापा, कुल आचार्य र डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । डा. केसी  वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने थापा उपाध्यक्ष हुन् । त्यस्तै, आचार्य यसअघिको निर्वाचनमा कुमार पन्तसँग अध्यक्षमा पराजित भएका थिए । अध्यक्षका तीनैजना उम्मेदवारले आ–आफ्नो प्यानलसहित अध्यक्षको घोषणा गरेका छन् । संघको विधानअनुसार प्यानल बनाउन पाइँदैन । तर, विधानविपरीत निर्वाचनमा प्यानल बनाउने अभ्यास छ । 

कसको प्यानलमा को–को छन् ?
रबिना थापाको समूहबाट उपाध्यक्षमा जयप्रकाश गुरुङ, महासचिवमा विनय अधिकारी र सचिवमा ओम गुरुङले उम्मेदवारी दिएका छन् । कुल आचार्यको समूहबाट उपाध्यक्षमा मन केसी, आरके शर्मा, महेश श्रेष्ठ, त्रिलोक गुरुङले उम्मेदवारी दिएका छन् । युवा उपाध्यक्षमा राज केसी, महिला उपाध्यक्षमा जानकी गुरुङ उम्मेदवार छन् । महासचिवमा डा. केशव पौडेल, सचिवमा खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, नारायण आचार्य, महिला सचिवमा भूमा लिम्बू, कोषाध्यक्षमा लोक दाहाल, सहकोषाध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, महिला सहकोषाध्यक्षमा जानकी पौडेल उम्मेदवार छन् । 

त्यस्तै, डा. बद्री केसीको समूहबाट उपाध्यक्षमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, डिबी क्षत्री, धर्मराज अधिकारी, एस्मिन बेगम सायद, रोशन थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै, गौरीराज जोशीले महासचिवमा, रामशरण सिम्खडा र चिरञ्जीवी घिमिरेले सचिवमा उम्मेदवारी दिएका छन् । 

एनआरएनए चुनावमा घुस्यो राजनीति
एनआरएनएको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकामध्ये कुल आचार्य र रबिना थापालाई कांग्रेसनिकट मानिन्छ । त्यस्तै, डा. केसीलाई भने एमालेनिकट मानिन्छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले गत असोज १५ गते पत्र जारी गर्दै एनआरएनको निर्वाचनमा कुल आचार्यलाई जिताउन पार्टीका नेताहरूलाई जिम्मेवारी दिएको छ । युरोप क्षेत्रमा महामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ । एसिया क्षेत्रका लागि केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई जिम्मेवारी दिइएको छ । अमेरिका क्षेत्रका लागि केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, अफ्रिका र मध्यपूर्व क्षेत्रका लागि केन्द्रीय सदस्य गोविन्द्र भट्टराई र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ । ओसियाना क्षेत्रका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिएको जनाएको छ । यसका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गत असोज ७ गते विज्ञप्ति सार्वजनिक गर्दै प्रवासमा बसोवास गर्ने पार्टीका कार्यकर्तालाई निर्वाचनमा भाग लिन आह्वान गरे । विधानअनुसार चुनाव लड्न योग्य भएका सदस्यलाई भाग लिन पनि उनले आग्रह गरेका थिए । 

एनआरएनएमा प्रत्यक्ष रूपमा राजनीति घुसेको गैरआवासीय नेपाली संघ मलेसियाका पूर्वअध्यक्ष हरि भट्टराईले बताए । एनआरएनएको निर्वाचनमा राजनीतिले प्रवेश गर्नु भनेको दुःखदायी भएको उनले बताए । त्यस्तै, एनआरएनका अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता डिबी क्षत्रीले भने, ‘सामाजिक संस्थाभित्र राजनीतिलाई स्थान दिनु भनेको संस्थाको अस्तित्व नै खतरा पर्नु हो ।’ 

तर, एनआरएनएका अध्यक्षका प्रत्याशी कुल आचार्यले संस्थामा राजनीति घुसाउनमा आफ्नो कुनै भूमिका नभएको स्पष्ट पारेका छन् । ‘कुनै राजनीतिक दलले स्वैच्छाले मलाई सहयोग गरेका होलान् । केहीले अन्य साथीहरूलाई सहयोग गरेका होलान्,’ उनले भने, ‘त्यसैका आधारमा राजनीति घुसाएको आरोप लगाउन हुन्न ।’ 

त्यस्तै, अध्यक्ष प्रत्याशी थापाले एनआरएनएमा राजनीतिक दलहरूले चासो व्यक्त गर्नु राम्रो पक्ष भएको बताइन् । ‘हाम्रो संगठनले हाम्रो काम गरेको भएर उहाँहरू आकर्षित भएको हुन सक्छ,’ उनले भनिन्, ‘तर, निर्वाचनकै लागि नेताहरूको पछाडि लाग्नु संगठनको उद्देश्य र मर्मविपरीत हो ।’ अध्यक्षका प्रत्याशी डा. केसीले भने चुनावको मुखमा आएर कतिपय उम्मेदवारले दलहरूसँग गएर लम्पसार परेको आरोप लगाए । ‘चुनावमा उठ्ने उम्मेदवारले आफ्नो पक्षमा नतिजा ल्याउन डेलिगेट्ससमक्ष जानुपर्छ, पार्टीका दलहरूसँग जानुहुँदैन,’ उनले भने ।