ऋणको बोझ बोक्ने चाड होइन दसैँ । यो त सहिष्णुता र मेलमिलापको पर्व हो । नयाँ पुस्तामा भाइचारा र सामाजिक सहचर्य सिकाउने पर्व पनि हो दसैँ ।
कोरोना महामारीले गत सालको बडादसैँलाई निकै खल्लो बनाइदियो । यस वर्ष पनि पूर्ण सहज अवस्था छैन । यसर्थ महामारीको सुरक्षाकवचलाई ध्यानमा राखेरै पर्वोत्सवमा रमाउनु वाञ्छनीय हुन्छ । नेपालका राष्ट्रिय चाडमध्ये दसैँ सामाजिक सद्भाव तथा पारिवारिक पुनर्मिलनको आधारशिला हो । जमरा कानमा सिउरेर निधारभरि रातो टीका लगाएको परिवारको सामूहिक तस्बिरले फेसबुकका पाना सजिँदा हर्षको बाढी आएजस्तो लाग्छ । संसारमा खुसीलाई दौलतले किन्न सक्दैन नै ।
तथापि, ऋणको बोझ बोक्ने चाड होइन दसैँ, समस्याको भारी पनि होइन । यो त सहिष्णुता र मेलमिलापको पर्व हो । नयाँ पुस्तामा भाइचारा र सामाजिक सहचर्य सिकाउने पर्व पनि हो दसैँ । अतः आडम्बर, विकृति तथा पाखण्डीपन छोडेमा मात्र दसैँ पर्वको मूल्य बढ्दै जानेमा विमति रहँदैन । दसैँको सामाजिक तथा सांस्कृतिक पक्षलाई ज्ञान र व्यवहारको कोणबाट मनन गर्नु आवश्यक छ । अज्ञानको अन्धकारलाई हटाएर तŒवज्ञान प्राप्त गर्नु नै जीवनको सफलता हो । ज्ञानद्वारा मोक्ष प्राप्त हुने पूर्वीय मान्यतालाई सर्वोत्तम कर्म मानिन्छ । वास्तवमा ज्ञानगंगामा डुबुल्की मार्नु नै जीवनको जित हो– श्रीमद्भागवत गीतामा उल्लेख छ ।
रामले रावणमाथि विजय हासिल गरेको खुसियाली तथा दुर्गा भवानीले अत्याचारी राक्षस रक्तबीज वध गरेको पौराणिक सन्दर्भमा दसैँ शक्ति उपासनाको पर्व हो । यद्यपि, रावणलाई होइन, रावणको अन्धकार, काम, क्रोधरूपी नकारात्मकतालाई रामले वध गरेका हुन्– रामगीताको सार छ । रावणका दशवटा टाउकाको अर्थ रावण आफ्ना दसै इन्द्रियको वशमा थियो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य नै मानिसका शत्रु हुन् । यी शत्रुलाई मार्नु अर्थात् बलि दिनु नै जीवनको सार्थकता हो । हामी त देवीदेवताका नाममा पशुको हिंसा गर्छौँ, तर आपूmभित्रका विकारलाई हटाउँदैनौँ । वास्तवमा दसैँले भाइचारा सिकाएको छ, हिंसा होइन ।
आदर्शको पूजा गरेको हुन्छ, स्वस्थ, स्वच्छ प्रकृति निर्माणको संस्कार विकास गरेको छ । सामाजिक एकता र आदर्श आचरणको सहअस्तित्वलाई जोगाउँदै मानवीय सम्बन्धको आनन्दमा बाँच्न सिकाएर शान्ति प्रदान पनि त गरेको छ । दसैँ मनाउने नाउँमा जुवातास, मद्यपान, धूम्रपानमा लिप्त हुनु यस पर्वको उद्देश्यविपरीत कर्म हो । युवाशक्तिले त अभैm त्यस्ता सामाजिक असङ्गति हटाउने भूमिका निर्वाह गर्न सक्नुपर्छ । दसैँलाई दसा र बोझ होइन, अग्रजको आशा र खुसीको पर्व बनाउनुपर्छ । घाँटी हेरेर हाड निल्ने वातावरणमा दसैँलाई उत्सव बनाउनु सबैको दायित्व हो । ‘आयो दसैँ रमाई रमाई, गयो दसैँ ऋण बोकाई’ हुनुहुन्न । आडम्बरी देखासिकीलाई बदलौँ ।
