मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Thursday, 19 December, 2024
नवीन अर्याल काठमाडाैं
२o७८ असोज २१ बिहीबार o७:४१:oo
Read Time : > 6 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

निर्यातभन्दा भरपर्दो स्वदेशी बजार नै हो : पवनकुमार गोल्यान

Read Time : > 6 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार o७:४१:oo

नेपालबाट निर्यात हुने वस्तुको सूचीमा धागो अग्रस्थानमा हुन्छ । वार्षिक १० अर्ब रुपैयाँको धागो भारत, टर्कीलगायत मुलुक पुग्छ । उत्पादित धागोमध्ये करिब ७५ प्रतिशत निर्यात नै हुने गर्छ । कोभिडमा धेरै उद्योग व्यवसाय चौपट हुँदा धागो उद्योग भने पूर्ण क्षमतामा सञ्चालन भइरहे । अहिले रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ गरी चार उद्योगले धागो उत्पादन गर्दै आइरहेका छन् । निर्यातमा अग्रणी बन्दै आइरहेको धागो उद्योगमा कोभिडको प्रभाव, निर्यात अवस्था, स्वदेशी बजार, भविष्यका बजार, लगानी विस्तार, सरकारी नीति, डेडिकेटेड लाइन विवादलगायत विषयमा आधारित भएर धागो उत्पादक संघका अध्यक्ष पवनकुमार गोल्यानसँग नयाँ पत्रिकाका नवीन अर्यालले गरेको कुराकानी :

पवनकुमार गोल्यान
अध्यक्ष, धागो उत्पादक संघ

धागो उद्योगमा कोभिडको प्रभाव कत्तिको पर्‍यो ?
कोभिडको पहिलो लहर फैलिनेबित्तिकै त्रासकै वातावरण बन्यो । त्यो वेला कोभिडको बारेमा थाहै थिएन । सबै उद्योग बन्द भए । स्थानीय तह र जिल्ला प्रशासनले नै उद्योग चलाउन बन्द गराए । चौतर्फी अन्योल थियो । उद्योगका कर्मचारीदेखि हामी आफैँ अन्योलमा थियौँ । तर, महामारी लम्बिँदै जान थालेपछि अभ्यस्त बन्दै गयौँ । ०७६ चैत ११ मा पहिलो लकडाउन भयो । हामीले ०७७ वैशाखदेखि नै धागो उद्योग सञ्चालन गर्न थालिहाल्यौँ । हामीले कर्मचारीलाई आवासीय सुविधा दिएर उद्योग चलायौँ । धागो उद्योग कोभिडमा झन् राम्रोसँग चले । धागो निर्यात पनि उत्साहजनक नै भयो । कोभिडले अरू उद्योग बन्द हुँदा धागो उद्योग पूर्ण क्षमतामा चलिरहेका थिए । 

कोभिडको समयमा विदेशमा कच्चा पदार्थको माग नभएपछि मूल्य घट्दै गयो । तर, धागोको मूल्य खासै घटेन । त्यसले उद्योगलाई फाइदा नै भयो । रिलायन्स स्पिनिङ मिलमै कोभिडको एक वर्षमा १० प्रतिशत धागो धेरै उत्पादन भयो । कर्मचारीले पनि उद्योग चलाउन ठूलो सहयोग गरे । उद्योगभित्रै खाने–बस्ने मात्र होइन, आइसोलेसन र क्वारेन्टिनको पनि व्यवस्था थियो ।

