मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
युजिन रबिन्सन
२०७८ असोज २१ बिहीबार ०७:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

घृणा फैलाउन फेसबुक कति जिम्मेवार ?

देश/परदेश

Read Time : > 2 मिनेट
युजिन रबिन्सन
२०७८ असोज २१ बिहीबार ०७:०८:००

खर्बौं डलर आम्दानी र विश्वव्यापी रूपमा तीन अर्ब प्रयोगकर्ता भएको फेसबुक लोकतन्त्रलाई विपत्तिमा नपारी र किशोर–किशोरीलाई मानसिक रोगी नबनाई पनि सञ्चालन भइरहन नसक्ने हो र ?

फेसबुककी पूर्व–कर्मचारी एवं मुखबिर (ह्विसलब्लोअर) फ्रान्सिस हौगेनले वाल स्ट्रिट जर्नल र सिबिएस ‘६० मिनेट्स’मा फेसबुकका सबै कर्तुतको पोल खोलिदिएकी छिन् । लगत्तै फेसबुकले ‘मिथ्या सूचना र हानिकारक विषयवस्तुविरुद्ध लड्ने’ वाचा गरेको छ । तर, मिथ्या सूचना र हानिकारक विषयवस्तुजस्ता कुडा–कर्कटबाट फेसबुकले धन आर्जन गरुन्जेल यस्तो वाचा एक भद्दा मजाकबाहेक केही होइन । म फेसबुकको कडा निन्दक पनि होइन, यद्यपि म फेसबुकको दैनिक प्रयोग गर्दिनँ । संस्थापक एवं सिइओ मार्क जुकरबर्गबाहेक फेसबुकका उच्चपदस्थ अधिकारीसँग मैले समय बिताउने मौका पाएको छु । मैले उनीहरूलाई सामाजिक चेतनाका सन्दर्भमा स्पष्ट, आकर्षक एवं बुद्धिमान् पाएको छु, तथापि उनीहरूले निर्माण गरेको फेसबुक ठीक उल्टो प्रकृतिको छ । हौगेनले पोल खोलेर उनीहरूको मैत्रीपूर्ण देखिने मुकुन्डो र कुरूप यथार्थबीचको गहिरो भिन्नता हाम्रासामु स्पष्ट पारिदिएकी छिन् ।          

फेसबुकबाट चुनावमा हस्तक्षेप रोक्न बनाइएको एउटा टिममा कार्यरत थिइन् हौगेन । आबद्ध भएको दुई वर्षमा निराश एवं भ्रममुक्त भएर उनले फेसबुक छोडिन् । वाल स्ट्रिट जर्नलमा प्रकाशित लेखहरू पढेपछि र ‘६० मिनेट्स’ अन्तरवार्ता हेरेपछि ‘मिथ्या सूचना र हानिकारक विषयवस्तु’ फेसबुकको समस्या नभई गुण हो भन्ने निष्कर्षलाई नकार्न सकिन्न । हौगेनका अनुसार फेसबुकको स्वामित्व रहेको इन्स्टाग्राम एक तप्काका प्रयोगकर्ता विशेषतः किशोरीहरूको मानसिक स्वास्थ्यका लागि अत्यधिक हानिकारक छ भन्ने तथ्यबारे फेसबुकका अधिकारी जानकार थिए । यो सम्भवतः हौगेनको सबैभन्दा गम्भीर खुलासा थियो । जोखिममा रहेका किशोर–किशोरी घन्टौँसम्म इन्स्टाग्राममा तस्बिर नियालेर अवास्तविक ‘सुन्दरता’को मापदण्ड पूरा गर्न नसकेकोमा आफूलाई दोष दिन्छन् । यो हीनताबोधले मानसिक समस्या उब्जाएका छन् । 

‘आममानिसका हित र फेसबुकका हितबीच द्वन्द्व देखियो,’ हौगेन सिबिएस ‘६० मिनेट्स’ अन्तरवार्तामा भन्छिन्, ‘र फेसबुकले हरेक समयमा बढीभन्दा बढी धन आर्जन गर्न आफ्नै स्वार्थलाई मात्र ध्यानमा राख्ने काम गर्‍यो ।’ हौगेनले सन् २०२० को चुनावताका फेसबुकले रोकेको घृणा फैलाउने उत्तेजक राजनीतिक मिथ्या सूचना चुनावलगत्तै खुकुलो बनाएको पनि आरोप लगाएकी छिन् । नतिजा फेसबुकमा चुनावमा धाँधली भएको हो भन्ने डोनाल्ड ट्रम्पले फैलाएको मिथ्या सूचनाको अत्यधिक सञ्चारले गत ६ जनवरीमा अमेरिकी कांग्रेस क्यापिटल हिलमा हिंसात्मक हमला भयो । फेसबुकका विश्व मामिला हेर्ने निक क्लेगले ६ जनवरीमा भएको हिंसात्मक हमलाको जिम्मेवार फेसबुक नभई हिंसा गर्ने र गर्न प्रोत्साहन गर्ने राजनीतिक नेतृत्व हुन् भन्ने स्पष्टोक्ति दिएका छन् ।