सचेतनाको उदाहरणीय कार्य गरौँ । फुर्सदको समयले विद्यार्थीलाई समाज र परिवारसँग सद्भाव बढाउन टेवा दिन्छ । मानिस सप्रन वर्षौं लाग्छ, तर बिग्रिनुपरे एक क्षण नै पर्याप्त बन्छ । वस्तुतः वसुधैव कुटुम्बकम्लाई अपनाऔँ । चोरी–डकैतीजस्ता सामाजिक अपराध निरुत्साहित गर्ने सत्कार्यले असल नागरिकको परिचय दिन्छ । अतः यातायातको भाडामा चलेको मनलागी तन्त्र, व्यापारमा अकासिँदो महँगी र कालोबजारीलाई खबरदारी गर्न एकता नै शक्तिशाली मन्त्र बन्छ । हरेक चाडपर्वले मानिसमा सामाजिक भाइचारा, आदर्श, खुसी अनि सद्भावको असल आचरणका लागि प्रेरित गरेको हुन्छ । मानिस हुनुको सार्थक सामाजिक धर्मलाई हिन्दू दर्शनले विभिन्न पौराणिक सन्दर्भका नाउँबाट दर्बिलो बनाएको छ । यसलाई दुरुपयोग गरेर विकृत नबनाऔँ । सद्भावको संगम, सामाजिक एकता र समृद्धि अनि शुभकामनाका गुच्छामा मन त्यसै पनि फुरुंग हुन्छ ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म धनीका घरमा मात्रै हर्ष–उल्लास आउने नभएर गोरु नारेर धुलो हिलोमा खेल्ने श्रमजीवी गरिबको चुलो पनि पकवान्नले भरिभराउ हुन्छ । युवाको जमघटसँगै गाउँटोलका चोक चौतारो, धारो, बाटो–घाटो, झुपडी बेहुलीभैmँ सिँगारिँदा झनै राम्रो लाग्दो रहेछ । अभिभावकत्वको भावमा मानवीय मर्म ओतप्रोत भएको हुन्छ । वस्तुतः खुसीमा रम्न जान्नु पनि सामाजिक संस्कार रहेछ । पर्खाइको एउटा सुखान्त संसारमा आशावादी बन्छन्, आफन्तजनहरू । अपनत्व भावको गुञ्जायमान हुन्छ । अफिस, स्कुल, कलेजको लामो तानाबाना एकछिन बिसाएर पारिवारिक एकतामा रमाउने सुअवसर मिल्छ ।
लामो शत्रुता, मनमुटावलाई समेत क्षमा र पश्चात्तापमा बदलेर अलिकति मानवतालाई जीवन्त पार्दो रहेछ । गाउँ–डाँडासँग रमाउनेहरू दौँतरीसँग नयाँ कपडामा सजिएर तुलना गर्न रुचाउँछन्, बालहृदयहरू । पिङ खेल्ने, चङ्गा उडाउने, गरिबका चुलोमा पनि मीठो मसिनो पाक्ने हुनाले दसैँ चाड स्तर, परिवेशअनुसार मूल्यवान् बन्दो रहेछ । ठूलालाई आदर गर्ने, मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने अनि सानालाई माया र आशीर्वादको सुगन्धमा नेपाली सहिष्णुता र आदर्शले झनै फुल्न पाउँछ । बहुसंख्यक नेपालीका मनमा, घर–चोकमा जमघट बढ्दै जाँदाको मजा छुट्टै हुँदो रहेछ । समावेशी समाजको रङ संयोजनमा आजभोलि दसैँ पर्वको रौनक बढ्दै गएको देख्दा झनै रमाइलो लाग्छ । बुझे दसैँ पर्वले नव पुस्ताको ज्ञान भण्डारमा सुनौलो बिहानी ल्याउँछ, तर लहैलहै र बहकाउमा फसे दुव्र्यसनको सिकार बनाउँछ । परिवारसँग नयाँ ठाउँ घुम्न, अवलोकन गर्न खालि समय फलदायी बन्छ ।