नेपालमा उत्पादित करिब ७५ प्रतिशत धागो भारत, टर्कीलगायत मुलुकमा निर्यात भइरहेकोमा कोभिडको असर भारतमा सबैभन्दा बढी देखियो । यसले धागो निर्यातमा कत्तिको असर पारेको छ ?
कोभिडका कारण भारत र टर्कीमा धागो उद्योग चल्न धेरै समय लाग्यो । भारतमा धेरैपछिसम्म पनि कर्मचारी काममा फर्किन सकेनन् । तर, टेक्सटायल र निटिङ उद्योग खुलिसकेका थिए । ती उद्योगहरूमा भारत र टर्कीका स्पिनिङ मिलले धागो सप्लाई गर्न सकेनन् । त्यहाँ हामीले सप्लाई गर्‍यौँ । नेपाली धागोको झन् बढी माग आयो । हामीलाई धागो सप्लाई गर्न भ्याइनभ्याइ नै भयो । सामान्य अवस्थामा भन्दा उद्योग झन् बढी क्षमतामा चल्न थाले । कोभिडका कारण हामीले भारत र टर्कीमा धागो निर्यातको झन् ठूलो अवसर पायौँ । 

कोभिड सुरु भएर विश्वबजार नै प्रभावित बनेको अवस्थाका कारण भोलिको दिनमा धागो निर्यातमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
धागो टेक्सटायल र निटिङ उद्योगका लागि कच्चा पदार्थ हो । हामीले गुणस्तरीय धागो निर्यात गरिरहेका छौँ । राम्रो गुणस्तरकै कारण भारत र टर्कीले नेपाली धागो लिइरहेका हुन् । कुनै पनि कम्पनीले एउटा राम्रो कच्चा पदार्थ प्रयोग गरिरहेको छ भने ठूलो डिफल्ट नभई तुरुन्तै अर्को कच्चा पदार्थमा सिफ्ट हुँदैन । भ्यालु चेनसम्म टाइअप भइसकेको हुन्छ । 

हामी अरू मुलुकमा पनि निर्यात बढाउन सक्छौँ । बंगलादेशसँग कुरा चलिरहेको छ । सायद, चाँडै नै बंगलादेशले बजार पाउन सक्छ । यसबीचमा हामीले अल्लोको धागो बनाएर जापान, कोरिया र भियतनामसम्म निर्यात गर्‍यौँ । अरू मुलुक पनि हाम्रा सम्भावित बजार हुन सक्छन् । हामी अध्ययन गरिरहेका छौँ । हामीले भारत र टर्कीलगायत अन्य मुलुकमा पनि बजार खोज्नुपर्छ । 
 

हामीले २५ वर्षदेखि भारतमा धागो निर्यात गरिरहेका छौँ । टर्कीमा धागो निर्यात गर्न थालेको पनि १५ वर्ष भइसक्यो । त्यसैले कोभिडकै कारण हाम्रो तुरुन्तै मार्केट बिग्रिन्छ, खस्किन्छ भन्ने लाग्दैन । बरु, स्वदेशी बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनौँ । विदेशबाट चौरी पैठारी, अन्डर इन्भ्वाइस र ट्याक्स छुटमा छुटेको धागो, कपडा र तयारी लुगासँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सकेका छैनन् । यसले भोलिका दिनमा आन्तरिक बजारमा भने समस्या आउन सक्छ ।

दुईवटा मात्र मुलुकको भर पर्दा कतै भारत र टर्कीले नेपाली धागो आयातमा कडाइ गरिदियो भने नेपाली उद्योग बन्द गर्नुपर्ने अवस्था आउँदैन ? 
यो हुन पनि सक्छ । भारत र टर्कीले धागो आयातमा झन्डै एन्टी डम्पिङ ड्युटी लगाउनै लागेका थिए । हामीले जित्यौँ । यदि एन्टी डम्पिङ ड्युटी लगाएको भए भारत र टर्की निर्यात कठिन बन्न सक्थ्यो । टर्कीले अलिकति ड्युटी त बढाएकै छ । टर्कीसँग पनि हामीले जितेकै हो । यसका लागि वाणिज्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको पनि निकै ठूलो सहयोग रह्यो । सायद, नेपालकै इतिहासमा पहिलोचोटि नै होला, सरकारी निकायले निजी क्षेत्रलाई जोगाउन एकदमै राम्रो काम गरेको छ ।