क्लेगले मुलुकमा भएको ध्रुवीकरणको ‘मुख्य कारक’ फेसबुक नभएको जनाएका छन् । के यो स्पष्टीकरणले कम्पनी निर्दोष प्रमाणित हुन्छ ? के फेसबुकका अधिकारीलाई भयावह परिणाम निम्त्याउने मिथ्या सूचना फैलिनुमा उनीहरूको निर्णयले सजिलो मात्रै गरिदिएको थियो भनेर पन्छिन मिल्छ ? उपद्रव मच्चाउने सबैलाई निश्चय नै कारबाही हुनुपर्छ, यद्यपि फेसबुक यसबाट पन्छिन मिल्दैन । फेसबुक आफ्ना अल्गोरिदमले विषाक्त मिथ्या सूचनालाई व्यापक रूपमा फैलाउन सहयोग गर्दैन भनेर दाबी गर्न सक्दैन । म पूर्ण रूपमा अभिव्यक्ति स्वतन्त्रताको पैरवी गर्छु अर्थात् हरेक व्यक्तिले आफूलाई लागेका कुरा अभिव्यक्त गर्न पाउनुपर्छ । तथापि अभिव्यक्ति स्वतन्त्रताको अर्थ विषाक्त मिथ्या खबर र सूचना फैलाउनु कदापि होइन ।          

फेसबुकले मिथ्या सूचना वा खबर रोक्न नसक्ने होइन, अर्थात् यदि मार्क जुकरबर्ग चुनावताका मिथ्या सूचना नियन्त्रण गर्न सक्छन् भने उनले चुनावपछि पनि मिथ्या सूचना नियन्त्रण गर्न सक्थे । चुनावपछिको मिथ्या सूचना नियन्त्रणले सम्भवतः थुप्रै प्रयोगकर्तालाई फेसबुकमा झुन्डिरहन दिँदैनथ्यो होला, नतिजा विज्ञापनमा कटौती । प्रश्न उठ्छ, फेसबुकका लागि कति नाफा पर्याप्त हो ? खर्बौं डलर आम्दानी र विश्वव्यापी रूपमा तीन अर्ब प्रयोगकर्ता भएको फेसबुक लोकतन्त्रलाई विपत्तिमा नपारी र किशोर–किशोरीलाई मानसिक रोगी नबनाई पनि सञ्चालन भइरहन नसक्ने हो र ? यदि फेसबुकले यस मुद्दालाई गम्भीर रूपमा लिँदैन भने संघीय एवं राज्य सरकारहरूको हस्तक्षेप अपरिहार्य छ । 

सामाजिक सञ्जाललाई मञ्च नभनी प्रकाशक रूपमा वर्गीकरण गर्नु एक स्वाभाविक एवं सामान्य समाधान हुन सक्छ । प्रकाशक बनेपछि फेसबुकलाई प्रकाशकलाई झैँ मिथ्या सूचना, हानिकारक विषयवस्तु एवं चरित्रहत्याका जिम्मेवार बनाउन सकिन्छ । तर, मिडियामा आउने विषयवस्तुलाई सम्पादकले नियमन गर्छ । फेसबुकले यस्ता कति सम्पादक नियुक्त गर्न सक्छ ? दसौँ लाख ? अल्गोरिदमले कसरी काम गर्छ र त्यसलाई सञ्चालन गर्ने मामिलामा पारदर्शिता अपनाएका खण्डमा उल्लिखित उपायभन्दा यो सहज ठहरिनेछ । अल्गोरिदम नियमनका लागि पनि ठूलो संख्यामा जनशक्ति आवश्यक छ । यो उपाय पनि खर्चिलो हुन सक्छ, तर फेसबुकले ठूलो क्षति निम्त्याइसकेको छ, तसर्थ यथास्थिति अब स्वीकार्य छैन ।  

(रबिन्सन वरिष्ठ पत्रकार एवं स्तम्भकार हुन्) 

द वासिंगटन पोस्टबाट