मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Monday, 16 December, 2024
नवीन गुरुङ संखुवासभा
२o७८ असोज २१ बिहीबार १९:४६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गम क्षेत्रका जनप्रतिनिधिलाई नै थाहा छैन ‘राष्ट्रपति हवाई उद्धार कार्यक्रम’ 

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १९:४६:oo

हिमाली जिल्ला संखुवासभाको विकट क्षेत्रका जनप्रतिनिधिले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धार कार्यक्रमबारे थाहा नभएको बताएका छन् । खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धार कार्यक्रमको प्रभावकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरूले कार्यक्रम नै थाहा नभएको बताएका हुन् । 

संखुवासभाको कर्णाली भनेर चिनिने भोटखोला गाउँपालिकाका पान्जाम भाच्याव भोटेले गर्भवती तथा सुत्केरी महिलाहरूको ज्यान जोखिममा परेको समयमा हवाई जहाजबाट उद्धार गर्नेबारेमा आफूलाई जानकारी नभएको कार्यक्रममा बताइन् । उनले यस्तो कार्यक्रमबारे जानकारी नहुँदा भोटखोलामा धेरै सुत्केरी महिलाले अकालमा ज्यान गुमाउन परिरहेको समेत स्मरण गरिन् । ‘सरकारले यस्तो राम्रो कार्यक्रमको थालनी गरेको रहेछ, किन प्रचारप्रसारमा ढिलाइ भएको हो । कार्यक्रमका बारेमा मजस्ता जनप्रतिनिधि नै अन्योलमा छु । तल्लो तहका सर्वसाधारण नागरिकहरूलाई के थाहा होस्, उनीहरूले सोध्ने हामी नै हो, हामी नै थाहा छैन ।’ भोटेले भनिन्, ‘भोटखोला जिल्लाको समेत विकट क्षेत्र हो । अति दुर्गम भएकाले भनेको समयमा सिडिओ साबसँग टेलिफोनमा समेत कुराकानी हुन मुस्किल छ । इमेल इन्टरनेट धेरै परको कुरा भएकाले बल्ल–बल्ल लागेको समयमा टेलिफोनको भरमा काम गरिदिनुपर्ने समेत आग्रह गर्दछु ।’

कार्यक्रममा सहभागीहरूले सरकारले ज्यान जोखिममा परेको गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाई उद्धार गर्ने कार्यक्रम राम्रो भए पनि प्रचारप्रसार नभएको बताएका थिए । अझै पनि धेरै जनप्रतिनिधिहरूलाई यो कार्यक्रमका बारेमा थाहा नभएको नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले बताए । उनले यस्ता राम्रा कार्यक्रमहरूका बारेमा स्थानीय सञ्चारमाध्यमहरूको भरपुर प्रयोग गरेर सबै नागरिकहरूमा सुसूचित गर्नुपर्ने बताए । 

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव रोशनीकुमारी श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै हालसम्म संखुवासभामा दुईजना महिलाहरूको मात्रै उद्धार गरेको जानकारी दिएकी थिइन् । संखुवासभामा एक आर्थिक वर्षभित्र चारजना गर्भवती तथा सुत्केरी महिलाहरूको अकालमा ज्यान गएको थियो । अत्यधिक रक्तस्रावका कारण ती महिलाहरूको ज्यान बचाउन नसकिएको स्वास्थ्य कार्यालय संखुवासभाका पब्लिक नर्स भवानी तिम्सिनाले बताइन् । 

सभापोखरी गाउँपालिकाका उपाध्यक्ष सीता दाहालले दुर्गम क्षेत्रका महिलाहरूलाई जोखिम पर्दा हवाई उद्धार गर्ने कार्यक्रमबारेमा सबै नागरिकहरू जानकार नरहेको बताइन् । उनले कार्यक्रमको प्रभावकारिता बढाउन तल्लो तहका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको बारेमा समेत प्रचारप्रसार गर्न गराउन लगाउनुपर्ने धारणा राखिन् । 
कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का र सांसद पदमकुमारी गुरुङले तल्लो तहमा जानकारी पुगेपछि मात्रै यसले सकारात्मक नतिजा दिने बताएका थिए । 

संखुवासभाको समस्याप्रति मन्त्रालय चिन्तित 
कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संखुवासभामा मातृ मृत्यु र शिशु मृत्युदर बढ्दो देखियो, त्यसैले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई लक्षित गरेर हवाई माध्यमद्वारा राष्ट्रपति महिला उद्धार कार्यक्रम लागू भइसक्दासमेत यो जिल्लामा सेवाग्राही कम देखिएकाले मन्त्रालय आफँै सरोकारवालाहरूसँग अन्तरक्रिया गर्नका लागि संखुवासभा आएको बताइन् । 

उनले संखुवासभा हिमाली जिल्ला हो । यहाँका भौगोलिक विकटता र कठिनाइ बारेमा जानकार भएर नै सरकारले संखुवासभालाई हवाई उद्धारमा पूर्ण रूपमा सेवा दिने निर्णय गरेको बताइन् । ‘हवाई उद्धार कार्यक्रमसँगै महिलाहरूको जीविकोपार्जनका लागि समेत विभिन्न कार्यक्रम ल्याइएको छ । महिला दिदीबहिनीहरूलाई कार्यक्रममा सरिक भएर सेवासुविधा लिनसमेत आग्रह गर्दछु ।’– मन्त्रालयका सचिव खतिवडाले भनिन् । 

०७७ सालदेखि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धार कार्यक्रम संखुवासभालगायतका दुर्गम ४८ वटा जिल्लामा लागू भएको हो । एक वर्षको अवधिमा संखुवासभामा सेवाग्राही कम देखिएको तर मातृ र शिशु मृत्युदर बढी देखिएकाले चिन्तित भएको मन्त्रालयको भनाइ छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाहरूलाई उद्धार गर्दै आएको छ । अहिले निःशुल्क रूपमा उद्धारपछि घर फर्किँदा बाटो खर्चबापत २० हजार रुपैयाँ दिने गरेको मन्त्रालयले जनाएको छ ।

उक्त कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव, उपसचिव, गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डे, प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, प्रदेश १ का सांसदहरू, संखुवासभाका १० वटै स्थानीय तहमा प्रमुख÷उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको उपस्थिति रहेको थियो । जिल्लास्थित सञ्चारकर्मीहरू र स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको समेत उपस्थिति थियो ।