हामी अरू मुलुकमा पनि निर्यात बढाउन सक्छौँ । बंगलादेशसँग कुरा चलिरहेको छ । सायद, चाँडै नै बंगलादेशले बजार पाउन सक्छ । यसबीचमा हामीले अल्लोको धागो बनाएर जापान, कोरिया र भियतनामसम्म निर्यात गर्‍यौँ । अरू मुलुक पनि हाम्रा सम्भावित बजार हुन सक्छन् । हामी अध्ययन गरिरहेका छौँ । हामीले भारत र टर्कीलगायत अन्य मुलुकमा पनि बजार खोज्नुपर्छ । 

हाम्रो सबैभन्दा ठूलो मार्केट भनेको आन्तरिक बजार नै हो । हामीले यहाँको मार्केट क्यास गर्न सकेकै छैनौँ । सरकारले नीतिगत सुधार गरेको खण्डमा धागो, कपडा र तयारी लुगा बिक्री गर्न विदेशी बजारको मात्र भर पर्नुपर्दैन । अहिले नेपालबाट ७५ प्रतिशत धागो निर्यात भइरहेको छ, २५ प्रतिशत मात्र आन्तरिक बजारमा खपत भइरहेको छ । जब कि, हामीले निर्यात गर्नेभन्दा ठूलो भोलुममा धागो आयात भइरहेको छ । जबसम्म मुलुकमा टेक्सटायल, निटिङ र गार्मेन्ट उद्योग एकसाथ फस्टाउने वातावरण बन्दैन, तबसम्म धागो उद्योग मात्र फस्टाउने अवस्था रहँदैन । 

नेपाली उत्पादनले आन्तरिक बजार पाउन कहाँ–कहाँ कठिनाइ भोग्नुपरिरहेको छ ?
नेपालमा एकदमै अन्डर इन्भ्वाइस (कम भन्सार मूल्यांकन) भएर धागो आउँछ । उनी धागो (एक्रेलिक) करिब कच्चा पदार्थकै मूल्यमा आयात भइरहेको छ । नेपालमा कटन धागो आयातमा भ्याट लाग्दैन । तर, त्यही धागोबाट बनेको कपडामा भ्याट लाग्छ । यो ‘लुप होल’ किन छाडेको ? पहिला कटन कपडामा पनि भ्याट लाग्दैनथ्यो, त्यो वेलासम्म ठिक थियो । अर्को कुरा, कटन धागोको नाममा सिन्थेटिक धागो आयात भइरहेको छ । त्यहाँ पनि राजस्व चुहावट भइरहेको छ । हामीले सिन्थेटिक धागो बेच्दा भ्याट बुझाउनुपर्छ । त्यसैले हाम्रो धागोको मूल्य महँगो पर्छ । तर, विदेशबाट कटन धागोको नाममा भ्याट छली गरेर सिन्थेटिक धागो भित्रिँदा स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन परेको हो ।

सरकारी तथ्यांक हेर्नुभयो भने, नेपालबाट बर्सेनिजति धागो निर्यात भइरहेको छ त्योभन्दा बढी धागो आयात भइरहेको छ । त्यो हाम्रा लागि बजार हुन सक्छ । अरू मुलुकमा गएर गुहार्नुभन्दा आफ्नै बजारमा बिक्री हुने वातावरण हुनुपर्छ । त्यसका लागि भन्सारको भ्यालुएसन ठिक गर्नैपर्छ । फ्लोर प्राइस तोक्नैपर्छ । अन्डर इन्भ्वाइस भएर भित्रिने माल रोक्नैपर्छ । कटन धागोको नाममा सिन्थेटिक धागो आउनुभएन । कटन धागो आयातमा पनि भ्याट लगाउनुपर्छ । 

कटन धागो कार्पेट उद्योगलाई चाहिन्छ । नेपाली कार्पेट विदेशमा निर्यात भइरहेको छ भन्ने कुरा पनि आउला । कार्पेट उद्योगका लागि चाहिने धागोमा भ्याट नलाग्ने व्यवस्था गर्न पनि सकिन्छ । हामीले कार्पेट उद्योगका लागि भ्याट छुटमा धागो ल्याउन हुँदैन भनेकै छैनौँ । तर, त्यो नाममा विकृति हुनुभएन ।

रिलायन्स स्पिनिङ मिलले अल्लोको धागो बनाउन सुरु गरेको छ । हामीले अल्लोका धागो जापान, कोरियालगायत मुलुकमा निर्यात पनि गरिसक्यौँ । तर, अल्लोको धागोमा पनि हामीले आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनौँ । कारण, विदेशबाट अल्लोको धागो ल्याउँदा भ्याट लाग्दैन । किनभने त्यसमा कटन र अल्लो मिसिएको हुन्छ । हामीले नेपालमा उत्पादन गर्नेबित्तिकै भ्याट लाग्छ । अब हामीले कसरी प्रतिस्पर्धा गर्ने ? सरकारी नीति आयात प्रोत्साहन गर्ने भयो । यसले एकातिर राजस्व पनि छली भइरहेको छ, अर्कोतिर आयात पनि बढिरहेको छ । यदि सरकारले यसतर्फ ध्यान दिएमा आयात एक वर्षमै आधा घट्न सक्छ । आयात प्रतिस्थापन भएको मार्केट स्वदेशी उद्योगहरूले लिन्छन् । उद्योगमा लगानी पनि थपिन्छ, रोजगारी सिर्जना पनि हुन्छ । र, आयात प्रतिस्थापन पनि ।

बंगलादेशमा धागो निर्यातको प्रक्रिया के भइरहेको छ ? विश्वका उत्कृष्ट ब्रान्डका कपडाहरू उत्पादन गर्ने बंगलादेशमा धागो निर्यात गर्न नेपाली उद्योगले गुणस्तर काम गर्न सक्छन् ?
हामीले २५ वर्षदेखि इन्डियामा धागो निर्यात गरिरहेका छौँ । करिब १५ वर्षदेखि टर्कीमा धागो निर्यात भइरहेको छ । टर्कीबाट युरोपका लागि गार्मेन्ट सप्लाई हुन्छ । त्यहाँ धागोको क्वालिटी छैन भने सस्तो भनेर किन्दैनन् । इन्डियामा पनि धागो उत्पादन प्रशस्तै हुन्छ, तर नेपालमा गुणस्तरीय धागो उत्पादन गरेकै कारण भिलवाडा, लुदियानाजस्ता मार्केटमा जान्छ । त्यहाँ निकै हाई क्वालिटीका कपडा बन्छन् । त्यहाँ चर्चित ब्रान्डका लागि कपडा तयार हुन्छन् । भिलवाडा र लुदियानामा इन्डियनभन्दा नेपाली धागो एक÷दुई रुपैयाँ बढी तिरेर किनिरहेका छन् । नेपाली धागो गुणस्तरीय भएकै कारण एन्टी डम्पिङ लागेन । यसले पनि नेपाली धागोको क्वालिटी प्रस्ट पार्छ । गुणस्तरमा हामी जुनसुकै मुलुकसँग प्रतिस्पर्धा गर्न सक्छौँ । जापान, कोरिया, युके, भियतनामलगायत मुलुकमा नेपाली धागो गइरहेको छ । पछिल्लो समय नेपाली गार्मेन्टको पनि क्वालिटी सुधार भइसकेको छ । भिलवाडा भनेको ब्रान्डकै लागि कपडा बनाउने हो । त्यहाँ चर्चित ब्रान्डको कपडा बन्ने गर्छ ।
नेपाली धागो बंगलादेश निर्यातका लागि पहल जारी छ । बंगलादेशले अलिकति डिले गरिरहेको छ । मलाई आशा एवं विश्वास छ, चाँडै नै हामी बंगलादेशमा धागो निर्यात गर्नेछौँ । यसबीचमा कोभिड पनि आयो । वाणिज्य र परराष्ट्र मन्त्रालयले पनि धागो निर्यातका लागि बंगलादेशसँग पहलकदमी गरिरहेको छ । बंगलादेश पनि नेपाली धागो आयात गर्न सकारात्मक नै छ ।

धागो उद्योगमा कति लगानी, जडित क्षमता, रोजगारीर अर्थतन्त्रमा योगदान कस्तो छ ? 
नेपालमा चारवट धागो उद्योग सञ्चालनमा छन् । चारवटा उद्योगमा करिब १५ अर्ब लगानी छ । यी उद्योगको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन रहेको छ । तर, गत आर्थिक वर्ष ०७७/७८ को तथ्यांक हेर्दा उत्पादन ४६ हजार मेट्रिकटन मात्र भएको छ । गत वर्ष १३ अर्ब रुपैयाँबराबरको धागो बिक्री भएको छ जसमध्ये १० अर्बको निर्यात भएको छ भने तीन अर्बको स्वदेशी बजारमा खपत भएको छ । धागो उद्योगमा प्रत्यक्ष १० हजारले रोजगारी पाइरहेका छन् भने सहायक उद्योगमा समेत गरेर ५० हजार रोजगारी सिर्जना भएको छ । बंगलादेशमा पनि निर्यात खुलेमा निर्यात कम्तीमा पाँच अर्ब रुपैयाँ बढ्ने निश्चित छ ।

धागो उद्योगले कम्तीमा ३० देखि ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एडिसन) गरिरहेका छन् । यी उद्योगले मूल्य अभिवृद्धि कर (भ्याट) ५० करोड, कच्चा पदार्थ र फर्नेस आयल आयातमा भन्सार १० करोड, विद्युत् महसुल एक अर्ब, प्रत्यक्ष रोजगारीमा योगदान तीन अर्ब, यातायात भाडा १० करोड, अप्रत्यक्ष रोजगारी तथा सहायक उद्योगको विकास तथा यसले सिर्जना गरेको आर्थिक योगदान १२ अर्ब रुपैयाँ रहेको छ । धागो उद्योगले केही हदसम्म व्यापार घाटा कम गर्न सहयोग गरेको छ । घरघरमा स्विटर फ्याक्ट्री पनि खुलेका छन् 

कोभिड महामारीकै बीचमा तपाईंहरूले रिलायन्स स्पिनिङ मिलको क्षमता विस्तार गर्नुभयो । कहाँको बजारलाई प्रमुख रूपमा हेर्नुभएको छ ?
हामीले नेपाली बजारलाई हेरेर उत्पादन क्षमता बढाएका हौँ । आधा उत्पादन स्वदेशमै बिक्री गर्ने र आधा विदेश निर्यात गर्ने हो । निर्यातका लागि कटन मिश्रित धागो उत्पादन गर्दै छौँ । त्यसको पनि ठूलो बजार नेपाल नै हो । नेपालमा पाँच अर्बको त कटन मिश्रित धागो आयात हुन्छ । आयातीत धागोमा पनि भ्याट लाग्ने र अन्डर इन्भ्वाइस पनि रोकियो भने हाम्रो धागोले बजार पाइहाल्छ । त्यसो भयो भने तीन अर्बको धागो स्वदेशी बजारमै बिक्री गर्न सक्छौँ । इन्डिया, टर्की, बंगलादेशलगायत विश्वभरि नै नेपाली धागोको बजार छँदै छ । 

हामीले अल्लो मिश्रित धागो कोरिया र जापान निर्यात गर्न थालेका छौँ । हामीले धागो निर्यातमा भन्दा पनि गार्मेन्ट प्रडक्ट बनाएर निर्यात गर्नेमा जोड दिनुपर्छ । सरकारले सुधार गरेमा तीन वर्षमा चौबर धागो उत्पादन हुन्छ । गार्मेन्टबाट जसरी बंगलादेशले आर्थिक चमत्कार ग¥यो, त्यसैगरी नेपालको पनि आर्थिक अवस्था परिवर्तन हुन सक्छ ।